परिष्कृत बन्दै नेपाली विज्ञापन
काठमाडौं, १२ साउन -नेपाली विज्ञापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने क्रम बढेअनुरूप यो क्षेत्र परिष्कृत बन्दै गएको छ । पछिल्लो पाँच वर्षयता नेपाली जनशक्ति विदेशमा गई तालिम लिने, विदेशीलाई नेपालमै ल्याएर तालिम गराउने तथा विदेशी कम्पनीमै बसेर कामको अनुभव लिएर नेपाल फर्कने क्रम बढ्दो छ ।
नेपाली विज्ञापन बजार बर्सेनि १५ देखि २० प्रतिशतले वृद्धि हुँदै आएको छ । आर्थिक वर्ष ०६६/ ६७ मा करिब साढे ४ अर्ब रुपैयाँको विज्ञापन बजार ०६७/६८ मा आउँदा ४ अर्ब २० करोड रुपैयाँ पुगेको थियो । ०६८/६९ मा ४ अर्ब ५० करोड रुपैयाँ नाघ्ने अनुमान छ । विज्ञापन क्षेत्रको विकाससँगै युवा जनशक्तिको आकर्षण पनि यस क्षेत्रमा बढ्दै आएको नेपाल विज्ञापन संघ (आन) ले जनाएको छ । कलेज स्तरमा विज्ञापन अध्ययन अध्यापनसँगै युवा पुस्तामा नयाँ सिर्जना निमाणमा आकर्षण बढेको छ ।
“एक दशकयता विज्ञापन निर्माण गर्नुभन्दा पहिले विभिन्न दृष्टिकोणबाट अध्ययन, भाषा छनोट, सिर्जनशील क्षमतालगायतका विषयमा छनोट हुने गरेको छ,” आन अध्यक्ष राजकुमार भट्टराईले भने, “नयाँनयाँ प्रविधिको प्रयोग बढ्दै आएको छ ।” पाँच वषर्काे अवधिमा नेपाली विज्ञापन क्षेत्रमा थप विकशित बन्दै आएको भट्टराईले करोबारसँग भने ।
नेपाली विज्ञापनको दायरा बढ्दै जाँदा कम्पनीहरूले आफ्नो पहुँच गाउँ–गाउँसम्म पु¥याउन स्थानीय भाषामा समेत विज्ञापन गर्न सुरु गरेका छन् । बहुराष्ट्रिय कम्पनी तथा स्वदेशी उद्योगहरूले प्रचार–प्रसारका गर्न स्थानीय भाषामा विज्ञापन बनाउने क्रम बढेको छ । वस्तु तथा सेवा उत्पादक कम्पनीहरूले आफूलाई अब्बल देखाउन स्थानीय भाषाको विज्ञापनको सिर्जनामा समेत ठूलो रकम खर्च गर्दै आएका छन् । नेपाली भाषामात्र नभएर विभिन्न मातृभाषाको प्रयोग गरी विज्ञापनलाई थप ‘वेट’ प्रदान गर्ने तयारीमा कम्पनीहरू छन् । विज्ञापनमा देखिने मोडल, कलाकार पनि स्थानीय राख्दा अझ प्रभावकारी हुने सम्बद्ध व्यवसायीहरू बताउँछन् । कलाकारदेखि विज्ञापन निर्माणसम्मको चरण समयसँगै परिष्कृत बन्दै आएको आनको अनुभव छ ।
हाल वस्तु बजारम झन्डै ९० प्रतिशत ब्रान्ड प्रवद्र्धन र १० प्रतिशत कर्पाेरेट तथा अन्य विज्ञापन बनेका छन् । त्यसैगरी सेवा बजारमा भने करिब ५० प्रतिशत विज्ञापन ब्रान्ड प्रवद्र्धन र बाँकी ५० प्रतिशत कर्पाेरेट विज्ञापन बन्ने एजेन्सीहरूले बताएका छन् । नेपालमा २ सयभन्दा धेरै विज्ञापन एजेन्सी छन् । तीमध्ये १ सय ६५ ले आनको सदस्यसमेत लिएको आनले जनाएको छ । आबद्ध सवै विज्ञापन एजेन्सीले अहिले ब्रान्ड प्रवद्र्धन केन्द्रित छन् । ब्रान्डलाई केन्द्रित गरी बनाइएका विज्ञापनले धेरै बजार लिएपछि व्यवसायीको ध्यान यसप्रति बढेको हो । आफ्नो ब्रान्डलाई प्रवद्र्धन गर्न कम्पनीले स्थानीय भाषामा विज्ञापन बनाएका हुन् ।
प्रसारण माध्यममा सामान्यतया १० सेकेन्डदेखि १ मिनेटसम्मका विज्ञापन बन्छन् । अधिकांश विज्ञापन २० देखि ३० सकेन्ड समयावधिका हुन्छन् । स्थानीय भाषामा बज्ने विज्ञापन पनि अधिकांश ३० सेकेन्डकै सेरोफेरोमा बज्छन् । होडिङ, वालपेन्टिङ, पर्चा पम्पेट, व्यानर, माइकिङ, सेमिनार तथा व्यापारमेला पनि स्थानीय भाषाको प्रयोग बढ्न थालेको छ ।



