वर्षभरिको कोटा सात महिनामै पूरा
काठमाडौं, २६ असार- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाले २०१२ का लागि छुट्ट्याएको कोटा सात महिनामै सकिन लागेको छ । यससँगै अबका बाँकी पाँच महिना त्यहाँ नेपाली युवा जाने क्रम सुस्त हुनेछ । कोटा सकिएपछि रोजगारदाताले आफूलाई कामदार आवश्यक परे पनि माग गर्न पाउँदैनन् ।
कोरियाले ईपीएसअन्तर्गत १५ मुलुकबाट ५७ हजार विदेशी कामदार कोटा छुट्ट्याएको छ । २०१२ का सात महिनामै कोटाजति विदेशी कामदार संख्या पुग्न लागिसकेको छ । कोरियाले प्रत्येक जनवरीमा यस्तो कोटा निर्धारण गर्छ । २०१३ सुरु नभएर कोटा नछुट्ट्याएसम्म नेपाली कोरिया जान सुस्त हुनेछ ।
ईपीएस कोरिया शाखा प्रमुख महेश आचार्यले २०१३ सुरु नभएसम्म कोरिया जाने नेपाली युवा क्रम सुस्त हुँदै जाने बताए । “हाम्रोमात्रै होइन, १५ देशबाटै कोरिया जाने क्रम सुस्त हुनेछ,” उनले भने, “ईपीएसको प्रक्रिया सुरु भएपछि माग ह्वात्तै बढ्छ ।” अबका पाँच महिनामा बढीमा १ हजार कामदारको श्रम सम्झौता आउनसक्ने जानकारी उनले दिए ।
२०१२ का लागि कोरिया भाषा परीक्षा उत्तीर्ण १५ हजार ६ सय ७८ नेपाली युवालाई ईपीएसले योग्य सूची (रोस्टर)मा राखेको थियो । २०१२ मा ७ हजारलाई रोस्टरमा राख्ने गरी परीक्षा भए पनि नेपाली कामदार इमानदार र मेहनेती देखिएको भन्दै करिब १६ हजारलाई उत्तीर्ण गराएको थियो । यो वर्षमात्रै कोरियाका रोजगारदाताले ५ हजार ५९ नेपाली युवालाई श्रम सम्झौता दिइसकेका छन् । तीमध्ये ४ हजार ८ सय १७ को भिसा आएको र ४ हजार ७ जना कोरिया पुगिसकेको आचार्यले बताए । १० हजार ६ सयभन्दा बढी रोस्टरमै छन् ।
रोस्टरमा रहेका मध्ये सबै युवा कोरिया जान पाउने ग्यारेन्टी भने नरहेको आचार्यले स्पष्ट पारे । दुई वर्षसम्म कोरिया जान नसके स्वतः रोस्टरबाट हट्ने व्यवस्था छ । “रोस्टरमा रहेका मध्ये कतिले पाउँछन्, अहिले नै थाहा हुँदैन,” उनले भने, “कोरियाले २०१३ मा विदेशी कामदारलाई छुट्ट्याएको कोटामा अनुमान लगाउन सकिन्छ, छुट्ट्याएको कोटामा पनि रोजगारदाताले नेपाली लिन कति इच्छा देखाएका छन्, त्यसमा निर्भर हुन्छ ।”
आचार्यका अनुसार २०१३ सम्म कोरिया जान नसके उनीहरू रोस्टरबाट स्वतः हट्नेछन् । यो वर्षजतिकै माग भए ३–४ हजारभन्दा बढीको नाम रोस्टरबाट हट्नेछ ।
सन् २००७ मा दक्षिण कोरियाले नेपाल सरकारसँग सम्झौता गरी ईपीएसअन्तर्गत २००८ देखि नेपाली कामदार लिन थालेको हो । हालसम्म १३ हजारभन्दा बढी नेपाली कोरिया पुगिसकेका छन् ।



