विद्युत् आपूर्ति अस्तव्यस्त
नेपालगन्ज, ३ साउन- निश्चित तालिकाभन्दा फरक र अनियमित तवरले दैनिक २०–३० पटकसम्म विद्युत् आउने–जाने गर्दा नेपालगन्जका सर्वसाधारण हैरान भएका छन् । विद्युत् अनियमित हुँदा नेपालगन्जको व्यापार–व्यवसायदेखि सर्वसाधारण सबैले सास्ती खेप्नुपरेको छ ।
अत्यधिक गर्मी हुने समयमा पटक–पटक विद्युत जाँदा नगरवासीको जनजीवन नै अस्तव्यस्त बन्न गएको नेपालगन्ज–९ का रवि कनौजियाले बताए । उनले विद्युत्को अनियमित आपूर्तिका कारण बीबीएस प्रथम वर्षको परीक्षाको तयारी प्रभावित भएको बताए । कनौजियाले भने, “गर्मीमा फ्यान नचलाई बस्नै सकिँदैन, तर विद्युत् नहुँदा राम्रोसँग पढन र सुत्नसमेत पाइँदैन ।”
सुर्खेतरोडमा रहेको श्री साई इलेक्ट्रोनिक्सकी सञ्चालिका कल्पना शर्माले मनपरी तरिकाले दिनभरि विद्युत् काट्दा व्यापार–व्यवसाय प्रभावित भएको बताइन् । उनले टिभी र फ्रिज किन्न आएका ग्राहकहरू विद्युत नहुँदा घण्टौंसम्म बसेर त्यत्तिकै फर्किने गरेको बताइन् । विद्युत नहुँदा सामानहरू चेक गर्न नपाएपछि व्यापार नै नभएको उनले जनाइन् ।
पुनरावेदन अदालतले विद्युत् प्राधिकरण नेपालगन्जलाई लोडसेडिङ नगर्न दिएको अन्तरिम आदेशको उल्लघंन गर्दै नेपालगन्जमा कतिबेला विद्युत् काटिने हो, त्यसको कुनै ठेगान छैन ।
प्राधिकरणले सार्वजनिक सूचनामार्फत लोडसेडिङका बारे जानकारीसमेत दिने गरेको छैन भने प्राधिकरणका कर्मचारीहरू फोनसमेत रिसिभ गर्दैनन् । सर्वसाधारणको आक्रोश सुन्नुपर्ने डरले अहिले प्राधिकरणका धेरै फोन कमै उठ्ने गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज शाखाका प्रमुख पुष्पराज पन्तले लो भोल्टेजका कारण पटक–पटक विद्युत् जाने समस्या भइरहेको बताए ।



