मनै लोभ्याउने हलेसी
प्रसिद्ध ‘हलेसी गुफा’ पूर्वीनेपालको खोटाङमा सदरमुकाम दिक्तेलदेखि करिब नौ कोस पश्चिम महादेवस्थान गाविसमा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा छ । किरात, बौद्ध तथा हिन्दू धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ (मलाथुम्की) र रुपाकोटजस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित छ ।
इतिहासकारका अनुसार नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत ः महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् ।
महादेव गुफा
महादेवस्थान–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई महादेव गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाविसको नाम महादेवस्थान रहन गएको हो । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंम्वदन्ती छ । यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्तिलगायतका विशेष महत्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् ।
बसाह गुफा
महादेव गुफादेखि करिव सय मिटर पश्चिमतिर करिब २ सय २० फिट लामो र ५० फिट चौडाइमा फैलिएको बसाहा गुफा छ । एकैपटकमा सयौं जना मानिस सजिलै भित्र–बाहिर गर्न सकिने यस गुफाबाट करिब २ सय १० फिटभित्र प्रवेश गरेपछि खुला र उज्यालो समथर भूभागमा पुगिन्छ । जहाँ चट्टानको प्वालबाट खुला आकाश देख्न सकिन्छ । त्यस ठाउँको पश्चिमी कुनाबाट हात थापेर महादेवसँग दूध माग्ने प्रचलन छ । दूध माग्दा भाग्यमानीको हातमा दूध र अभागीको हातमा पानी झर्ने विश्वास गरिन्छ ।
त्यस्तै सोही ठाउँदेखि उत्तरी दायाँ कुनामा हात्तीको सुँडमा गणेशको मूर्ति छ । बसाहा गुफामा नन्दी भृंगीको मुर्ति, गौरीशंकर, गोमन सापलगायतका प्राकृतिक मूर्ति पनि छन् ।
भैरव गुफा
महादेव गुफादेखि करिब ३० मिटर पूर्वतिर आकर्षक भैरव गुफा छ । यस गुफाको पनि आफ्नै महत्व र विशेषता छ । महादेवलाई भष्मासुर राक्षसबाट बचाउन पार्वतीको रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । पार्वतीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरवब गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ ।
त्रि–धार्मिक स्थल
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थलमध्ये एक हो । प्राग्ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ । यहाँ बर्सेनि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बुलगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् ।
अर्कातिर हिन्दू धार्मिक किंम्वदन्तीअनुसार सत्ययुगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे । भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने । तर, वरदान पाएपछि बकासुरले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए । त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ ।
त्यस्तै, बौद्ध धर्मअनुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो । त्यसैले पनि यहाँ बर्सेनि किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् ।
यस क्षेत्रमा किरात धर्मगुरु फाल्गुनन्द, बौद्ध धर्मगुरु टुकुपेमा वाङगेल रिम्पोछे र हिन्दू धर्मगुरु शंकराचार्यसमेतको आगमन भइसकेको छ । ०४४ सलाताका तत्कालीन भुटानी राजा जिग्मे सिग्मे वाङचुगसमेतको हलेसीमा आगमन भइसकेको छ ।
यहाँ बर्सेनि रामनवमी, महाशिवरात्रि, बालाचतुर्दशी, तीज, हरिबोधनी एकादशी, उभौली–उधौलीलगायतका अवसरमा हप्तौं दिनसम्म मेला लाग्छ । हलेसीधाम पुग्नका लािग हवाईमार्ग र धावनमार्ग दुवैको राम्रो सुविधा छ ।
पूर्वको पशुपति
पूर्वको पशुपतिनाथको नामले परिचित हलेसी मन्दिरको उचित प्रचारप्रसार एवं संरक्षण संवद्र्धनमा सरोकारवालाको ध्यान भने पुग्न नसकेको स्थानीय बताउँछन् । हलेसीको संरक्षण तथा व्यवस्थापनका लागि संस्कृति मन्त्रालयमातहतको हलेसी विकास समितिका साथै नेपाल गुठी संस्थानबाट स्वीकृति प्राप्त हलेसी महादेव मन्दिर व्यवस्थापन समितिहरू छन् । तर, विडम्बना हलेसीसम्बन्धी एउटा वृत्तचित्र निर्माण, मन्दिर परिसर घेराबारा र केही सिँढीको पुनर्निर्माणबाहेक अन्य ठोस काम भएको छैन ।
मन्दिर वरिपरि हस्तक्षेप बढिरहेको छ । गुठीको जग्गा स्थानीयले उपभोग गरिरहेका छन् । फोहोरमैलाको उचित व्यवस्थापन छैन । सार्वजनिक शौचालय छैन । तीर्थयात्री र पर्यटकका लागि उपयुक्त आवास गृह छैन । बरु संरक्षण लागि खडा गरिएको हलेसी विकास समिति नै राजनीतिक भर्तीकेन्द्रको रूपमा विकसित हुँदै गएको छ ।



