प्रहरीकै संलग्नतामा तस्करी
धनगढी, ३० साउन -कैलालीका विभिन्न नाकाबाट प्रहरीको संरक्षणमा भन्सार नतिरी दैनिक करोडौंको सामान आयात भइरहेको छ । अन्तर्राष्ट्रिय सीमामा भइरहेको तस्करी रोक्नुको सट्टा यस्तो कार्यमा सहयोग पु¥याउन सशस्त्र र नेपाल प्रहरीले भूमिका खेल्ने गरेको भेटिएको छ ।
कैलालीको दक्षिणपूर्वी खक्रौला नाकामा तस्करबाट रकम असुली गर्नकै लागि प्रहरी संगठनले घुमुवा प्रहरीको संख्या बढाएको छ । अवैध रकम असुल्न सशस्त्र र जनपद प्रहरीबीच हानथाप नै हुने गरेको स्थानीयवासी बताउँछन् ।
खक्रौला क्षेत्रमा तस्करी बढेसँगै जनपद र सशस्त्रका जिल्ला तथा क्षेत्रीय तहका अधिकृतले आफूनजिकका प्रहरीलाई घुमुवा बनाएर सीमा क्षेत्रमा खटाएका छन् ।
तस्करको सूचना संकलन गर्ने बहाना बनाएर कैलाली प्रहरीले सीमा क्षेत्रमा थप घुमुवा प्रहरी खटाएको छ । तर, यसरी खटिनेको प्रमुख काम भने तस्करसँग मिलेर रकम असुल गरी आफूमाथिका अधिकृतलाई पठाउनु रहेको छ ।
खक्रौलाका लागि थपिएका घुमुवामा जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी जवान दिपेन्द्र कठायत र सशस्त्र प्रहरी प्रतापपुर बेसक्याम्पका जवान टेकबहादुर साउद छन् । उनीहरूले भारतबाट भन्सार नतिरेर ल्याएको अवैध सामानबाट प्रतिसाइकल ५० देखि १ सय रुपैयाँसम्म असुल्ने गरेको सामान आयात गर्ने व्यापारी बताउँछन् ।
प्रहरी जवान कडायतले से १ प ३०० नम्बरको नीलो प्लाटिना मोटरसाइकलका चालकबाट नारायणपुरनजिकै गएको मंगलबार ५ सय रुपैयाँ लिएर भन्सार नतिरी ल्याएको सामान आयात गर्नमा सहयोग गरेका छन् । जिल्लाबाट एसपीको लाइन लिएर आएको भन्दै प्रहरी जवान कडायतले रकम असुल्ने गरेको व्यापारी बताउँछन् ।
साउदले पनि सीमाक्षेत्रमा पुगेर व्यापारीबाट रकम असुली गर्ने गरेका छन् । जवान साउद नारायणपुर–९, बैदीमा बसेर रकम असुली गर्छन् । सीमाबाट सिमेन्ट, मल, चिनी र कपडाका व्यापारीले बेसक्याम्पका इन्चार्जलाई रकम दिएर तस्करी गर्ने भएकाले उनीहरूलाई सीमामा खटाएको स्रोतको दाबी छ ।
खक्रौलाको निर्माणाधीन पुलमा बसेर प्रतिसाइकल ५० रुपैयाँ सशस्त्र प्रहरी भजनीका जवान रमेश कार्कीले असुली गर्ने गरेको सामान ओसार्ने काममा सक्रिय व्यापारी रफिकले बताए ।
सशस्त्र प्रहरी टीकापुरका प्रहरी जवान श्रीकृष्ण चौधरीले झुँगाका एक जना तस्करको सामान सीमाबाट राजापुर र आसपासका क्षेत्रसम्म स्कर्टिङ दिने गरी सुरक्षित तरिकाले पु¥याइदिने गरेका छन् । चौधरी झँुगाकै स्थायी बासिन्दा हुन् ।



