शिक्षकको दोहोरो सुविधा कटौती
काठमाडौं, १४ साउन -सामुदायिक विद्यालयका शिक्षकले लिँदै आएको दोहोरो सुविधा कटौती हुने भएको छ । सामुदायिक विद्यालयका शिक्षकले उच्च माध्यमिक तह अध्यापन गराएर लिँदै आएको दोहारो सुविधाबारे शिक्षा विभागले मन्त्रालयमा प्रस्ताव पठाएपछि कटौती हुने निश्चित भएको हो ।
सरकारले सामुदायिक उमाविमा उपलब्ध गराएको थप दरबन्दीमा माध्यमिक तहमा कार्यरत शिक्षकले अध्यापन गराउने व्यवस्था छ । उच्च माविको दरबन्दीमा यसरी अध्यापन गर्न पाउने शिक्षकले दुबै तहको सेवा र सुविधा लिँदै आएको जनाउँदै विभागले कटौती गर्न मन्त्रालयमा प्रस्ताव पठाएको हो ।
मन्त्रालयले यसै साता प्रस्ताव पारित गर्ने तयारी गरेको जनाइएको छ । माध्यमिक तहका शिक्षकले मासिक तलब १८ हजार ७ सय ९० र उच्च माध्यमिक तहकाको पनि सोही बराबरको मासिक तलब हुनेछ । एउटै शिक्षकले दोहोरो सुविधा लिँदा ३७ हजारभन्दा बढी तलब हुने गरेको छ ।
विभिन्न विषयमा स्नातकोत्तर गरेका दक्ष जनशक्तिले रोजगारीको अवसर नपाएको अवस्थामा उनीहरूलाई पनि अवसर दिन यस्तो निर्णय गर्नुपरेको विभागले जनाएको छ । दोहोरो सरकारी सुविधा लिएका शिक्षकको सुविधा कटौती गर्न लागिएको शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले बताए । पाण्डेले भने, “कतै दक्ष जनशक्ति रोजगारविहीन हुनुपर्ने कतै एउटै व्यक्तिले राज्यको दोहोरो सुविधा लिने गरेकाले कटौती गर्न लागिएको हो ।”
उमावि तह कक्षा ११ र १२ का लागि लागि सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दुई शिक्षकको दरबन्दी दिँदै आएको छ । हिमाली तथा कर्णाली जिल्लामा भने तीन दरबन्दी उपलब्ध छ । अधिकांश स्थानमा व्यवस्थापन समितिसँगको मिलोमतोमा सामुदायिक विद्यालयमा अध्यनरत शिक्षकले नै त्यस्तो सुविधा लिँदै आएका छन् ।
तर, दोहोरो सुविधा लिने शिक्षकको तथ्यांक शिक्षा विभागसँग छैन । विभागले शिक्षकको तथ्यांक लिनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ । हिमाली तथा कर्णाली अञ्चलका जिल्लामा भने विज्ञान, गणित र अंग्रेजी विषयका लागि माध्यमिक तहका शिक्षकले नै दोहोरो सुविधा लिन पाउने व्यवस्था छ । जिल्लामा तीन विषयका शिक्षकको संख्या अत्यन्तै न्यून हुने भएकाले दोहोरो सुविधा लिन सक्ने व्यवस्था कायम रहने विभागले जनाएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार देशभर सामुदायिक उच्च माविको संख्या २ हजारभन्दा बढी छ ।



