बहालवाला सञ्चालक नै कालोसूचीमा

मिति: Thursday,2nd August 2012 22:54 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, १८ साउन -बैंक तथा वित्तीय संस्थामा रहेका बहालवाला सञ्चालकहरू नै कर्जा सूचना केन्द्र (सीआईबी)को कालोसूचीमा पर्न थालेका छन् । कुमारी बैंकका दुई जना र नेपाल बंगलोदश बैंकका एक जना सञ्चालक यो साता मात्रै कालोसूचीमा समेटिएको छ । हालको कानुनी व्यवस्था अनुसार उनीहरूले न्यूनतम तीन वर्ष बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् ।
कुमारी बैंकका सञ्चालकद्वय नुरप्रताप राणा तथा अमिरप्रताप राणा र नेपाल बंगलादेश बैंकका सञ्चालक विष्णुराज अधिकारी कालोसूचीमा परेका हुन् । नुर र अमिर बाबुछोरासमेत हुन् ।
अधिकारीलाई भने नबिल बैंकको सिफारिसमा सीआईबीले शुक्रबार कालोसूचीमा समेटेर आइतबार कालोसूचीबाट हटाएको छ । सिनर्जी पोपर्टी डेभलपरसँग सम्बद्ध अधिकारीसहित, प्रकाश बराल र रामशरण भण्डारीलाई सीआईबीले साउन १४ गते शुक्रबार कालोसूचीमा राखेको हो, तर अधिकारीले आइतबार २ करोड ७५ लाख रुपैयाँ तिरेपछि नबिल बैंक सञ्चालक समितिले कालोसूचीबाट नाम फिर्ता लिन लेखी पठाएको थियो । नबिलले कालोसूचीबाट हटाउन भनेकाले सिनर्जीसँग सम्बन्धित सबैको नाम हटाइएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबी स्रोतका अनुसार एक पटक कालोसूचीमा परेपछि त्यसको विवरण सीआईबीमा सुरक्षित रहन्छ । “कसैले यसबारेमा सीआईबीसँग सोधेमा त्यसबारेको वास्तविकता जानकारी गराउँछौं,” स्रोतले भन्यो, “प्रक्रियाअनुसारै कालोसूचीमा राख्ने र हटाउने भएकाले सूचीबाट नाम हटेकै भरमा सूचीमा नपरेको अर्थ लाग्दैन ।” अधिकारी काठमान्डू कलेज अफ म्यानेजमेन्ट (केसीएम) मा समेत सञ्चालक छन् ।
राणाद्वयलाई क्यूब इन्टरनेसनलका तर्फबाट सिटिजन्स बैंक इन्टरनेसनलले कालोसूचीमा राखेको हो । त्यसैगरी सोही समूहका खुसबहादुर थापा, सुनिल थापा, मधुसूदन थापा, विमला थापा, सुदर्शन फुयाँल, राजेन्द्र प्रधान, सरोजविक्रम सिजापति, एलिसा सिजापति, प्रल्हादकुमार क्षेत्री तथा डुकन ट्रेडिङका राणाद्वयसहित राजीव कुवंर, उपासना प्रियम पनि कालोसूचीमा परेका छन् । उनीहरूले सवारीसाधन ल्याई कारोबार गर्ने गरेका थिए ।
‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३’ मा बैंक तथा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएको व्यक्ति सञ्चालक हुन नपाउने व्यवस्था छ ।  सो ऐनमा व्यक्ति, फर्म, कम्पनीले वित्तीय संस्थासँग ऋण लिई तोकिएको प्रावधानअनुसार नतिरेमा बैंक तथा वित्तीय संस्थाले ऋणवापतको रकम सतप्रतिशत व्यवस्था (प्रोभिजिनिङ) गरेपछि मात्र कर्जा असुलीको प्रक्रिया सुरु गरी कालोसूचीमा पठाउनुपर्ने व्यवस्था गरेपछि मात्र कर्जा असुलीको प्रक्रिया सुरु गरी कालोसूचीमा पठाउनुपर्ने व्यवस्था  छ । बैंकहरूले पठाएको सिफारिसका आधारमा सीआईबीले प्रक्रिया पु¥याएर कालोसूचीमा समेट्ने गर्छ ।
यसअघि बीएन्डबी हरिसिद्धि मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका सञ्चालक डा. अशोककुमार बाँस्कोटा, डा. जगदीशलाल वैद्य, उद्यागपति प्रदीपमान वैद्य, विजयदीप इन्भेस्टमेन्ट, बाबुकाजी श्रेष्ठ, नवीन श्रेष्ठ, प्रभुकेशरमान प्रधान पनि कालोसूचीमा छन् । बीएन्डबी हरिसिद्धिमा गएको करिब २० करोड ऋण उठाउन झन्डै साढे वर्ष पर्खिए पनि ऋण असुली नभएपछि नबिल बैंकले उनीहरूलाई कालोसूचीमा राख्न लेखि पठाएको हो । बीएन्डबी हरिसिद्धिमा अझै करिब १४ करोड रुपैयाँ ऋण रहेको बताइन्छ । अशोक र जगदीशलाल ग्वर्कोस्थित बीएन्डबी हस्पिटलका पनि सञ्चालक हुन् । विजयदीप इन्भेस्टभमेन्ट प्रदीपमानको कम्पनी हो ।
 

  • सम्बन्धित समाचार
Comments