पशुपालनमा साढे २ सय युवा

वर्ग: रोजगार
मिति: Monday,30th July 2012 23:20 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameपर्वत, १५ साउन -रोजगारीको अभावमा दैनिक हजारौं युवा बिदेसिइरहेका बेला पर्वतका युवाको भने पशुपालनतर्फको आकर्षण बढ्दै गएको छ । जिल्ला पशु सेवा कार्यालयले सञ्चालन गरेको ग्रामीण युवा स्वरोजगार कार्यक्रममा जिल्लाका ग्रामीण क्षेत्रका युवायुवतीको आकर्षण बढेको हो ।
आर्थिक वर्ष ०६८/६९ मा मात्रै ६२ युवायुवतीले व्यावसायिक पशुपालन थालेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गाई र भैंसीपालनमा २३, बाख्रापालनमा ३७ र बंगुरपालनतर्फ दुई युवा व्यावसायिक रूपमा लागेका छन् ।
जिल्ला पशु सेवा कार्यालयले गाई, भैंसीपालन गर्नेहरूलाई १८ हजार, बाख्रापालन र बंगुरपालन व्यवसाय गर्नेलाई १२ हजार रुपैयाँका दरले अनुदान रकमसँगै तालिमसमेत उपलब्ध गराएपछि व्यावसायिक पशुपालन गर्नेको संख्या ह्वात्तै बढेको हो ।
युवा स्वरोजगारका लागि पशु कार्यालयमा गत आवमा १० लाख १८ हजार रुपैयाँ प्राप्त भएको थियो । आव ०६४÷६५ सालदेखि युवा स्वरोजगार कार्यक्रम लागू भएपछि पर्वतमा हालसम्म २ सय २९ जना युवायुवती व्यावसायिक पशुपालनमा लागेका छन् । यसबाहेक ६७ जनाले व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । जसमध्ये २० देखि १ सय ५० वटा वाख्रासम्म पाल्ने कृषकको सख्ंया ५१ छ ।
त्यस्तै, जिल्लामा ६७ वटा कुखुरा फार्म छन्, जसमा ५ सयभन्दा बढी संख्यामा कुखुरापालन गरिँदै आएको छ । त्यसभन्दा कम संख्यामा कुखुरापालन गर्ने व्यवसायीको सख्ंया पनि उल्लेख्य रहेको कार्यालयले जनाएको छ ।
स्वरोजगार कार्यक्रम सुरु भएपछि विदेशबाट फर्किएका २२ युवायुवतीले यो व्यवसाय सुरु गरेका हुन् । उनीहरुमध्ये १९ जनाले बाख्रापालन र तीनजनाले व्यावसायिक भेडापालन गरेको पशु सेवा कार्यालयले जानकारी दिएको छ । पशुपालनलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत आवमा जिल्लाका पाँच गाविसलाई पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम सुरु गरिएको थियो ।
टकलाक, वहाकी, राम्जादेउराली, देउराली र वाँसखर्क गाविसमा ५ लाख ५५ हजारबराबरको कार्यक्रम सञ्चालन गरेको पशु विकास अधिकृत विष्णुबहादुर पाण्डेले जानकारी दिए ।

दूध तथा मासुमा अझै परनिर्भर
वार्षिक करोडौं रुपैयाँ पशुपालनका लागि खर्चिने भए पनि दूध तथा मासुका लागि आत्मनिर्भर हुन नसकिएको कार्यालयले जनाएको छ । “कुखुरापालनबाट मात्रै जिल्ला आत्मनिर्भर बनेको छ,” पशु विकास अधिकृत पाण्डेले भने । उनले जिल्लामा क्वारेन्टाइन चेकपोस्टको सुविधा नहुँदा आयात र निर्यातको अवस्था पत्ता लगाउन नसकिएको बताए ।
अहिले जिल्लामा १२ पशुसेवा उपकेन्द्र, ७७ जना ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता, ५९ जना एग्रोभेट व्यासायी छन् । त्यस्तै आठ वटा निजी  डेरी, २२ वटा दुग्ध उत्पादन सहकारी संस्था, ३६ वटा मासु पसल नियमित सञ्चालनमा छन् ।
जिल्लामा प्रतिदिन अफ सिजनमा ३ हजार ५ सय सिजनमा ६ हजार लिटरसम्म दूध बिक्री हुँदै आएको छ । जिल्लामा कुल पशुको संख्या १ लाख ५७ हजार ८ सय ३३ र कुखरा र हाँसको संख्या २ लाख ७० हजार ६ सय १७ रहेको कार्यालयमा तथ्यांकमा छ ।
सीमित स्रोतका कारण पर्याप्त पशु प्रवद्र्धन गर्न नसकिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
 

  • सम्बन्धित समाचार
Comments