पुनर्कर्जा सस्तियो

मिति: Monday,6th August 2012 00:13 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, २१ साउन -पुनर्कर्जाको ब्याजदर १ प्रतिशत बिन्दुले घटेको छ । गत आवमा १० प्रतिशत तिर्नुपर्ने पुनर्कर्जा अब ९ प्रतिशतमा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै पुनर्कर्जा ९ प्रतिशतमा दिन निर्देशन दिएको हो । यस्तो पुनर्कर्जा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ६ प्रतिशतमा दिने र त्यसमा ३ प्रतिशत बिन्दु मार्जिन राखी ९ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । गत वर्ष यस्तो पुनर्कर्जा राष्ट्र बैंकले कृषि र जलविद्युत्मा ६.५ प्रतिशत तथा अन्य पुनर्कर्जा ७ प्रतिशतमा दिने र बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार राष्ट्र बैंक स्वयंले ०.५ प्रतिशत बिन्दुले पुनर्कर्जा ब्याजदर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाले पनि यसअघि पाएको मार्जिनमा ०.५ प्रतिशत बिन्दुले घटाउनुपर्ने छ ।
राष्ट्र बैंकले पुनर्कर्जालाई विभिन्न ४ वर्गमा विभाजित गरी सोहीअनुरूप ब्याज दरसमेत छुट्टाछुट्टै तोकेको छ । सामान्य र महिलाद्वारा सञ्चालित लघुउद्यम पुनर्कर्जाको ब्याजदर ९ प्रतिशत रहनेछ भने विशेष पुनर्कर्जा र विशेष पुनर्कर्जाको ब्याजदर ४.५ प्रतिशत रहनेछ । महिलाहरूद्वारा सञ्चालित लघुउद्यमलाई प्रवाह भएको ३ लाखसम्मको असल कर्जाको धितो सुरक्षणमा पुनर्कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
साधारण पुनर्कर्जाभित्र २५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने जलविद्युत् परियोजना, कृषि क्षेत्र, पशुपन्छी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले संचालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगलाई राखेको छ । उत्पादनमूलक उद्योगभित्र चुरोट, बिडी, सिंगार, सुर्ती, खैनीलगायत सुर्तीजन्य उद्योग र मदिरा तथा मदिराजन्य उद्योग नपर्ने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ । त्यसैगरी भौतिक पूर्वाधार निर्माण उद्योगमा सडक, पुल, रोपवे, ट्रलीबस, टनेल, फ्लाईङ ब्रिज, केबल कार, विद्युत् प्रसारण लाइनलाई समेटेको छ ।
त्यसैगरी राष्ट्र बैंकले विशेष पुनर्कर्जाअन्तर्गत रूग्ण उद्योग, घरेलु  तथा साना उद्योग, वैदेशिक रोजगारी, दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा सञ्चालित साना व्यवसायलाई समेटेको छ । यस्तो व्यवसायका असल कर्जा धितोको सुरक्षणमा राष्ट्र बैंकले वार्षिक १.५ प्रतिशतमा उपलब्ध गराउने र बैंक तथा वित्तीय संस्थाले ४.५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ ।
निर्यात पुनर्कर्जाअन्तर्गत निर्यात व्यवसायी फर्म÷कम्पनीलाई ‘एक्सपोर्ट डकुमेन्ट्स’को  आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवद्र्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा राष्ट्र बैंकले १.५ प्रतिशतमा कर्जा दिने र बैंक तथा वित्तीय संस्थाले ४.५ प्रतिशतमा उपलब्ध गराउनुपर्ने छ ।
निर्यातअन्तर्गत विदेशबाट विदेशी मुद्रा आम्दानी भएको अनुगमन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने र भुक्तानी प्राप्त भएको चार दिनभित्र पुनर्कर्जाको साँवा तथा ब्याज एकमुष्ट भुक्तानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । निर्यात पुनर्कर्जाको हकमा ‘डिमान्ड एक्सपोर्टर’ भई उत्पादन कार्यमा संलग्न भएको स्थितिमा उत्पादन कार्यमा लिएको  कर्जा  वा निर्यातका लागि लिएको कर्जामध्ये  कुनै  एक तहको कर्जामा मात्र निर्यात पुनर्कर्जा दिइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । पुनर्कर्जा सुविधा बैंक तथा वित्तीय संस्थाको  प्राथमिक पुँजीको अधिकतम ८० प्रतिशतसम्म दिन पाइने निर्देशनमा उल्लेख छ ।  
राष्ट्र बैंकले आइतबारै बैंक तथा वित्तीय संस्थाको तरलतासम्बन्धी  जोखिमलाई  न्यूनीकरण गर्न बैंक÷वित्तीय संस्थाको स्रोत परिचालन (स्वदेशी मुद्रामा भएको निक्षेप तथा प्राथमिक पुँजी) मा स्वदेशी मुद्रामा प्रवाह भएको ऋण सापटको अंश ८० प्रतिशत नाघ्न नहुने निर्देशन पनि दिएको छ । बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जा उपयोग गरेको भए सो रकम घटाउन सकिने, विदेशी मुद्रामा तीन वर्षभन्दा बढी अवधिको दीर्घकालीन ऋण लिई ऋण लगानी भए यस्तो रकमलाई पनि स्रोत परिचालनमा गणना गर्न छुट दिएको छ ।  
 

  • सम्बन्धित समाचार
Comments