जुलाईमा ३८ हजार हवाई पर्यटक
काठमाडौं, १७ साउन - चालू वर्षको जुलाई महिनामा हवाई मार्ग हुँदै नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा ९.२ प्रतिशतले वृद्धि भएको छ । सन् २०११को जुलाई महिनामा नेपाल भ्रमण गर्ने संख्या ३५ हजार २ सय १२ रहेकोमा चालू वर्ष यो संख्यामा वृद्धि हुँदै ३८ हजार ४ सय ५३ पुगेको नेपाल पर्यटन बोर्डले जनाएकोे छ ।
जुलाई महिनामा दक्षिण एसियाली मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । गत वर्षको सो अवधिमा उक्त क्षेत्रबाट १४ हजार ३१ पर्यटकले नेपाल भ्रमण गरेकामा चालू वर्ष उक्त संख्या बढेर १६ हजार ६ सय २ पुगेको छ । उक्त संख्या १८.३ प्रतिशतले बढी हो । त्यस्तैगरी मध्य एसियाली मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या पनि ८.३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष उक्त मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या ७ हजार ५ सय ७० पर्यटक रहेकामा यस वर्ष भने ८ हजार २ सय १६ पर्यटक पुगेका छन् ।
हवाई मार्ग हुँदै नेपाल भ्रमण गर्ने पर्यटक संख्यामा युरोपियन मुलुकबाट नेपाल भ्रमण गर्नेहरूमा पनि ५.७ प्रतिशतले बढी देखिएको छ । जुलाई महिनामा युरोपियन मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या गत वर्ष ७ हजार ४ सय १२ पर्यटक रहेकामा यस जुलाईमा ७ हजार ८ सय ११ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । त्यस्तैगरी अमेरिकी मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या पनि ७.४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष जुलाईमा ती मुलुकबाट २ हजार ६ सय ९४ पर्यटकले नेपाल भ्रमण गरेकामा यसवर्ष जुलाईमा भने २ हजार ८ सय ३६ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जानकारी दिएको छ ।



