बेइजिङको पर्यटन वृद्धिदर घट्यो
बेइजिङ, २० साउन -चीनको राजधानी बेइजिङमा विदेशी पर्यटक आगमन बढे पनि समग्र पर्यटन आगमनमा कमी आएको छ । चालू वर्षको पहिलो छ महिनामा त्यहाँ २५ लाखभन्दा धेरै पर्यटक हङकङ, ताइवान, मकाओलगायतका चीन स्वशासित भूभागबाट घुम्न आए पनि वृद्धिदर भने कम भएको छ । पहिलो त्रैमासमा ९.१ प्रतिशतले बढेको पर्यटन आगमन दोस्रो त्रैमासमा १ प्रतिशतले मात्र बढ्दा पर्यटन आगमनको औसत दर ४.२ प्रतिशतमा सीमित भएको हो ।
बेइजिङ पर्यटन बोर्डले वर्षको दोस्रो छ महिनाको अवधिमा पनि देशमा पर्यटन आगमन अपेक्षा गरिएभन्दा कम हुने बताएको छ । पहिलो अर्धवार्षिक अवधिकै निरन्तरता दोस्रो अर्धवार्षिक अवधिमा पनि देखिने बोर्डको भनाइ छ ।
बोर्डका निर्देशक लु योङले राजधानीमा पर्यटन आकर्षित गर्न नयाँ कार्यक्रम ल्याउनु आवश्यक भएको बताइएका छन् । पर्यटन प्रवद्र्धनका लागि नयाँ नीतिसमेत आवश्यक भएको उनको भनाइ छ । ऐतिहासिक महत्वका क्षेत्र तथा विभिन्न राम्रा तथा मनमोहक क्षेत्रमा विदेशी पर्यटन आकर्षित गर्ने उपायका बारेमा अध्ययन हुनु आवश्यक भएको उनले बताए ।
अधिकारीहरूका अनुसार ग्रेट वाल भएको बाडालिङ क्षेत्रमा मात्र ३ लाख २० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो दर गत वर्षको समान अवधिको तुलनामा ६.७ प्रतिशतले धेरै हो । यो क्षेत्रमा भ्रमण गर्ने पर्यटकमध्ये धेरै पर्यटक हङकङ, ताइवान तथा मकाओबाट घुम्न आएका देखिन्छन् ।
पर्यटन बोर्डका अनुसार एसियाली क्षेत्रका पर्यटकमात्र ४८.५ प्रतिशत रहेको छ । यो क्षेत्रबाट बेइजिङ भ्रमण गर्नेको संख्या १.९ प्रतिशतले मात्र बढेको छ । त्यस्तै युरोपेली क्षेत्रबाट २५.१ प्रतिशत पर्यटक पुगेका छन् । यो क्षेत्रको वृद्धिदर पनि वार्षिक ८.५ प्रतिशत छ । अमेरिकाबाट भ्रमणका लागि जाने पर्यटकको संख्या २०.५ प्रतिशत छ ।
विश्व अर्थतन्त्रमा आएको कमी तथा बजेट घाटाको दरसमेत बढ्दै गएकाले पर्यटक आगमनमा कमी आएको तथा यसका अतिरिक्त बढ्दो कर्जा संकट तथा बेरोजगारी समस्याले समेत पर्यटक आगमनमा असर गरेको पर्यटन बोर्डको भनाइ छ । विभिन्न विकसित देशको आर्थिक अवस्थासमेत यसको कारक रहेको बोर्डले जनाएको छ ।
यद्यपि चिनियाँ युआनको विनिमय दर कमजोर बन्दा पर्यटक आगमनमा केही सहजता प्रदान गरेको बोर्डले उल्लेख गरेको छ । बोर्डले मुद्रा कमजोर बन्दा पर्यटकको प्रमुख गन्तव्यको चीन बनेको दाबी गरेको छ ।
बोर्डका अनुसार यो अवधिमा विदेशी पर्यटक गत वर्षको समान अवधिको तुलनामा ६९.२ प्रतिशतले बढेर १२ लाख पुगेका छन् ।
बोर्डले आन्तरिक पर्यटक वृद्धि दोस्रो त्रैमासमा पनि जारी रहे पनि विदेशी पर्यटक आगमनमा भने विश्व अर्थतन्त्रको असर तथा रोजगारीको अवस्थाले निर्धारण गर्ने बताएको छ । चीनमा पर्यटन विकासका लागि ७२ घण्टासम्म पनि भिसाबिना नै देश घुम्न सकिने व्यवस्थाको समेत सुरुवात गरिएको छ ।
विश्लेषकहरूले यो कदमले चीनमा विदेशी पर्यटकको संख्या बढाउन ठूलो भूमिका खेल्ने बताएका छन् । उनीहरूले देश घुम्न चाहने विदेशी पर्यटकका लागि तीन दिनको समय पर्याप्त रहेको समेत बताए । बोर्डले ‘कोअर्डिनेसन ग्रुप’सँगको सहकार्यमा यो नीति कार्यान्वयन गरिने बताएको छ ।



