‘चपली हाइट’भित्र छलछाम

वर्ग: अर्थरंग
मिति: Friday,6th July 2012 01:47 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameसुपरहिट भनिएको चलचित्र ‘चपली हाइट’ले आक्रामक कलेक्सन गरे पनि यसका निर्माताले वितरकबाट पैसा नपाएको बताएका छन् ।
२ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको चपली निर्माता अर्जुनकुमारले वितरक वीरेन्द्र महर्जन र वीरेन्द्रनारायण श्रेष्ठबाट हिसाबकिताब नपाएको बताउँदै यसले आफ्नो आगामी प्रोजेक्ट ‘फाटेको जुत्ता’ निर्माणमा अवरोध भएको बताए ।
“चलचित्र प्रदर्शन भएको पनि यति धेरै दिन भइसकेको छ, अझैसम्म हिसाबकिताब पाएको छैन,” कारोबारसँग कुरा गर्दै उनले भने, “विभिन्न हलबाट पैसा उठाइसकेका छन्, मलाई भने दिइएको छैन । केही समय अझै कुर्छु, नपाए पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु ।”
सेक्स रिभेन्ज स्टोरी ‘चपली हाइट’ले सफलतापूर्वक प्रदर्शनको ५१ औं दिन मनाएको थियो । विश्वका विभिन्न मुलुकमा प्रदर्शन भइसकेको यो चलचित्र ‘लुट’पछि धेरै कमाउनेमा पर्छ । पछिल्लो पटक चलचित्र इजरायलमा प्रदर्शनमा आएको थियो, अझै आधा दर्जन मुलुकमा लैजान लागिएको अर्जुनले बताए ।
वितरक महर्जनले केही स्थानबाट अझै पैसा उठ्न बाँकी रहेको बताउँदै २० लाख रुपैयाँ निर्माताले लगिसकेको बताए ।
उता, चपली निर्देशक दीपेन्द्र के खनालले आफूले निर्देशनबापतको पारिश्रमिक नपाएको बताएका छन् । “अझैसम्म पारिश्रमिक पाएको छैन, शायद हिसाबकिताब नमिलेर होला,” उनले भने । तर, निर्माता अर्जुनले भने निर्देशकलाई पारिश्रमिकबापत ५ लाख बुझाइसकेको बताएका छन् ।
एक भारतीय कम्पनीले ‘चपली हाइट’को प्रतिलिपि अधिकार किन्ने भनिए पनि त्यसको प्रक्रियासमेत अगाडि बढेको छैन । उक्त कम्पनीले ५० लाख रुपैयाँमा अधिकार खरिद गर्ने भनिए पनि अहिलेसम्म सम्झौता भएको छैन ।
निर्माता अर्जुन भने अहिले यो विषयमा खासै बोल्न चाहँदैनन् । कारोबारको जिज्ञासामा उनले यतिमात्र भने, “मौखिक कुराकानी भएको हो तर प्रक्रिया ढिलो भइरहेको छ ।”
 

  • सम्बन्धित समाचार
Comments