आत्मनिर्भर बन्दै पूर्वलडाकु

वर्ग: अर्थ
मिति: Thursday,16th August 2012 22:57 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

विराटनगर, ३२ साउन -दस वर्ष लामो माओवादी सशस्त्र युद्धमा होमिएका माओवादी पूर्वलडाकुहरू यतिबेला घर फर्किएर आफ्नै पेसा व्यवसाय सञ्चालन गर्न थालेका छन् । सरकारले दिएको रकमबाट कतिपय पूर्वलडाकु विदेश उडिसकेका छन् भने कतिपय लडाकु आफ्नै ठाउँ–ठाउँमा व्यवसाय गरेर आयआर्जन सुरु गरेका छन् ।
भोजपुर कुदाककाउले गाविसबाट ०६० सालमा जनमुक्ति सेनामा भर्ती भएका लेखनाथ लुइँटेल र डम्बर लुइँटेल यतिबेला मोरङको डाँगीहाट–५ लक्ष्मीमार्गमा मिल सञ्चालन गरेर बसेका छन् ।
लुइँटेलद्वय शान्ति प्रक्रियामा आएसँगै सिन्धुलीस्थित माओवादी लडाकुको दोस्रो डिभिजनमा कार्यरत थिए । शान्ति प्रक्रियाको टुंगो लगाउने क्रममा सरकारले दिएको रकम लिएर स्वेच्छिक अवकाश रोजेका उनीहरूले विदेश जानुभन्दा आफ्नै देशमा केही गर्ने जोसका साथ मिल खोलेको बताएका छन् ।
“हामीसँगै ऐच्छिक अवकाश लिएका धेरै साथी मलेसिया र कतार पुगिसकेका छन्,” डम्बरले भने, “आखिर जहाँ गए पनि काम नगरी हुँदैन । आफ्नै देशमा किन केही नगर्ने भनेर मिल सञ्चालन गरेको छौं ।”
सेना समायोजनका क्रममा पार्टीले केही कमजोरी गरेको र अपमान महसुस गरी स्वेच्छिक अवकाश रोजेको उनले बताए । आफूसँग काम गर्ने क्षमता भए पनि ठूलो उद्योगमा लगानी गर्ने रकम नभएकाले सानैबाट सुरु गरेको डम्बरको भनाइ छ । “लडाकुका रूपमा काम गर्दा पनि मेहनत गरेकै हो,” उनी भन्छन्, “मेहनत गर्ने हो भने नेपालमै पनि मनग्य पैसा कमाउन सकिन्छ ।” अरूले जे ग¥यो त्यही व्यवसायी गर्ने आमनेपालीको संस्कार बसेकोमा उनले दुखेसो पोखे । “अरूको भन्दा पृथक् व्यवसाय गर्ने हो भने यहाँ जे पनि चल्छ,” उनले थपे, “हामीले त आफूभित्रको दक्षता र क्षमतालाई अझै पनि चिन्न सकेका छैनौं ।”
पैसा कमिँदै गएपछि अन्य व्यवसायमा पनि हात हाल्ने सोच रहेको अर्का पूर्वलडाकु लेखनाथ लुइँटेल सुनाउँछन् । “आखिर लडाकु भएर काम गर्दा दुःख गर्न सिकेकै छ,” उनले धक नमानी भने, “लडाकुमा काम गर्दा जतिको आफ्नो व्यवसायमा मेहनत र दुःख गरियो भने पैसा नकमिने कुरै छैन ।”
लडाकुमा रहेर विभिन्न भिडन्तमा परेर ज्यान बचाएका खोटाङका होमनाथ पौडेल पनि केही महिनाभित्रै फलफूलको व्यापार गर्ने योजनामा छन् । श्रीमतीसहित विराटनगरमा बस्दै आएका उनी चाँडै नै फलफूलको होलसेल पसल सञ्चालन गर्ने तयारीमा छन् । “पहिला लडाकुमा हुँदा पो एक्लो ज्यान थियो, अहिले परिवार र छोराछोरी भएपछि जिम्मेवारी र खर्च दुवै थपिएको छ,” उनले भने, “महँगी अनुसारको खर्च जुटाउन पनि केही व्यवसाय नगरी सुखै छैन ।”


 

  • सम्बन्धित समाचार
Comments