मासिँदै छ यार्चा
भोजपुर, १८ साउन -संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र र करिडोर क्षेत्रमा पाइने यार्चागुन्बु अवैधानिक संकलनका कारण मासिँदै गएको छ । कुटो र भालाको सहायताले संकलन गर्नुपर्ने यार्चाका लागि कोदालो प्रयोग गरिएपछि उत्पादनमा कमी आएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार कोदालोको प्रयोगका कारण यार्चा उम्रने ठाउँको झारजंगल मासिएकाले उत्पादनमा ह्रास आएको हो ।
गत वर्ष कुटो÷कोदालोको प्रयोग गरी गलत तरिकाले संकलन गर्दा यार्चा मासिएको ताम्कुका आङ्तेन्जी शेर्पाले बताए । यार्चा पाइने नागीमा झार नभएकाले यार्चा मासिएको उनको भनाइ छ । “गत वर्ष १० किलोग्राम यार्चा संकलन भएको क्षेत्रमा यो वर्ष एक किलो पनि पाइएन,” उनले भने । कोदालो प्रयोगका कारण झार र यार्चाका लार्भासमेत मरेपछि मासिएको हो ।
३ हजार उचाइको हिमरेखाआसपासमा पाइने यार्चा मकालु बरुण राष्ट्रिय निकुञ्ज र मकालु हिमाल आधार शिविर क्षेत्रमा पाइन्थ्यो ।
निकुन्जले यार्चा संकलनमा हतियार प्रयोग नगर्न भने पनि बेवास्ता गर्दा यस्तो परिणाम आएको निकुञ्जका कर्मचारी बताउँछन् । उनीहरूका अनुसार हतियारको प्रयोगले झार मासिने र खाल्डा हुने भएकाले यार्चाको पूmल नै मर्छ ।
विगतमा मकालु हिमाल आधार शिविर र निकुञ्ज क्षेत्रका नागी डाँडामा हजारभन्दा बढीको संख्यामा पाल टाँगेर यार्चा संकलन गरिन्थ्यो । “यो वर्ष यी स्थानमा २–४ संकलक पनि छैनन्,” निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष दुर्गाकिरण राईले भने ।
तितेपाती, बुकीपूmल, सोत्तर र उत्तीसमा यार्चाको रूप भएको ढुसी पाइने गरेकाले जिल्लाको यार्चाले बजार लिन सकेको छैन । जिल्लामा उत्पादित अधिकांश यार्चा किमाथाङ्का नाका हुँदै तिब्बत भित्रिने गरेको छ ।
गत वर्ष वन कार्यालयले ६५ किलो र निकुञ्जले करिब सय किलो यार्चा निकासी अनुमति दिएको थियो । जिल्लामा यार्चा संकलन र निकासीमा प्रतिकिलो १३ हजार कर लिने गरिएको छ । यस वर्ष निकासी र संकलन राजस्व शून्य छ ।



