माथिल्लो सेतीमा मुआब्जा रकम अपुग
दमौली, ३१ साउन -माथिल्लो सेती जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न रकम अभाव भएको छ । आयोजनाले अधिग्रहण गरेको १ सय ४६ रोपनी जग्गाको मुआब्जा वितरण गर्न करिब ४२ करोड रुपैयाँ आवश्यक पर्ने भए पनि २१ करोड रुपैयाँ मात्र विनियोजन भएको हो ।
गत वर्ष मुआब्जाका लागि अर्थमन्त्रालयबाट ७ करोड र नेपाल विद्युत् प्राधिकरणबाट १४ करोड रुपैयाँ विनियोजन भएको थियो । मुआब्जा वितरणका लागि अझै २१ करोड रुपैयाँ अपुग भएको आयोजना साइड कार्यालय दमौलीका वरिष्ठ सहायक कृष्णचन्द्र भट्टराईले बताए ।
मुआब्जाका वितरणका लागि आवश्यक थप २१ करोड रुपैयाँ विनियोजनका लागि माग गरिएको आयोजनाले जनाएको छ । बजेट निकासा भए यही मंसिरबाट मुआब्जा वितरण गरिने भट्टराईले बताए ।
१ सय ४० मेगावट क्षमताको आयोजनाका निर्माणका लागि एसियाली विकास बैंक (एडीबी), जापानी अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) र युरोपियन इन्भेस्टमेन्ट बैंकले लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् । अपुग रकम भने सरकारले थप्नेछ । आयोजना निर्माणका लागि करिब ४२ करोड डलर (३९ अर्ब रुपैयाँ) लागत अनुमान गरिएको छ । जलाशयले करिब १२० वर्ग किमि क्षेत्रफल ओगट्नेछ ।



