बाढीबाट बच्न भकारी
रत्ननगर (चितवन), २१ साउन- ‘भकारी’ भन्नाले सामान्यतया घरमा धान राख्नका लागि बाँसबाट बनाइएको सामग्री भनेर चिनिन्छ । तपार्इंले पनि सायद त्यही ठान्नुभएको होला तर बाढीबाट बच्न भकारीको भरोसा भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्नसक्छ । अब यसलाई अचम्म मान्नु पर्दैन ।
चितवनको विकट गाउँ माडी क्षेत्रमा चुरे पहाडबाट झर्ने खोलानालामा आउने बाढीले जनधनको क्षति र भूक्षय गर्दै आएकाले यसबाट बच्न भकारी नै भकारीमात्र प्रयोग गरेको देख्न सकिन्छ । ती भकारीमा अन्नपात नभई ढुङ्गा, माटो, गिट्टी र बालुवा भरेर खोलानाला किनारमा राखिएको देख्न सकिन्छ ।
विशेषगरी खोलानालामा आउने बाढीका कारण खेतीयोग्य जमिन बगरमा परिणत हुनाका साथै घर नै बगाउन थालेपछि त्यसबाट जोगिन खोलानाला किनारमा भकारी बनाई प्रयोग गरिएको हो । यसको प्रयोगबाट भूक्षय रोकिने, बाढीको गति कम हुने र जमिनलाई पनि कम क्षति हुने स्थानीय कृष्णप्रसाद बस्याल बताउँछन् । गत वर्षदेखि सुरु गरिएको भकारीमा बालुवा, गिट्टी, माटो, ढुङ्गा भरेर राख्ने कार्य त्यहाँका आधा दर्जनजति खोलामा सम्पन्न गरिएको छ । खोलाको साँघुरो ठाउँ छानेर वारपार पुग्ने गरी बाँसका भकारी बनाइएको र त्यहाँका किरिया, रतनी, लामो खोला, मगई, ढुकुरबारी, ब्रह्मपुरलगायतका खोलामा भकारी बनाइएको बस्यालले जानकारी दिए ।
भकारीले पानीको बहावलाई केही हदसम्म रोक्ने र बगाएर ल्याएको गेगर पनि अड्किन्छ, जसका कारण खहरे खोलाको ढुङ्गामाटो भकारीमा रोकिँदा बस्तीमा पुग्न पाउँदैन र भूक्षय पनि कम हुन्छ । भकारी बनाउने भूक्षय नियन्त्रणका लागि बायो–इन्जिनियरिङ प्रविधि कार्यक्रमका संयोजक रामप्रसाद तिवारी अब यसबाट सर्वसाधारणको पीडा कम हुने बताउँछन् । उनले तराई भूपरिधि कार्यक्रम (ताल), स्थानीय बघौडा उपभोक्ता समिति र सोमेश्वर सामुदायिक वनले भकारी बुन्नका लागि सहयोग गरेको जानकारी दिए ।
खर्च पनि नलाग्ने र क्षति पनि न्यूनीकरण हुने भएकाले यसको प्रयोग गरिएको स्थानीय बासिन्दाले बताएका छन् । बाहिरबाट त्यसक्षेत्रमा घुम्न जानेहरू भकारीले पनि के खोला धान्ला र भन्ने जिज्ञासा राख्ने गरेको जानकारी दिँदै तिवारीले भने, “भकारीसँगै ठाउँ–ठाउँमा वृक्षरोपण गर्छाैं, तारजाली पनि लगाउँछौं । ” ताल कार्यक्रमका स्थानीय प्रतिनिधि एकराज भण्डारीले भकारीसँगै स्थानीयले खोलाका विभिन्न ठाउँमा तारजाली लगाएर अझ व्यवस्थित बनाएको र आगामी दिनमा पनि जैविक विविधता संरक्षणका लागि सहयोग निरन्तर रहने बताए ।
जनश्रमदानसहित करिब ८ लाख रुपैयाँको लागतमा ती भकारी बनाइएको स्थानीय बुद्धिजीवी टेकनाथ पौडेलले बताए । किरिया खोलामा गत वर्ष आएको बाढीले बघौडाको रामराजापुरमा पाँच बिघा जमिन, विभिन्न खोलाले गर्दी, बघौडा र कल्याणपुर गाविसका सयौं विघा जमिनलाई बगर बनाइदिएको बघौडा उपभोक्ता समितिका अध्यक्ष प्रभ्प्रसाद महतोले बताए । उनले मकवानपुरको ब्रह्माठाकुर वन र चितवनको कृष्णभीरको पहिरो रोकथामका लागि पनि यस्तै प्रविधि प्रयोग गरेको देखिएकाले आपूmहरूले पनि सुरु गरेको उल्लेख गरे । “यसो हेर्दा त्यसले बाढी केही रोकिएलाजस्तो लाग्छ, यो भरपर्दाे प्रविधि हो,” उनको भनाई छ ।
ती भकारीमा अहिले नै गेगर भरिइसकेका र भू–क्षय जाने ठाउँमा वृक्षरोपणसमेत गरिसकिएकाले यस वर्ष विगतको जस्तो क्षति नहुनेमा स्थानीयवासी ढुक्क छन् । यो प्रयोग सफल भएको खण्डमा जिल्लाका भूक्षय जाने र गेगर बगेर आउने खहरे खोलामा समेत प्रयोग गरिने जानकारी पनि उनले दिए । ती खोलाबाट बघौडा गाविसका १, २ र ५, गर्दी गाविसका ३ र कल्याणपुर गाविसका १ र २ नं.वडा बढी प्रभावित भएकाले ती वडालाई लक्ष्य गरी भकारीको अवधारणा ल्याइएको बताइएको छ । जिल्लाका अन्य स्थानमा भने भकारीको प्रयोग गरिएको छैन । पहिलो पटक भकारी प्रयोग सफल भए उदाहरण नै हुने भरतपुरका श्रीराम भण्डारी बताउँछन् ।
चितवनको माडी जिल्लामै सबैभन्दा बाढी आउने, घरबारविहीन हुने र सयौं बिघा जमिन बगरमा परिणत हुने क्षेत्रमा पर्छ । यहाँका बासिन्दा हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेका छन् भने बाढीले मानिसको समेत ज्यान लिने गरेकाले सो क्षेत्रका बासिन्दा पानी पर्नासाथ भयभीत हुने गर्छन् । पानी परेपछि त्यहाँका बासिन्दा यातायातसँगै सबै सेवाबाट वञ्चित हुने गरेका छन् ।



