भारतीय चिया उत्पादनमा कमी
कोलकाता, १८ साउन - मौसम अनुकूल नहुँदा भारतमा चिया उत्पादन घटेको छ । चालू वर्षभरि देशका मुख्य चिया उद्योगको उत्पादन लक्ष्यभन्दा धेरै कम हुने अधिकारीहरूले बताएका छन् । पर्याप्त वर्षा नभएपछि मनसुनमा आश्रित चिया उत्पादनले पहिलो त्रैमासमै अप्ठ्यारो स्थिति सामना गरेको हो ।
भारतीय चिया विकास एसोसिएसन (आईटीए)ले चालू वर्षको जनवरीदेखि मेसम्मको अवधिमा मात्र चिया उत्पादन ३ करोड १० लाख किलोले घटेको बताएको छ । उसले जुलाईमा नाटकीय सुधार आउने अपेक्षा गरे पनि तथ्यांक तयार गरिसकेको छैन ।
मुलुकभरका चिया उद्योगले गत वर्षको समान अवधि तुलनामा यो वर्ष निकै कठिन समयको सामना गर्नुपरेको आईटीएले बताएको छ । “गत वर्षको जत्ति नै उत्पादन गरेर देखाउन हाम्रा चिया उद्योगलाई निकै कठिनाइ पर्ने देखिएको छ,” एसोसिएसनका एक अधिकारीले भने ।
भारतीय चिया बोर्डले जनवरीदेखि मेको बीचमा चिया उत्पादन ११.५ प्रतिशत अर्थात् २ करोड ८० लाख किलोले कम भएको जनाएको छ ।
आईटीएको सर्वेक्षणअनुसार उत्तरी भारतमा मात्र चिया उत्पादन ३० लाख किलो कम हुने देखिएको छ । अनुकूल मौसम नहुँदा उत्पादनमा ह्रास आएको सर्वेक्षणमा भनिएको छ । तर, साना तथा ठूला दुवै उत्पादकको संयुक्त रूपमा मूल्यांकन गर्ने हो भने उत्पादन बढ्ने अधिकारीहरूको भनाइ छ ।
उनीहरूले अगस्ट र सेप्टेम्बरमा चिया उत्पादन उच्च रूपमा बढ्ने भएकाले समग्र वार्षिक उत्पादनमा सुधार आउने अपेक्षा गरेका छन् । समयमै वर्षा तथा चियाका लागि अनुकूल मौसम भए चिया उद्योगले सुधार देख्ने उनीहरू बताउँछन् । यी दुई महिनामा मौसम सुधार हुने अपेक्षा छ । विश्लेषकहरूले भने दुई महिनामा उत्पादन बढे पनि समग्र सुधार हुनेमा भने शंका व्यक्त गरेका छन् ।
यसअघि भारत सरकारले चालू लन्डन ओलम्पिकमा समेत भारतीय चियाको प्रवद्र्धन गर्ने निर्णय गरेको थियो । ओलम्पिकका बेला चियाको माग बढ्ने भन्दै सरकारले आफ्ना उत्पादनको प्रवद्र्धनमा जान उद्योगहरूलाई प्रोत्साहित गरेको थियो ।



