अवसर र विश्वास खोज्दै युवा उद्यमी

मिति: Thursday,16th August 2012 22:28 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



काठमाडौं, ३२ साउन  -  दलीय घोषणापत्र र राजनीतिक भाषणबाजीमा जतिसुकै ‘देशको खम्बा’ भन्दै विभूषित गरिए पनि मुलुकका हरेक खाले ‘युवा’ समस्यै समस्याले जेलिएका छन् । सधैंजसो अरुको स्वार्थमा प्रयोग हुँदा जीविकाको भरपर्दो उपाय नदेखेपछि बिदेसिनेको जमात सानो छैन । तर, ढुंगाको कापबाट पनि सिर्जना फुल्छ– बिस्तारै यो जमात सिर्जनशील र उद्यमशील बन्दै छ । “अवसर दिनुस् र विश्वास गर्नुस्, केही गरेर देखाउन सक्छौं,” यस्तै जोसिला र आशावादी युवा बिहीबार भन्दै थिए, “अब मुलुकको मुहार फेर्ने जिम्मा हाम्रो ।”
बिहीबारदेखि सुरु निम्बस युवा उद्यमी सम्मेलनमा प्रायः सबै युवा उद्यमी बनेर देश फेर्ने संकल्पसहित उपस्थित थिए । अहिलेसम्म युवालाई विश्वास गरेर अवसर नदिइएकाले मुलुक आर्थिक, सामाजिक र राजनीतिक कारणले पिछडिएको उदाहरण दिँदै उनीहरू सम्मेलनले त्यो अविश्वासको पर्खाल भत्काउने बताउँदै थिए ।
नेपाल युवा उद्यमी मञ्च र युवासम्बद्ध विभिन्न संस्थाले जुटाइदिएको यस्तो कार्यक्रममा झन्डै ४ सय युवा उद्यमशीलता विकासका लागि बहस गरिरहेका छन् । “देशमै बसेर केही गर्न चाहनेका लागि यहाँ अवसरको खानी नै छ,” नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले भने, “नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी तपाईं–हाम्रो काँधमा आएको छ, यो अवसरको सबैले सदुपयोग गर्नुपर्छ ।”
वैद्यकै पहलमा करिब नौ वर्षअघि युवा उद्यमी मञ्च गठन भएको स्मरण गर्दै मञ्चका अध्यक्ष अजयबहादुर प्रधानांगले भने, “आर्थिक विकासको इन्जिन युवा उद्यमशीलता हो भन्ने महसुस व्यवसायीलाई मात्र भएर हुँदैन, नीति निर्मातालाई पनि हुनुपर्छ ।”
नेपालबाट दैनिक १ हजारभन्दा बढी युवा काम खोज्दै मलेसिया र खाडीतर्फ गइरहेका छन् । आर्थिक र शैक्षिक रूपमा कमजोर युवा मलेसिया र खाडी राष्ट्र जाने क्रम बढ्दो छ भने अध्ययनका लागि युरोप र अमेरिका जानेको संख्या पनि ठूलो छ । “अवसर पाएर पनि विदेश नगएका र गएर फर्केकाहरूबाटै उद्यमशीलता र त्यसमार्फत आर्थिक समृद्धि सम्भव छ,” प्रधानांगले भने, “उनीहरू यहाँ अवसर देखेरै फर्केकाले राष्ट्र विकासको इन्जिनका रूपमा उनीहरूको उद्यमशीलता उपयोग गर्नुपर्छ ।”
सम्मेलनमा सहभागी झन्डै ४ सयमध्ये साढे ३ सय उद्यमी र ५० व्यवस्थापनका विद्यार्थी रहेको सम्मेलनका संयोजक समीर थापाले जानकारी दिए । सम्मेलनमा बिहीबार प्रतिकूल अवस्थामा पनि स्वस्पूmर्त उद्यमशीता विकास गरेर उदाहरण प्रस्तुत गरेका उद्यमी प्रदीपकुमार श्रेष्ठ, विजय राजभण्डारी, आनन्द बगरिया र भवानी राणाले आफ्ना अनुभव बाँडेका थिए । शुक्रबार सम्पन्न हुने सम्मेलनमा यसदिन दिनभर नीतिगत तथा व्यावहारिक पक्षमा छलफल हुनेछ ।
युवा उद्यमशीलतालाई आर्थिक विकासको इन्जिन मान्ने कि नमान्ने भन्ने विषयमा नीति निर्मातासँग जवाफ खोजिने आयोजकले बताएका छन् । युवा नेताहरू गगन थापा, योगेश भट्टराई, खिमलाल देवकोटा र अभिषेकप्रताप शाहमार्फत राजनीतिक दलको युवाप्रतिको धारणा बुझ्ने कार्यक्रम रहेको अध्यक्ष प्रधानांगले बताए ।
नेपालका सम्भावयुक्त क्षेत्रका विषयमा बिड म्यानेजमेन्टका सुजीव शाक्यले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै, नेपालको प्रतिस्पर्धात्मक क्षमता, अन्तर्राष्ट्रिय ट्रेन्डलगायतका विषयमा पनि कार्यपत्र राखिनेछन् ।
सम्मेलनमा सूचना–प्रविधिका क्षेत्रबाट रुद्र पाण्डे, कृषिबाट जगदीशप्रसाद अग्रवाल, पर्यटनबाट योगेन्द्र शाक्य र जलविद्युत्बाट शेरसिंह भाटले आफ्नो क्षेत्रमा रहेका सम्भावना, कानुनी अवस्थालगायतका विषयमा सहभागीको जिज्ञासा मेटाउनेछन् । युवा उद्यमीले पहिलो पुस्ताको व्यवसाय प्रवद्र्धनका लागि ‘परियोजना धितोमा कर्जा’ अवधारणा अघि सारेका छन् ।
 

  • सम्बन्धित समाचार
Comments