इटालीको अर्थतन्त्र पुनः संकुचित
रोम, २४ साउन -चालू वर्षको दोस्रो त्रैमासमा समेत इटालीको अर्थतन्त्र ०.७ प्रतिशतले संकुचित बनेको छ । कर्जासंकट बढ्दै जाँदा अर्थतन्त्र थप कमजोर बन्दै गएको हो । सरकारी तथ्यांकअनुसार देशका औद्योगिक गतिविधि तथा उपभोक्ता खर्चको दरमा समेत संकुचन देखा परेको छ ।
कुल गार्हस्थ्य उत्पादन लगातार चौथो वर्षसम्म पनि घट्दै गएको छ । गत वर्षको समान अवधिको तुलनामा यो दर २.५ प्रतिशतले घटेको सरकारी तथ्यांक इस्टाटले जनाएको छ । २०११ को अन्तिम त्रैमासको तुलनामा त्यहाँको कुल गार्हस्थ्य उत्पादन ०.८ प्रतिशतले घटेको छ ।
अर्को एक तथ्यांकअनुसार गएको जूनमा औद्योगिक उत्पादन १.४ प्रतिशतले घटेको छ भने मेमा ८.२ प्रतिशतले वार्षिक रूपमा कम भएको देखिएको छ ।
त्यहाँ पुँजीगत खर्चको क्षेत्रसमेत कमजोर बनेको छ । लगानी तथा खपत क्षेत्रमा समेत कमी देखिएको छ भने निजी तथा सार्वजनिक खर्चको क्षेत्र पनि कमजोर भएको छ ।
प्रधानमन्त्री मारियो मोन्टीले सरकारले २० अर्ब युरोबराबरको खर्च वृद्धिको प्रस्ताव कार्यान्वयनमा जोड दिने बताएका छन् । सार्वभौम कर्जासंकटमा फसेको युरोजोनको बजार विस्तारमा जोड दिन यो प्रस्ताव कार्यान्वन गर्न लागिएको उनको भनाइ थियो ।
यद्यपि लगानीकर्ताहरू भने अझै पनि युरोजोनको कर्जासंकटको समस्याबाट ग्रस्त बन्दै गएकोमा चिन्तित देखिएका छन् । ग्रीस, पोर्चुगल तथा स्पेनका साथै इटालीको अवस्थाले त्यस क्षेत्रमा लगानीको वातावरण कमजोर बन्दै गएको उनीहरूको भनाइ छ ।
इटालीको कर्जासंकट युरोजोनका कुनै साना देशको कर्जास्ांकटको १ सय २३ प्रतिशत रहेको छ । यसले बजारको विश्वास घटाउँदै लगेको छ । यसले त्यस क्षेत्रका सरकारी कामहरूलाई समेत निष्प्रभावी बनाइदिएको छ ।
जर्मनीको विदेश व्यापार घट्यो
चालू वर्षको जुनसम्मको तीन महिनाको अवधिमा जर्मनीको विदेश व्यापार कमजोर बन्न पुगेको छ । यसले युरोपकै ठूलो अर्थतन्त्र नै कमजोर बनेको संकेत दिएको छ । यसका अतिरिक्त युरोजोनको अवस्था अझ कमजोर बन्दै गएको प्रमाणसमेत प्रस्तुत हुन थालेको छ ।
यो अवधिमा जर्मनीको आयात ३ प्रतिशतले कम भएको छ । अघिल्लो त्रैमासमा ६.२ प्रतिशत रहेको आयात पछिल्लो अवधिमा भने धेरै कम भएको छ । अर्थशास्त्रीहरूले १.५ प्रतिशतले मात्र आयात कम हुने अपेक्षा गरे पनि त्यसअनुसार हुन सकेन ।
यो अवधिमा निर्यात व्यापार पनि १.५ प्रतिशतले घटेको छ । लगातार १३ महिनासम्म बढ्दै गएको देशको निर्यात व्यापार अमेरिका तथा चीनमा माग घटेपछि कमजोर भएको हो ।
मेमा केही बढे पनि त्यसयता भने निर्यातमा सुधार आउन सकेन । यसले आगामी महिनामा समेत बाह्य व्यापार घट्ने प्रक्षेपण गरिएको छ । युराजोनका देशहरूबाट आउने माग अझै कम हुने अनुमान गरिएको छ । यद्यपि केही अर्थशास्त्रीहरू भने वर्षको अन्त्यसम्ममा निर्यात व्यापारमा सुधार आउने अपेक्षा गर्छन् ।
जुनयता औद्योगिक उत्पादनमा समेत अपेक्षाअनुसार सुधार हुन सकेको देखिँदैन । युरोजोनको आर्थिक वृद्धिदर कमजोर बन्दै जाँदा औद्योगिक उत्पादन अझै कम हुने विश्लेषण गर्न थालिएको छ । देशका अधिकांश आर्थिक क्षेत्र संर्घषरत छ ।
जर्मनीको कुल निर्यातमध्ये ४० प्रतिशत युराजोनमै हुने र त्यस क्षेत्रको निर्यात व्यापारमा ३ प्रतिशतले गिरावट आएको छ भने गैरयुरोजोन क्षेत्रको निर्यात व्यापार ४.८ प्रतिशतले बढेको छ ।
फ्रान्सेली अर्थतन्त्रमा पनि संकुचन
लगातार तेस्रो त्रैमासमा पनि फ्रान्सको अर्थतन्त्र संकुचित बनेको बैंक अफ फ्रान्सले जनाएको छ । बैंकले चालू वर्षको दोस्रो त्रैमासमा देशको अर्थतन्त्र ०.१ प्रतिशतले संकुचित बन्ने बताएको हो ।
बैंकले देशको औद्योगिक तथा सेवा दुवै क्षेत्रको मापन जूनको ९१ बिन्दुबाट जुलाईमा ९० बिन्दुमा झरेको जनाएको छ । युरोजोनको कमजोर अर्थतन्त्रको असर आफ्नो देशको अर्थतन्त्रमा पनि परेको बैंकले जनाएको छ ।
बैंकले यो वर्ष आफ्नो देशको आर्थिक वृद्धिदर ०.३ प्रतिशतमात्र हुने बताएको छ । त्यस क्षेत्रका करिब २० खर्ब युरोबराबरको अर्थतन्त्र संघर्षरत रहेको भन्दै बैंकले आफ्नो देशमा पनि त्यसैको असर देखिने जनाएको हो ।
गएको जूनमा मात्रै देशको व्यापार घाटा ५ अर्ब ९९ करोड युरो भएको बैंकले जनाएको छ । देशको निर्यात व्यापार तथा यातायात जन्य साधनको व्यापारमा सुधार आउने अपेक्षा विपरीत भएपछि व्यापार घाटा पनि अपेक्षा गरिएभन्दा उच्च भएको बैंकको भनाइ छ ।
जुलाईमा पनि औद्योगिक उत्पादनमा ह्रास आउनुका साथै सवारी साधन तथा कपडा जन्य उद्योगहरूको उत्पादन निराशाजनक भएको जनाइएको छ ।
त्यस्तै देशका अन्य आर्थिक क्षेत्रको अवस्था समेत कमजोर बन्दा तेस्रो त्रैमासमा अथर्तन्त्र ०.१ प्रतिशतले संकुचित बन्न पुगेको हो । यसअघि वर्षको पहिलो त्रैमासमा फ्रान्सको वृद्धिदर शून्य थियो ।



