जापानको आर्थिक वृद्धि कमजोर

वर्ग: विश्व
मिति: Monday,13th August 2012 22:47 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

टोकियो, २९ साउन -निर्यात व्यापारमा आएको मन्दी तथा आन्तरिक बजारमा समेत खपत कम भएपछि चालू वर्षको दोस्रो त्रैमासमा जापानको आर्थिक वृद्धिदर कमजोर बनेको छ । यो अवधिमा कुल गार्हस्थ्य उत्पादन ०.३ प्रतिशतले मात्र बढेको छ, जुन पहिलो त्रैमासमा १ प्रतिशतले बढेको थियो ।
गत वर्षको सोही अवधिमा जापानको आर्थिक वृद्धिदर १.४ प्रतिशत रहेको भए पनि यो वर्ष भने संकुचित भएको हो । विश्लेषकहरूले जापानी अर्थतन्त्र आगामी केही महिनासम्म पनि कमजोर नै रहने बताएका छन् । विश्व अर्थतन्त्रको अवस्थामा सुधार नआइसकेकाले देशको निर्यात व्यापार पनि नबढ्ने भन्दै उनीहरूले आर्थिक विकास थप संकुचित बन्ने बताएका हुन् ।
आन्तरिक बजारमा पनि यो अवधिमा माग घटेको छ । युरोपेली कर्जा संकटको प्रभावका कारण निर्यात व्यापारमा समस्या देखिएपछि आर्थिक वृद्धिदर थप प्रभावित बनेको हो । अधिकारीहरूले यस्तै अवस्था रहिरहे आगामी तीन महिनाको अवधिमा अर्थतन्त्रमा थप कालो बादल लाग्ने चेतावनी दिन थालेका छन् । उनीहरूले युरोपको कर्जासंकटमा सुधार नआउने र आन्तरिक बजारमा माग नबढ्ने हो भने आर्थिक संकट बढ्ने चेतावनीसमेत दिएका छन् ।
त्यहाँको अर्थतन्त्र संकुचित बन्नुमा अमेरिकी अर्थतन्त्रमा अनपेक्षित सुधार भए पनि युरोजोनको संकट नैे प्रमुख कारण बन्न पुगेको छ । दुई प्रमुख बजार अमेरिका तथा युरोपेली बजारमा माग बढ्न नसक्नुले वृद्धिमा ठूलो असर पु¥याएको छ । यसका अतिरिक्त प्रमुख व्यापार साझेदार चीनसँगको व्यापारमा समेत सुधार आउन सकेको देखिँदैन ।
आन्तरिक बजारमा लगानीको पर्याप्त वातावरण बन्न नसक्नुलाई पनि वृद्धिदर घट्नुको अर्को कारणका रूपमा लिइएको छ । यसले सार्वजनिक क्षेत्रमा खपत तथा कामको वातावरणलाई समेत खलबल्याइदिएको छ ।
अमेरिकी डलरको तुलनामा जापानी येनको विनिमयदर बलियो बन्दै जाँदा निर्यात व्यापार थप कमजोर बनेको विश्लेषण गरिएको छ । यसले विदेशी उपभोक्तामा जापानी सामानको मूल्य बढाइदिँदा व्यापारमा कमी आउनुका साथै जापानी कम्पनीहरूको नाफासमेत घटेको छ ।
पछिल्ला तथ्याकंहरूका अनुसार दोस्रो त्रैमासमा जीडीपीको ०.१ प्रतिशत निर्यात कम भएको बताइएको छ । यद्यपि यही अवधिमा आन्तरिक बजारमा माग बढाउन नसक्दा पनि अर्थतन्त्रमा थप समस्या देखा परेको हो ।
पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा परिवार खर्चको दर तथा निजी खपत दरमा ०.१ प्रतिशतको मात्र सुधार आएको छ । यो उक्त अवधिको तुलनामा १.२ प्रतिशतले कम हो ।
टोकियोका वरिष्ठ अर्थशास्त्री हिरोसी मियाजाकीले विदेशी व्यापार घट्नुका साथै आन्तरिक बजारमा हुने खपत तथा लगानीको वातावरण उपयुक्त बन्न नसक्दा अर्थतन्त्रमा थप समस्या देखा परेको बताए ।
उनले सार्वजनिक क्षेत्रको काम तथा लगानी बढाउन सक्ने हो भने आर्थिक वृद्धिदर हासिल गर्न सकिनेमा धारणा राखे ।
विश्लेषकहरूले वृद्धिदर कायम गर्न आन्तरिक तथा बाह्य व्यापार बढाउन जोड दिएका छन् ।
 

  • सम्बन्धित समाचार
Comments