भाडाको राजधानी

वर्ग: अर्थरंग
मिति: Wednesday,15th August 2012 22:53 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameतनहँु मनपाङका गणेश रानाले न्युरोडको भित्री गल्ली महाबौद्धमा एउटा सामान्य सटर ३ लाख २३ हजार तिरेर किने । भरी सामानसहित उनले पसल किनेका होइनन् । डेकोरेसनका लागि पनि खर्चिनुपरेको होइन । खाली सटर किन्न उनले यति धेरै रकम बुझाएका हुन् । राना भन्छन्, “गुडविल र लोकेसनका लागि यो लगानी प¥यो ।”
भदौको पहिलो सातादेखि चाइनिज जिन्सको होलसेल पसल गर्ने अन्तिम तयारीमा रहेका रानाले २३ हजार त विचौलियालाई मात्रै दिनुप¥यो । स्थानीय महर्जन थरका व्यक्तिबाट सटर किनेपछि उनले थप १० लाख लगानी गरी पसल तयार गरेका छन् । उनले सटरबापत मासिक ३५ हजार तिर्ने कबुल गरेका छन् ।
करिब ४० लाख मानिस र ३ लाख ६० घर भएको काठमाडौं खाल्डो धेरैलाई रहरको सहर लाग्छ । सपना बुन्नेदेखि विपना लुट्नेसम्मको रहर बिस्तारै कर बन्दै जान्छ । र, थपिँदै जान्छन् मान्छे । बर्सेनि हजारौं बसाइसराइ गर्छन् काठमाडौंमा । विद्यार्थी, जागिरेदेखि व्यवसाय सञ्चालन गर्नेहरूका लागि काठमाडौं सुरुमा रहर र पछि करको सहर बन्छ ।
काठमाडौंमा सामान्य पसल गर्नेदेखि ठूला–ठूला व्यवसाय गर्नेका लागि सटरकथा नौलो छैन । सटर भाडा र स्पेस (ठाउँ) को स्क्वायर फिट जोडघटाउले व्यवसायमात्र मारमा छैन, सोझै उपभोक्ताको ढाड पनि सेकाएको छ ।
राजधानीको प्रमुख व्यापारिक केन्द्रदेखि कुनाकाप्चासम्म सटर तथा घरभाडा अहिले धान्नै नसक्ने गरी बढेको छ । पुराना व्यवसायी सटर भाडाकै कारण विस्थापित भए पनि नयाँ–नयाँ व्यवसायी आउने क्रम बढेपछि भाडा उकालो लाग्दै गएको हो । उच्च र तीव्र प्रतिस्पर्धाका कारण व्यवसायमा मन्दीमा छाएको छ तर भाडा भने बर्षेनि थपिँदै छ । व्यवसायी साझा गुनासो गर्छन्, “सटर मालिक धनी हुँदै गए, हामी गरिब ।”
राजधानीको ‘कर्पाेरेट हब’ मानिने दरबारमार्ग, न्युरोड, ठमेलको सटर भाडा सुन्नेहरू पहिले जिब्रो टोक्छन् । खिचापोखरी, सुन्धारा, बानेश्वर, लाजिम्पाट, गोंगबुजस्ता क्षेत्रमा जिब्रै टोक्नुपर्ने अवस्था नभए पनि धेरैले भाडा लिने आँट गर्दैनन् । यी क्षेत्रमात्र होइन, काठमाडौंका भित्री र बाहिरी हरेक क्षेत्रमा भाडादर अकासिँदो छ । ‘अवैज्ञानिक’ रूपमा बढिरहेको भाडादरलाई समायोजन गर्न व्यापारीले वस्तुको मूल्यमा मार्जिन (नाफा) धेरै राख्न थालेपछि त्यसको प्रत्यक्ष असर उपभोक्तालाई परेको छ ।
व्यापार गर्न चाहनेहरू थपिएका छन् । ग्राहक बाँडिएका छन्, व्यापार घटिरहेको छ । तर, सपिङ कम्प्लेक्सको भित्री भाग होस् या मलको मुख्य आउटलेट नै– भाडादर समान प्रतिशतले बढेको छ ।
दरबारमार्गस्थित शेर्पा मलको भित्री भागमा सीके टप क्लास सञ्चालन गरिरहेका मनोज जोशी भन्छन्, “तीन वर्षअघि मैले पसल सुरु गर्दाको भाडा अहिले सय प्रतिशतले बढिसक्यो तर व्यवसाय बढेन । अहिले मुस्किलले भाडा तिर्नसक्ने मात्र व्यवसाय छ ।” किकर, डाक्टर मार्टिनलगायत ब्रान्डका जुत्ता बेच्ने जोशीको चिन्ता छ– पसल थपिएका छन्, ग्राहक बाँडिएका छन्, व्यापार ‘बियरिस ट्रेन्ड’मा छ ।
दरबारमार्गको भित्री क्षेत्रमा प्रतिस्क्वायर फिट १ सय १० देखि १ सय ५० र सडकछेउका सटरमा ४ सयदेखि १ हजारसम्म भाडा छ । स्पेस बढी लिनेले ५ लाखदेखि १० लाखसम्म मासिक भाडा तिर्छन् ।  दरबारमार्गमा विश्वविख्यात ब्रान्डका आउटलेट खुल्ने क्रम बढ्नु, चेन रेस्टुराँ खुल्नु, कूटनीतिक व्यक्तित्वको रोजाइ पर्नुले पनि यहाँका सटर महँगा बन्दै गएका छन् ।
दरबारमार्गमात्र होइन, टुरिस्ट हब भनिने ठमेलमा पनि भाडाको कुनै सीमा छैन । त्यहाँ २० हजारदेखि ५ लाखसम्म सटर भाडा छ । थान्का, हस्तकला सामग्री, विभिन्न पहिरन, रेस्टुराँ तथा होटल बढी रहेको ठमेलमा पर्यटकलाई नै लक्षित गरेर धेरै पसल खुलेका छन् । ट्रेकिङ जाँदा लगाउने पहिरन बेच्ने थर्डपोलका प्रोप्राइटर दीपक आचार्य भन्छन्, “व्यापार हेरी–हेरी हुन्छ, कतै राम्रो, कतै नराम्रो तर भाडाको सीमा छैन । सामान्य सटरको पनि २० हजार छ । म आफैं सामान्य सटरको ४५ हजार तिर्छु । यहाँ ५ लाखसम्म भाडा तिर्र्नेहरू पनि छन् ।”
न्युरोडस्थित पिन्ट्सको भाडादरमा ३ सय प्रतिशत वृद्धि भएपछि पाँच महिनाअघि त्यहाँका व्यापारीले सटर छाडेका थिए । सञ्चालक दुर्गेशमान सिंहले भाडादर १५ वर्षअगाडिको भएकाले बढाउनुपर्ने बाध्यता सुनाएपछि व्यापारीले सटर छाड्दा पिन्ट्स खाली भएको थियो । अहिले नयाँ व्यापारीले फेरि नयाँ व्यवसाय सुरु गरेका छन् । अहिले त्यहाँको भाडादर २ सयदेखि ३ सय ५० रुपैयाँ स्क्वायर फिट छ । यो क्षेत्रका अरु पसलको भाडादर पनि पिन्ट्सकै अनुपात वा त्योभन्दा पनि महँगो छ । यो क्षेत्रमा ३ लाखदेखि १० लाखसम्म भाडा तिर्ने व्यापारी छन् ।
सिभिल मल, सिटी सेन्टर, काठमाडौं मल, पिपल्स प्लाजा, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, विशाल बजारलगायतका मलमा पनि भाडा महँगो रहेको व्यापारी गुनासो गर्छन् । यी मलमा एउटा सटरको भाडा ६० हजारदेखि १ लाख ८० हजारसम्म रहेको उनीहरू बताउँछन् ।

