सुन एक महिनायताकै महँगो
काठमाडौं, १४ साउन -नेपाली बजारमा सुनको भाउ एक महिनायताकै महँगो भएको छ । अन्तर्राष्ट्रिय बजार बढेपछि साताको पहिलो दिन आइतबार सुनको भाउ ५७ हजार नाघेको छ ।
शुक्रबार ५७ हजार रुपैयाँ कायम सुनको भाउ आइतबार १ सय रुपैयाँ महँगो भई ५७ हजार १ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
गत असार १४ गते ५७ हजार २ सय पुगेको सुनको भाउ त्यसयता घटेर साउनको पहिलो साता ५५ हजार ६ सयसम्म झरेको थियो । गत साताबाट भने सुन बजार पुनः बढ्न सुरु गरेको हो । गत आइतबार ५५ हजार ८ रुपैयाँ रहेको सुन गत साताभर क्रमशः बढ्दै शुक्रबार ५७ हजार कायम भई बजार बन्द भएको थियो ।
“गत सातादेखि अन्तर्राष्ट्रिय बजार लगातार बढिरहेको छ,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “त्यसले नेपाली बजारमा पनि महँगो भएको हो ।” भारतीय रुपैयाँ कमजोर हुँदा डलर मजबुत भएकाले पनि सुनको भाउ महँगो भएको उनले बताए । डलरमा सुधार नआएसम्म सुनको भाउ घट्ने सम्भावना नरहेको उनको भनाइ छ ।
यसैगरी आइतबार चाँदी पनि ५ रुपैयाँ महँगो भई प्रतितोला १ हजार २५ रुपैयाँमा किनबेच भएको छ । गत साता आइतबारदेखि बुधबारसम्म १ हजार रुपैयाँ रहेको चाँदी बिहीबार र शुक्रबार भने १ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।



