कारोबार रकम बढ्यो, नेप्से घट्यो

मिति: Sunday,12th August 2012 23:15 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, २८ साउन -नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साढे ८ करोड रुपैयाँबराबरको सेयरको किनबेच भएको छ । चिलिमे हाइड्रोपावर, किस्ट बैंकको र एभरेस्ट बैंकको १÷१ करोड रुपैयाँभन्दा धेरैको सेयर खरिद बिक्री भएपछि समग्र कारोबार रकममा सुधार आएको हो ।
आइतबार कारोबार रकममा सुधार आएको भए पनि नेप्से परिसूचक घटेर ४ सयभन्दा तल आएको छ । नेप्से परिसूचक करिब ३ सात पछि ४ सयभन्दा तल झरेको हो । आइतबार कारोबार भएका अधिकांश बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य घटेपछि नेप्से परिसूचक घटेको हो ।
कारोबार सुरु हुँदा सामान्य सुधार भएको नेप्से परिसूचक करिब १५ मिनेटपछि घट्न सुरु गरेको थियो । कारोबार सुरु हँुदा ४०२.४६ अंकमा रहेको नेप्से बन्द हुँदा ३.२६ अंकले घटेर ३९९.२ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि करिब १ अंकले घटेको छ ।  
आइतबार नेप्सेमा धेरै रकमको कारोबार भएको चिलिमे हाइड्रोपावर कम्पनीको १ सय ७३ कारोबारबाट १ करोड ८७ लाख ४० हजार रुपैयाँबराबरको १७ हजार ९० कित्ता सेयर किनबेच भएको छ । किस्ट बैंकको १२ कारोबारबाट १ करोड ७१ लख १२ हजार रुपैयाँबराबरको १ लाख ४४ हजार ६ सय ५० कित्ता सेयर खरिद बिक्री भएको छ । त्यसैगरी एभरेस्ट बैंकको ६९ कारोबारबाट १ करोड ४ लाख २१ हजार रुपैयाँबराबरको ९ हजार ६ सय ४९ कित्ता सेयर कारोबार भएको छ ।
नेप्सेमा ८८ कम्पनीको १ हजार ३ सय ९१ कारोबारबाट ८ करोड ४९ लाख ५९ हजार रुपैयाँबराबरको ३ लाख २ हजार १ सय ६७ कित्ता सेयर किनबेच भएको छ । धेरै सेयर कारोबार हुने कम्पनीमा किस्ट बैंक छ ।
यो कारोबार रकम गत साता कारोबार भएको अन्तिम दिन बुधबारको तुलनामा १४ लाख धेरै हो । बुधबार नेप्सेमा ८७ कम्पनीको १ हजार ४ सय ७४ कारोबारबाट ८ करोड ३५ लाख ५६ हजार रुपैयाँबराबरको २ लाख ९२ हजार ६ सय १५ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कारोबार रकम बढेको भए पनि बजार पुँजीकरण भने घटेको छ । गत बुधबार ३ खर्ब ८० अर्ब २९ करोडमा भएको नेप्सेको कुल बजार पुँजीकरण घटेर आइतबार ३ खर्ब ७७ अर्ब २२ करोडमा झरेको छ ।
आइतबार बैंक अफ काठमान्डू, ग्रान्ड बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, सानिमा बैंकलगायतका कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.३३, विकास बैंक १.६९, होटल ०.३७, वित्त १.३१ र जलविद्युत् समूह ३.२७ अंकले घटेका छन् तर, अन्य १.१७ र बिमा समूह ०.९७ अंकले बढेको भए पनि त्यसको सकारात्मक असर नेप्सेमा पर्न सकेन ।

आइतबार नेप्सेमा
परिसूचक ः ३.२६ ले घट्यो  
कारोबार रकम ः    ८ करोड ४० लाख ५९ हजार
सेयर     ः ३ लाख २ हजार १ सय  ६७ कित्ता
बजार पुँजीकरण ः ३ खर्ब ७७ अर्ब २२ करोड
धेरै रकम कारोबार हुने कम्पनी ः चिलिमे हाइड्रोपावर


युनिलिभर नेपाल
युनिलिभर नेपालले गत आर्थिक वर्ष २०६८÷६९ को नाफाबाट सेयरधनीलाई ६ सय ८० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न सञ्चालक समितिको सेयर धनीलाई प्रतिकित्ता ६ सय ८० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र कार्यान्वयन हुनेछ । साथै सो बैंठकले कम्पनीको ११४ औं साधारणसभा आगामी असोज २४ गते गर्ने निर्णय पनि गरेको छ ।  कम्पनीले गत आवमा ७३ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
महाकाली विकास बैंक
महाकाली विकास बैंकले गत आवको नाफाबाट सेयर धनीलाई १२ प्रतिशत नगद लाभांश दिने भएको छ । गत मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गरेको सो निर्णय आगामी साधारणसभा तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र कार्यान्वयन हुनेछ ।
त्रिवेणी विकास बैंक
त्रिवेणी विकास बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने भएको छ । सोमध्ये १० प्रतिशत बोनस सेयर र १३ प्रतिशत नगद लाभांश छ । शनिबार सम्पन्न बैंक सञ्चालक समितिको बैंठकले गरेको सो निर्णय आगामी साधारणसभा तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र कार्यान्वयन हुनेछ ।  
बैंकले गत आवमा ३ करोड  ७८ लाख ५५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा २१.८१ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकले ३ करोड १० लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।     
बैंकले गत आवमा २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७७ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले प्रवाह गरेको कुल कर्जामध्ये खराब कर्जाको अंश ०.५६ प्रतिशत छ । हालप्रति सेयर आम्दानी १७.५४ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२१.७३ रुपैयाँ छ ।



 


 

 
 

  • सम्बन्धित समाचार
Comments