घरभाडा पनि उस्तै
सटरमात्र होइन, कोठा÷फ्ल्याट लिएर बस्नेहरूका लागि पनि भाडा आतंक छ । प्रत्येक वर्ष घरधनीले प्रतिशतका आधारमा घर भाडा बढाउँदै लगेका छन् । तर, भाडाअनुसार सेवा–सुविधा नभएपछि डेरावालले आ–आफ्ना ‘सर्कल’मा गुनासो र्छन् ।
“बिजुली, पानी, शौचालयलगायत आवश्यक र न्यूनतम सेवा–सुविधा छैन तर भाडा भने बढिरहेको छ,” मनुमैजूमा डेरा गरी बस्ने प्रमिला अर्याल भन्छिन्, “यो त आतंक मच्चाउने काम हो ।”
बनस्थली ढुंगेधारामा डेरा गरी बस्ने सरस्वती शर्मालाई घरधनीले एक हप्ताको अल्टिमेटम दिएर कोठा खाली गर्न भनेका छन् । महिनौअघि नै सर्ने मनस्थितिमा रहेकी सरस्वतीले एक हप्तामै कोठा पाउन गाह्रो रहेको बताइन् । कोठा खोज्दा नपाएपछि हैरान देखिएकी उनले भनिन्, “सम्झौताबिना बस्दा दुःख पाइयो ।”
राजधानीमा कोठाभाडा बस्दा न्यूनतम एउटा कोठाको २ हजारदेखि फ्याल्ट (दुई कोठा र एक किचेन)को १२ हजारसम्म पर्छ ।
नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका अध्यक्ष यमनाथ पौडेल घर तथा सटर भाडा वैज्ञानिक नहुँदा त्यसको असर व्यापारी, सेवाग्राही तथा उपभोक्तालाई परेको बताउँछन् । “नेपालमा घरभाडासम्बन्धी कुनै कानुन नभएकाले घरधनीले जभाभावी भाडा बढाइरहेका छन्,” उनले भने, “पछि कानुन बन्यो भने भाडा बढाउन नपाइने भन्दै घरबेटीले संक्रमणकालको फाइदा उठाएका छन् ।”
भाडाको सटरमा औषधि पसल सञ्चालन गरिरहेका पौडेलले भाडा वृद्धि हुँदा उपभोक्तालाई असर पर्ने स्वीकार्छन् । “हामीले खर्च धान्न पनि सेवा तथा वस्तुमा मूल्य बढाउनुपर्छ र बढाइरहेका छौं,” उनले भने, “व्यवसायीबीच अस्वस्थ्य प्रतिस्पर्धा हुँदा पनि भाडा बढेको हो ।”
बसिरहेको व्यवसायीलाई अर्काे व्यवसायीले बढी भाडा दिने भन्दै निकाल्न लगाउने गरेको पीडा उनले पनि भोगेका छन् । तर, जुन रूपमा भाडा बढेको छ, त्यसअनुसार घरधनीले बहाल कर नतिरेको उनले बताए ।
 

  • सम्बन्धित समाचार
Comments