ओझेलमा पर्यटकीय सम्भावना

वर्ग: देश
मिति: Thursday,9th August 2012 22:15 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameबराह ताल सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि करिब ३५ किलोमिटर पश्चिममा पर्छ । तरंगा–५ मा २६ बिघामा फैलिएको यो ताल धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय स्थल  हो । तर, पूर्वाधारको अभावमा वर्षौंदेखि ओझेलमा छ ।
“पहिले थुप्रै चरा आउँथे, चरा हेर्न गाउँबाट तालसम्म हामी पनि पुग्थ्यौं,” स्थानीय लालचन्द्र बुढा (५७) ले भने, “अहिले न तालको संरक्षण छ न त हेर्न नै आइन्छ ।” तरंगा जोड्नका लागि भेरी नदीमा पुल र सडकको विस्तार नगरेका कारण तालको प्रचारप्रसार हुन नसकेको उनले बताए ।
स्थानीय विर्मा रावतले पनि १०–१२ थरीका चराचुरुंगीहरु अझै पाइने भए पनि संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । “पश्चिम क्षेत्रमा भएका पर्यटकीय क्षेत्रको संरक्षणमा जिल्ला तहबाट कुनै पनि योजना नबनाइएका कारण ओझेलमा पर्दै गएका छन्,” उनले भनिन् ।
सुर्खेतमा बराहमात्र होइन, मध्यपश्चिमाञ्चल क्षेत्रीय संग्रहालय, काँक्रेविहार, बुलबुले ताल, पाँचतले गुफा, चमेरे गुफा, घण्टाघर पार्कलगायतका थुप्रै स्थान छन् । तर, उचित संरक्षण अभावमा तिनीहरुको अस्तित्व दिनप्रतिदिन आझेलमा पर्दै गएको छ ।
पुरातात्विक महत्वको नेपालकै प्रख्यात काँक्रेबिहार सरकारी उपेक्षाको अर्को नमुना हो । दशकअघि उत्खनन् भएर पनि यहाँ मन्दिर बन्न सकेको छैन । शिखर शैलीको मन्दिर बनाउन पुरातत्व विभागले बनाएको योजना अलपत्र छ । पर्याप्त बजेट नहुँदा मन्दिरको सट्टा ‘ओपन म्युजियम’को अवधारणा अघि सारिएको छ । “सरकारले आवश्यक आर्थिक व्यवस्था गरेर मन्दिर बनाउने हो भने काँक्रेबिहार दक्षिण एसियाकै आकर्षण बन्न सक्छ,” स्थानीय वुद्धिप्रसाद सुवेदी भन्छन् ।
पर्यटन व्यवसायी चिन्तामणि शर्मा पर्यटन नीति नबनेकाले पर्यटकीय स्थल संरक्षणविहीन बन्दै गएका बताउँछन् । “उचित कार्यदिशा निर्माण नगर्दा पर्यटन व्यवसाय फस्टाउन सकेको छैन,” उनले भने ।
जातीय संग्रहालयको रूपमा परिचित वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय संग्रहालय पनि गुमनाम छ । संग्रहालय प्रमुख तेजेन्द्र बीसी सरकारी तवरबाट प्रचार–प्रसार गर्ने लक्ष्य नराखिँदा समस्या भएको बताउँछन् । संग्राहलयमा राउटे, थारु, मगर, माझीलगायत विभिन्न जातजातिका भेषभूषा झल्किने सम्पदा राखिएका छन् । “कला र संस्कृति संरक्षणका लागि संग्रहालय स्थापना गरिए पनि बजेट अभावमा समस्या छ,” उनले भने ।
सुर्खेत कर्णाली अञ्चलको प्रवेशद्वार पनि हो । कर्णालीमा पर्ने मुगुको रारा, डोल्पाको से–फोक्सुन्डो यहीँबाट जानुपर्छ ।
चलचित्र निर्माता आरके पाण्डे पर्यटन क्षेत्रबाट चलचित्र उद्योग राम्रोसँग फस्टाउने बताउँछन् । “पोखराको सराङ्कोट जस्तै सुर्खेतमा गोठीकाँडा छ, काठमाडौंको चोभारजस्तै सुर्खेतमा थुप्रै ठाउँ छन्,” उनले भने, “यहाँका पर्यटकीय स्थलबारे चलचित्र निर्माण गर्न सक्ने हो भने नाम र दाम दुवै राम्रो छ ।” पर्यटनमाथि बन्ने चलचित्र अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिस्पर्धामा आउन सक्ने उनले बताए ।
सुर्खेतमा रहेको बुलबुले तालको नामबाट थुप्रै गीत सिर्जना भए । तर, संरक्षण अभावमा ती गीतहरूले अहिले बुलबुलेलाई नै गिज्याइरहेका छन् । “बुलबुले ताल गीतका शब्दजस्तै सुन्दर छ,” स्थानीय लक्ष्मी भण्डारी भन्छिन्, “तर तालको अवस्था पहिलेभन्दा बिग्रँदो छ ।”
लाटीकोइली–९ मा ०२९ सालमा अधिग्रहण गरी ३५ बिघामा विस्तार गरिएको बुलबुले उद्यानमा विभिन्न संस्थाहरूले मनखुसी गरेको स्थानीय बताउँछन् ।
क्षेत्रीय होटल संघका सदस्य भक्तबहादुर आरसीले बुलबुले तालकै कारण पर्यटक सुर्खेत आउने बताए । “होटलमा बस्न आउँदा बुलबुले ताल घुम्न आएको प्रतिक्रिया पाइन्छ,” उनले भने, “तर हेरेपछि सुने जस्तो नभएको गुनासो गर्छन् ।”


