भियतनाम व्यापार नाफाको अवस्थामा
हनोइ, १७ साउन -भियतनामको कृषि, वन जंगल तथा सिफुडको निर्यात व्यापार पहिलो पटक नाफामा गएको छ । गएको सात महिनामा त्यहाँका निर्यात १२.४ प्रतिशतले बढेर १५ अर्ब ९० करोड डलरबराबर पुगेको छ ।
यही अवधिमा देशमा आयातका लागि ९ अर्ब ५० करोड डलर मात्र खर्च भएको छ । आयातको तुलनामा निर्यात व्यापार उच्च हुँदा ६ अर्ब ४० करोड डलर व्यापार नाफा भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।
यो अवधिमा कृषिक्षेत्रको निर्यात ८ अर्ब ९० करोड डलरबराबरको भएको छ । यो क्षेत्रको व्यापार ९.१ प्रतिशतले बढेको जनाइएको छ । त्यस्तै सिफुडको व्यापार ६.५ प्रतिशतले बढेर ३ अर्ब ४० करोड डलरबराबरको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै वन जंगलका सामग्रीको निर्यात सात महिनाको अवधिमा २१.६ प्रतिशतले बढेर २ अर्ब ७० करोड डलर बराबरको भएको उल्लेख गरिएको छ ।
मन्त्रालयले यो वर्षको अन्त्यसम्मा देशको व्यापार २६ अर्ब ५० करोड डलर पु¥याउने लक्ष्य राखेको छ ।
कृषिक्षेत्रमध्ये १२ लाख टन कफी निर्यातबाट २ अर्ब ५० करोड डलर आर्जन भएको छ । कफीको निर्यात ३१.६ प्रतिशतले बढ्दा आम्दानी पनि २५.४ प्रतिशतले नै बढेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यो अवधिमा जर्मनीमा निर्यात हुने कफी १२.९ प्रतिशतले अमेरिका निर्यात हुने कफी १२.४ प्रतिशतले बढेको छ । इन्डोनेसियामा पनि भितनामी उत्पादित कफीको माग उच्च रूपमा वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो सात महिनाको अवधिमा चिया ७३ हजार टन निर्यात भएको थियो । चिया निर्यातबाट १० करोड ८० लाख डलर आम्दानी भएको मन्त्रालयले जानकार िदिएको छ । यो अवधिमा चिया ५.९ प्रतिशत तथा त्यसबाट प्राप्त हुने आम्दानी ४.२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा भियतनामको सबैभन्दा ठूलो चिया आयातकर्ता पाकिस्तान बन्न सफल भएको छ । पाकिस्तानमा मात्र १९.२ प्रतिशत चिया निर्यात भएको थियो ।
यस्तै, काजु तथा कागजको निर्यात पनि अग्रस्थानमा छ । १ लाख २० हजार टन काजुको निर्यात भएको छ, जसबाट ८२ करोड ८० लाख आम्दानी भएको मन्त्रालयले जनाएको छ । काजुको निर्यातदर ३६.५ प्रतिशतले बढेको छ भने आम्दानी १९.२ प्रतिशतले बढेको छ । भियतनाम काजुको निर्यातमा विश्वकै अग्रस्थानमा रहेको छ ।
काजुको सबैभन्दा ठूलो बजार अमेरिका हो, त्यहाँ मा २८.३ प्रतिशत काजु निर्यात हुने गरेको छ । त्यस्तै दोस्रो स्थानमा पर्ने चीनमा १७.८ प्रतिशत काजु निर्यात हुने गरेको छ भने तेस्रो स्थानमा रहेको हल्यान्डमा १२.२ प्रतिशत काजु निर्यात हुने गरेको छ ।
त्यस्तै ५४ करोड ६० लाख डलरबराबरको ८० हजार टन कागज निर्यात भएको छ ।
युरोजोनको अस्थिर आर्थिक अवस्थाका कारण त्यस क्षेत्रमा हुने निर्यात व्यापारमा भने गिरावट आए पनि क्यानाडा, फिलिपिन्सजस्ता देशबाट हुने मागमा वृद्धि भएको छ । चीनमा पनि भियतनाममा उत्पादन हुने वस्तुहरूको निर्यात बढेको छ । यो सात महिनाको अवधिमा देशको निर्यात व्यापारमा भएको वृद्धि गएका पाँच वर्षयताको समान अवधिको तुलनामै उच्च भएको बताइएको छ ।



