बैंक ग्यारेन्टीमा नक्कली भौचर
हेटौंडा, १८ साउन -बैंक ग्यारेन्टीमा नक्कली भौचर प्रयोग गर्ने एक सेक्युरिटी कम्पनीका सञ्चालक हेटौंडामा पक्राउ परेका छन् । हेटौंडा औद्योगिक क्षेत्रको सुरक्षा गार्डको टेन्डरमा नक्कली भौचर प्रयोग गर्ने रामारोशन सेक्युरिटी सप्लार्यस, काठमाडौंका सञ्चालक कैलालीका दीपक बजगाईं पक्राउ परेका हुन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाले गत वर्ष असोजमा सुरक्षा गार्डका लागि गरेको टेन्डरमा बजगाईले नेपाल बैंक बालाजु शाखाको भौचर प्रयोग गरेर २० हजार १ सय रुपैयाँ बैंक ग्यारेन्टी देखाएका थिए । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका प्रमुख राजकुमार मण्डलले औद्योगिक क्षेत्र व्यवस्थापन केन्द्रीय कार्यालय बालाजुले भौचरबाट रकम दाखिला नभएको जनाएपछि नक्कली भौचर रहेछ भन्ने थाहा भएको बताए । मण्डलका अनुसार बजगाईंले नक्कली छाप प्रयोग गरी कार्यालयलाई झुक्याएका रहेछन् । घटनाबारे जानकारी भएपछि आफूहरूले ६ महिनाअघि मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा उजुरी दिएको मण्डलले बताए ।
लामो समयदेखि सम्पर्क बाहिर रहेका बजगाईले केही दिनअघि सप्लायर्स बिक्री गरेको जनाइएको छ । हरि अधिकारीलाई सप्लायर्स बिक्री गरेपछि नामसारीका लागि हेटौंडा आएको समयमा उनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाइएको हो । “औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाले बजगाईंलाई बुधबार हाम्रो जिम्मा लगाएको हो ।” मकवानपुरका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए । बजगाईंले कर्मचारीहरूलाई उपलब्ध गराउन सहमति गरेको तलबसमेत उपलब्ध नगराएको मजदुरहरूले जनाएका छन् । सप्लायर्समार्फत काम गरेका ८ जना सुरक्षा गार्डलाई दसैंमा तलब उपलब्ध नगराएपछि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाले नै कर्मचारीहरूलाई सहयोग गरेको थियो । अखिल नेपाल टे«ड युनियन महासंघ मकवानपुरका संयोजक रामशरण घिमिरेका अनुसार टेन्डर सम्झौताका क्रममा सुरक्षागार्डलाई मासिक ७६ सय रुपैयाँ तलब उपलब्ध गराउने सहमति भए पनि बजगाईंले ३÷४ महिना बाहेक मासिक ७३ सय रुपैयाँ मात्रै दिएका थिए ।
बजगाईंले सहमति कार्यान्वयन नगरेको, दसंै पेस्की नदिएको र कर्मचारीहरूको एक महिनाको तलबको चेक बुझेर फरार रहेको संयोजक घिमिरेले बताए । “प्रशासन कार्यालयमा बजगाईंलाई कानुनी प्रक्रियाअनुसार कारबाहीको माग गरेका छौैं,” मण्डलले भने । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाले साउनपछि नयाँ टेन्डर गरी सुरक्षागार्ड राखिसकेको छ । औद्योगिक क्षेत्र कार्यालयको सुरक्षागार्डको टेन्डर गोर्खा योद्धालाई परेको जनाइएको छ ।