‘सुर्खेतमा पर्यटनको व्यावसायिकता छैन’
पर्यटन व्यवसायको क्षेत्रमा चार वर्षदेखि काम गर्दै आएका युवा व्यवसायी चिन्तामणि शर्मा पर्यटनका लागि सुर्खेतमा व्यावसायिकता नभएको बताउँछन् ।  “सुर्खेत पर्यटनका लागि थुप्रै सम्भावना भएको जिल्ला हो,” उनले भने, “तर व्यावसायिक भएर कोही लागेको छैन ।” पर्यटनको विकासका लागि निजी क्षेत्रको सक्रियता आवश्यक रहेको उनको ठहर छ । “तर सरकारबाट चासो नदिइँदा समस्या छ,” उनले भने ।
सुर्खेतको पर्यटकीय स्थल घण्टाघरलाई सार्वजनिक–निजी साझेदारीअन्तर्गत सञ्चालन गरिरहेका उनले सातजनालाई रोजगारी दिइरहेका छन् । निकट भविष्यमै नै स्विमिङ पुल, चिडिया घरलगायत निर्माण गर्ने उनको योजना छ । भन्छन्, “सबैजना एक भएर व्यावसायिक रूपले लाग्ने हो भने युवा बिदेसिनु पर्दैन ।”

उपत्यकामा प्याराग्लाइडिङ, भेरी–कर्णालीमा ¥याफ्टिङ
सुर्खेत उद्योग वाणिज्य संघले पर्यटकीय विकासका लागि त्रिवर्षीय कार्ययोजना सार्वजनिक गरेको छ । ०७१ सालसम्म सम्पादन गरिने कार्ययोजनामा संस्थागत विकासका साथै कृषि, उद्योग, पर्यटन, स्वरोजगारलगायत मुद्दालाई प्राथमिकतामा राखिएको छ ।
संघले पुससम्म गोठीकाँडादेखि सुर्खेत उपत्यकासम्म प्याराग्लाइडिङको परीक्षण गर्ने जनाएको छ । संघका अध्यक्ष पदमबहादुर शाहीले यससम्बन्धी काम गरेका कम्पनीसँग समन्वय गरी सम्भाव्यता अध्ययन गरिने बताए । “परीक्षणबाट सम्भव भयो भने दीर्घकालीन रूपमा सञ्चालनको पहल गरिनेछ,” उनले भने । कर्णाली र भेरीमा ¥याफ्टिङका लागि अवधारणापत्र तयार गरी कार्यान्वयन गरिने पनि उनले बताए । जिल्लामा होमस्टे सञ्चालनका लागि आवश्यक कार्यक्रम गर्नुका साथै बुलबुले उद्यानको व्यवस्थित सञ्चालनका लागि गुरुयोजना बनाइने पनि उनले जानकारी दिए ।
 

  • सम्बन्धित समाचार
Comments