घरेलु उद्योगमा १७ करोड लगानी
हेटौंडा, १३ भदौ - मकवानपुरमा एक वर्षमा उद्योग सञ्चालनका लागि १७ करोड रुपैयाँ लगानी थपिएको छ । आर्थिक वर्ष ०६८÷६९ मा जिल्लामा दर्ता भएका ३ सय ६८ उद्योगले १७ करोड ७५ लाख रुपैयाँ लगानी गरेका हुन् ।
जिल्ला घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगहरूले ४० करोड ३६ लाख बराबरको वस्तु तथा सेवाको उत्पादन गर्ने अनुमान गरिएको छ । गत आवमा १ सय ६ जना महिला र २ सय ९० जना पुरुष उद्यमी थपिएको कार्यालयले जनाएको छ ।
थपिएका उद्योगबाट ५ सय ३६ जना महिलासहित १ हजार ५ सय ७६ जनाले रोजगारी पाएको घरेलु कार्यालय उद्योग प्रशासन शाखाका चन्दन अमात्यले जानकारी दिए । “स्वरोजगारमा यस्ता घरेलु उद्योगको योगदान महत्वपूर्ण छ,” उनले भने । गत वर्ष उत्पादनमूलक ६४, कृषि तथा वनजन्य ३७, सेवामूलक १ सय ९३ र पर्यटनसम्बन्धी ७४ वटा उद्योग दर्ता भएका छन् ।
यस्तै गत आवमा कार्यालयले ८ सय ६९ वटा उद्योग नवीकरण गरेको शाखा प्रमुख अमात्यले जानकारी दिए । असार मसान्तसम्म मकवानपुरमा २ हजार ४ सय ६५ उद्योग सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । “तालिम प्रदान गरी घरेलु उद्योगतर्फ प्रोत्साहन गरिरहेका छौं,” कार्यालय प्रमुख सच्युतराज उप्रेतीले भने, “यसले थोरै लगानीमा पनि आयआर्जनमा लाग्न प्रेरित गरेको छ ।”
गाउँमा रहेर स्वरोजगार बन्न सक्षम बनाउने उद्देश्यले कार्यालयले गत वर्ष २ सय २१ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ ।



