जो कमब्याक हुँदैछन्
पाइरेसीले थला परेको नेपाली संगीत बजारमा गायक–गायिकाहरु उदाउने र हराउने क्रम जारी छ । संगीत क्षेत्रमा लागेर पूर्ण रूपमा व्यावसायिक हुने अवस्था नभएपछि धेरै संगीतकर्मी कि विदेश पलायन भएका छन्, कि वैकल्पिक पेसामा छिरेका छन् । संगीतमार्फत ग्ल्यामरमा जम्न चाहनेका लागि यो रंगीन दुनियाँ पनि भएको छ । कोही गाउँछन्, कमाउँछन् त कोही गाउँछन्, रमाउँछन् मात्रै ।
संगीतमा निरन्तरता दिन र अवसर छोप्नका लागि अहिले गायक–गायिकाहरु नयाँ एल्बम निकाल्ने योजनामा छन् । दर्शक तथा स्रोताबाट टाढा हुन नचाहने तथा स्टेज कार्यक्रममा नयाँ गीतको स्वाद पस्कन खोज्नेहरु यतिखेर फेस्टिबल मुड बनाउँदै दसैं र तिहार छेको पारेर एल्बम निकाल्ने सुरमा छन् ।
दसैं–तिहार र त्यसको एक महिनापछि गरेर २५ भन्दा बढी गायक–गायिकाको एल्बम आउँदैछन् । आधा दशकपछि कमब्याक हुने र दुई–तीन वर्षको ग्यापपछि एल्बम निकाल्नेको यतिखेर भीड नै छ । दसैं–तिहारको मौका छोपेर देश–विदेशमा स्टेज जमाउन पनि धेरै कलाकारले यो अवसर छोप्छन् ।
एल्बमको बजार ओरालो लागे पनि लाखौं खर्चेर नयाँ–नयाँ एल्बम निकाल्नेको कमी छैन । कतिपयले बजारमा ल्याइसकेका छन् । केही सातापछि रिलिज हुने एल्बमको टेलिभिजन प्रोमो पनि बज्न थालिसकेका छन् ।
तीन वर्षको अन्तरालपछि गायक धर्मेन्द्र सेवानले नयाँ एल्बम सार्वजनिक गर्दैछन् । दसैंअघि नै उनको एल्बम ‘राष्ट्रको गीत’ आउनेछ । “तीन वर्ष भइसक्यो, त्यसैले स्रोता–दर्शकलाई दसैंमा नयाँ गीत उपहार चढाउँदैछु,” उनले भने ।
सन्तोष लामा र हेमन्त राना पनि एल्बम रिलिज गर्ने तरखरमा छन् । हेमन्तले पहिलो एल्बम ‘लैजा रे’ पछि ‘मेरो आकाश’ ल्याउँदैछन् । तीन सातापछि सार्वजनिक गर्ने योजनामा रहेका हेमन्तले दसैं–तिहारको स्टेज कार्यक्रमलाई ध्यानमा राख्दै नयाँ संग्रह सार्वजनिक गर्न लागेका हुन् । ५ लाख खर्च गरेर निकाल्न लागेको यो एल्बममा पनि कतिपय पहिलेकै शैली दोहोरिएको उनले बताए ।
गायक रामकृष्ण ढकाल र सुगम पोखरेल पनि नयाँ एल्बम लिएर आउँदैछन् । हिजोआज चलचित्रका पाश्र्व संगीतमा व्यस्त सुगमले दसैंको मौकामा ‘शिलान्यास’ रिलिज गर्दैछन् । रामकृष्णले पनि असोजभित्र नयाँ एल्बम ल्याउने योजना बुनिरहेका छन् ।
सात वर्षपछि गायक अर्जुनकुमारले पनि असोज कुरेर बसेका छन् । यसअघि चार वटा एल्बम निकालिसकेका अर्जुनले चलचित्र निर्माणमा लागे पनि संगीत क्षेत्र छाड्न सकेनन् । भन्छन्, “संगीतको निरन्तरता र दर्शक–स्रोताको मागबमोजिम नयाँ एल्बलम ल्याउन लागेको हुँ ।”
सातै वर्षपछि एकल एल्बमको तयारीमा जुटेका गायक मनोज सेवाले ‘लहना’पछि ‘सायद’ ल्याउँदैछन् । “सकभर दसैंअघि नै ल्याउने योजना छ,” उनले भने, “काम सकिएन भने दसैंको एक महिनापछि आउँछ ।” एल्बममा साढे २ लाख खर्च हुने पनि उनले बताए ।
लोक, आधुनिक र पप गरी १६ सय गीत गाइसकेकी माण्डवी त्रिपाठीले आफ्नो पहिलो एल्बम ‘माण्डवी’लाई टेलिभिजनमा व्यापक प्रचार गरिरहेकी छन् । भदौमा ल्याउने योजना बनाएकी उनले यो एल्बममा ६ लाख खर्च गरिसकेकी छन् । भन्छिन्, “विभिन्न कार्यक्रममा जानुपर्ने हुन्छ, चाडपर्व पनि आयो, त्यसैले नयाँ गीत चाहिन्छ नि !”
अर्का युवा गायक सत्यराज आचार्यले पनि एकल एल्बम निकाल्दैछन् । असोजलाई नै टार्गेट सत्यले ‘मधुशाला’ नामक गजल एल्बम निकाल्नेछन् । आफ्नै संगीत, स्वर र रचनामा उनले पहिलो पटक गजल एल्बम ल्याउन लागेका हुन् । उनका भाइ स्वरुपराजले पनि एकल एल्बमको तयारी गरिरहेका छन् ।
दसैंअघि र पछि गरेर एल्बम निकाल्ने पाइपलाइनमा रजिना रिमाल, मल्लिका कार्की, मेग लामा, मिग्मा शेर्पा, नलिना चित्रकार, आगन्तुक खरेल, अमृत क्षेत्री, भरत सिटौलालगायत छन् । त्यस्तै, दसैंलाई नै टार्गेट गरेर सिन्धु मल्ल, रिजा उप्रेती, शिशिर योगीले एल्बम ल्याइसकेका छन् । सिन्धु मल्लले ‘कस्तो मीठो’ र रिजा उप्रेतीले ‘म्युजिक फर लाइफ’ ल्याएका हुन् ।



