पर्वतमा १२ मेट्रिकटन मह उत्पादन

वर्ग: अर्थ
मिति: Sunday,5th August 2012 23:57 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

पर्वत, २१ साउन -आर्थिक वर्ष ०६८÷६९ मा पर्वतमा करिब १२ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्लाका विभिन्न गाविसमा गरिएको व्यावसायिक मौरीपालनबाट १२ मेट्रिक टन मह उत्पादन भएको हो ।
यहाँ १० वर्षदेखि व्यावसायिक मौरीपालन गरिँदै आएको छ । व्यवसायलाई आधुनिक रूप दिइएपछि जिल्लाका कृषकको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ ।
स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह स्वस्थकर हुने भएकाले बजारमा समेत राम्रो माग रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष उत्पादितमध्ये ५ मेट्रिक टन जिल्लामै खपत भएको छ भने ७ मेट्रिक टन बाह्य जिल्लामा बिक्रीका लागि पठाइएको वरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनालले जानकारी दिए ।
यहाँको मह पोखरा, काठमाडौं, नारायणगढ, वीरगन्जलगायतका सहरमा बिक्री हुँदै आएको छ । यहाँ उत्पादन हुने मह गुणस्तरीय भएकाले बजारको समस्या नभएको कृषक बताउँछन् ।
मौरीपालनलाई व्यावसायिक हिसाबले अगाडि बढाउन कृषकले सहकारीमार्फत पनि अगाडि बढाएका छन् भने केही गाविसमा समूहमार्फत काम गरिरहेका छन् ।
प्राकृतिक वनजंगल, चरनयोग्य ठाउँ र स्थानीय जातका मौरीका लागि उपयुक्त वातवरण भएकोले मौरीपालन व्यवसायबाट कृषकले सोचेअनुसारको सफलता प्राप्त गरेका हुन् ।
कार्यालयका अनुसार महबाट वार्षिक औसत ५० देखि ६० लाखसम्म जिल्ला भित्रिने गरेको छ । जिल्लाभर करिब ७ सय कृषकले व्यावसायिक मौरीपालन गर्दै आएका छन् ।
अधिकृत खनालका अनुसार मौरीपालन व्यवसाय गर्न अन्य व्यवसाय जस्तो कठिन नहुने र उत्पादित महका लागि बजार समस्या नभएकाले पनि कृषकको चासो यस पेसाप्रति बढेको हो । “जिल्लामा दुईवटा देखि सय घारसम्म मौरी पाल्ने कृषक छन्,” उनले भने, “सबै कृषकलाई आवश्यक तालिम र प्राविधिक ज्ञान दिलाउन सके जिल्ला मह र मौरीको क्षेत्रमा आत्मनिर्भर हुनसक्ने थियो ।”
कार्यालयले मौरी विकास कार्यक्रमअन्तर्गत कृषकलाई घार, मौरी तथा तालिम निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

 

  • सम्बन्धित समाचार
Comments