६ वर्षमा १७ लाख युवा बिदेसिए
काठमाडौं, २ साउन -दोस्रो जनआन्दोलन (०६२/६३) पछि रोजगारीका लागि १७ लाख ६ हजार युवा बिदेसिएका छन् । राजनीतिक अस्थिरता, लोडसेडिङ, बढ्दो ब्याजदर, श्रम समस्या, बेरोजगारी, उद्योग बन्द, थप लगानी अभावजस्ता कारणले बिदेसिनेहरू बढेका हुन् ।
वैधानिक रूपमा वैदेशिक रोजगार खुला भएको २०४२ देखि आव ०६२/६३ सम्मको २० वर्ष अवधिमा ७ लाख ५८ हजार ६ सय ७५ युवा बिदेशिएका थिए । यसको तुलनामा पछिल्लो ६ वर्षमै साढे दुई गुणा वृद्धि भएको हो ।
आव ०६८÷६९ सम्म कुल २४ लाख ६४ हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । ०६८÷६९ मात्रै ३ लाख ८४ हजार १ सय ९८ युवा विदेश गएका थिए । म्यानपावर एजेन्सीमार्फत भने २ लाख ६४ हजार ३ सय ३१ मात्र बिदेसिएका छन् ।
श्रमविज्ञ तथा वैदेशिक रोजगार सुधार कार्यदलका संयोजक डा. गणेश गुरुङले लोडसेडिङ, श्रम समस्या र बैंकको बढ्दो ब्याजदरले उद्योग धराशायी भएको तथा थप लगानी नभएकाले रोजगारीका लागि बिदेसिनु बाध्यता रहेको बताए । “अहिले बुढाबुढी र बच्चाहरूको तुलनामा युवासंख्या बढी छ,” उनले भने, “यो देश विकास गर्ने बेला हो तर सरकारसँग कुनै पनि कार्यक्रम नहुँदा युवाहरू बिदेसिन बाध्य छन् ।” सरकारले ठूला आयोजना सञ्चालन गर्न नसके स–साना आयोजना सुरु गरे बिदेसिने क्रम रोकिने उनी बताउँछन् ।
१० वर्षअघि (०५८÷५९ मा) १ लाख ५ हजार युवा बिदेसिएका थिए । अर्को वर्ष १ लाख ६ हजार ६ सय ६०, ०५९÷६० मा १ लाख ३९ हजार ७ सय १८ र ०६२÷६३ मा १ लाख ६५ २ सय ५ बाहिरिएका थिए । ०६३÷६४ मा बढेर २ लाख ४ हजार ५ सय ३३, ०६४÷६५ मा २ लाख ४९ हजार ५१, ०६५÷६६ मा २ लाख १९ हजार ६ सय, ०६६÷६७ मा २ लाख ९४ हजार ९४ र ०६७÷६८ मा ३ लाख ५४ हजार कामदार बिदेसिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङका अनुसार कतारमा विश्वकप फुटबल २०२२ का लागि पूर्वाधार निर्माण तीब्र भएकाले मजदुर माग उच्च छ । मलेसियाले पनि नयाँ माग लिन थालेको छ । “विश्वकप फुटबलका आवश्यक पूर्वाधार निर्माण गर्न नेपालीहरू थुप्रै गएका छन्,” उनले भने, “त्यहाँबाट अदक्ष कामदारको माग बढी छ, जसको आपूर्ति नेपालले नै गरिरहेको छ ।”
तामाङका अनुसार अवैध कामदारलाई वैध बनाउने कार्यक्रम सकिएपछि मलेसियाले नयाँ कामदारको माग बढी गर्न थालेको छ । यसबाट पनि कामदारको संख्या बढेको हो । असारमा मात्र मलेसियामा १४ हजार कामदार पुगेका छन् ।



