नेप्से घट्यो
काठमाडौं, ३० साउन -सेयर बजार मंगलबार करिब साढे २ अंकले घटेको छ । अधिकांश वाणिज्य बैंकहरूको सेयर मूल्य घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको हो । सोमबार बजार परिसूचक सामान्य अंकले बढेको छ ।
मंगलबार एभरेस्ट बैंक, कुमारी बैंक, हिमालयन बैंक, बैंक अफ काठमान्डू, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायत अधिकांश वाणिज्य बैंकको सेयर मूल्य घटेको छ ।
कारोबारको पहिलो समयमा सामान्य अंकले बढेको नेप्से परिसूचक करिब १५ मिनेटपछि घट्न सुरु गरेको थियो । कारोबारको केही समयपछि घट्न सुरु गरेको नेप्से अन्तिमसम्म कायम रह्यो । मंगलबार कारोबार सुरु हुँदा ३९९.७८ अंकमा रहेको नेप्से परिसूचक बन्द हुँदा २.६ अंकले घटेर ३९७.१८ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ ।
मंगलबार कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.७२ र वित्त समूह ०.८ अंकले घटेका छन् । नेप्सेमा सूचीकृत सेयरमध्ये वाणिज्य बैंकहरूको मात्र ५१ प्रतिशतभन्दा धेरै हिस्सा छ तर विकास बैंक ०.५७, बिमा ३.८९, होटल ०.३७ र जलविद्युत् ७.८१ अंकले घटेका छन् ।
बजार परिसूचक घटेको भए पनि कारोबार रकममा भने बढेको छ । मंगलबार ७८ कम्पनीको १ हजार ३ सय ९१ कारोबारबाट ७ करोड ४४ लाख ५४ हजार रुपैयाँबराबरको २ लाख ९७ हजार ४ सय १२ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा १ करोड ८२ लाख रुपैयाँ धेरै हो ।
सोमबार ८५ कम्पनीको १ हजार ३ सय ३७ कारोबारबाट ५ करोड ६२ लाख ३८ हजार रुपैयाँबराबरको १ लाख ८१ हजार ७ सय ७७ कित्ता सेयर कारोबार भएको थियो ।
कारोबार रकम बढेको भए पनि बजार पुँजीकरण भने घटेको छ । सोमबार ३ खर्ब ७७ अर्ब ७६ करोड भएको नेप्सेको कुल बजार पुँजीकरण मंगलबार घटेर ३ खर्ब ७५ अर्ब ३१ करोडमा झरेको छ ।
मंगलबार धेरै रकम कारोबार हुने कम्पनीमा एभरेस्ट बैंक छ । किस्ट बैंकको धेरै कित्ता सेयर खरिद बिक्री भएको छ । जनाता बैंकको धेरै पटक सेयर कारोबार भएको छ ।
मंगलबार नेप्सेमा
परिसूचक ः २.६ ले घट्यो
कारोबार रकम ः ७ करोड ४४ लाख ५४ हजार
सेयर ः २ लाख ९७ हजार ४ सय १२ कित्ता
बजार पुँजीकरण ः ३ खर्ब ७५ अर्ब ३१ करोड
धेरै रकम कारोबार हुने कम्पनी ः एभरेस्ट बैंक
सेवा विकास बैंकको बोनस सेयर
सेवा विकास बैंकले गत आवको नाफाबाट सेयर धनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । गत शुक्रबार सम्पन्न बैंक सञ्चालक समितिको बैंठकले गरेको सो निणर्य आगामी साधारणसभा तथा नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएपछि मात्र कार्यान्वयन हुनेछ ।



