बाढीको त्रासले रातैभर जाग्राम
पर्वत, २२ साउन -लगातारको वर्षाका कारण कालीगण्डकीको बहाब अत्याधिक बढेपछि पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने दक्षिण पर्वतको सेतीबेणी बजारका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । पानी परेको दिन उनीहरू निदाउन सक्दैनन, कतिबेला कालीगण्डकी नदी र सेतीखोलाको बाढी बजारमा पस्ने हो भन्ने त्रासले उनीहरू रातभर जाग्राम बस्दै आएका छन् ।
सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा र स्याङजाको पिंढीखोलामा पर्ने बजार क्षेत्रमा झन्डै २ सय व्यापारी तथा सर्वसाधारणका परिवार पनि रातभर ज्राग्राम बस्न बाध्य छन् ।
वर्षा हुने बित्तिकै कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीनदर्जन घरपरिवार विस्थापितसमेत बनिसकेका छन् भने बाँकी घरपरिवारसमेत खतरामा छन् । विस्थापित परिवारहरू छिमेकीको संरक्षण लिएर बसेको बजार संरक्षण समितिका सचिव विष्णु न्यौपानेले जानकारी दिए ।
कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोलिएको छ । ढोका खोल्दा पनि बाढी बढ्दा बजार जुनसुकै बेला पनि डुब्ने खतरा छ । कालीगण्डकीको बाँधका कारण बजार डुबानको खतरा बढेपछि रातभर जाग्राम बस्ने सेतीबेणीबासीलाई बिद्युत प्रांधिकरणले झनै दुःख दिएको छ ।
जलविद्युत केन्द्र प्रभावित क्षेत्रमा लोडसेङि हटाउनुपर्नेमा उल्टो लोडसेडिङ गर्दा बाढी बढेर भाग्नसमेत कठिनाइ हुने गरेको बजार संरक्षण समितिका सचिव विष्णु न्यौपाने बताए ।
०६६ साल असोज २१ गते कालीगण्डकी नदिमा आएको बाढीले स्थानीय २१ वटा पसल बगाएको थियो । उक्त घटनामा कुनै मानवीय क्षति नभए पनि करिब १ करोडभन्दा बढिको क्षति भएको थियो । उक्त घटनापश्चात् जल उत्पन्न प्रकोप, नदी नियन्त्रण महाशाखा, शाखा कार्यालय पोखराको ५३ लाख रुपैयाँ सहयोगमा कालीगण्डकी नदीको किनारमा तटबन्ध लगाउने काम भए पनि बजेट अभावका कारण पूरै क्षेत्रमा तटबन्ध लगाउन नसक्दा झनै जोखिम बढ्दै गएको बजार बचाउ उपभोक्ता समितिका सचिव न्यौपानेले जानकारी दिए ।
व्यापारीक, धार्मिक र पर्यटकीय दृष्टिले प्रमुख क्षेत्र मानिने उक्त बजारलाई कालीगण्डकी नदीको खतराबाट मुक्त गराउन अझै १० करोड आवश्यक परेको सचिव न्यौपानले जानकारी दिए ।



