विकासको बाटोमा चिनियाँ कृषि
विश्वकै धेरै जनसंख्या भएको चीनमा जनसंख्याको अनुपातमा खेतीयोग्य जमिन भने पर्याप्त छैन । देशमा कुल क्षेत्रफलको ७ प्रतिशत मात्र भूमि खेतीयोग्य छ । देशभित्र उत्पादित खाद्यान्नको मात्र भर पर्ने हो भने त्यहाँको कुल जनसंख्याको पाँच भागको एक भाग मानिसलाई मात्र खाद्यान्न पुग्ने गरेको छ ।
यसै कारणले विश्वले त्यहाँको खाद्य कार्यक्रमलाई निकै महत्व दिएर हेरिरहेको पाइन्छ अनि चीनको खाद्य कार्यक्रमले सबैको ध्यान पनि तानेको छ । विश्व समुदायले त्यहाँको खाद्यान्न कार्यक्रमप्रति विभिन्न समयमा प्रश्नचिह्नसमेत खडा गर्ने गरेका छन् । यसको जवाफमा चीनका कृषि विशेषज्ञ तथा कृषिसँग सम्बन्धित सरकारी अधिकारीहरूले यस्तो जवाफ दिने गरेका छन्, “हामी हाम्रा जनतालाई खुवाउन आफैं सक्षम छौं ।”
कृषि विकासको नयाँ इतिहास
त्यहाँ कृषिक्षेत्रको तीव्र विकास १९७८ ग्रामीण क्षेत्रबाट सुरु भएको पाइन्छ । ग्रामीण क्षेत्रमा कृषि विकासको गतिलाई विश्वकै नमुनाका रूपमा समेत लिने गरिन्छ । देशमा मानिसहरूलाई पारिवारिक रूपमै यस क्षेत्रप्रति उत्तरदायी बनाउन सरकारी तवरबाट नै प्रेरित गर्ने गरेको देखिन्छ । यसले किसानलाई जमिन प्रयोगमा अधिकार खोज्न सक्रिय गराएको र त्यसले आम मानिसलाई कृषि पेसामा लाग्न अभिप्ररित गरेको देखिन्छ । यसले खेतीपातीलाई व्यवस्थित बनाउन पनि धेरै सहयोग गरेको बताइन्छ ।
कृषिमा मानिसलाई अधिकार खोज्न र काम गर्न अभिप्ररित गरेसँगै त्यहाँ कृषिक्षेत्रको उत्पादन निकै राम्रोसँग फस्टाएको दखिन्छ । स्थानीय कृषकहरूबाट काम हुन थालेपछि देशमा कृषिमा सरकारी एकाधिकारको समेत अन्त्य भएको छ । सरकारले कृषिक्षेत्रमा सहायता प्रदान गर्दै उत्पादन वृद्धि गर्न कृषकलाई सहयोग गरेरै भए पनि कृषिमा मानिसहरूलाई अभ्यस्त बनाउने प्रयत्न ग¥यो ।
कृषिक्षेत्रलाई वृद्धि गर्ने विभिन्न उपाय सोचिरहेको चीन सरकारले यस क्षेत्रलाई निरुत्साहित गर्ने जुनसुकै नीति पनि खारेज गरिदिएको थियो । यसले अन्य व्यवसायमा मन डुलाइरहेका मानिसहरूलाई कृषि पेसामै लाग्न थप हौसला प्रदान ग¥यो । बढ्दो सहरीकरणसँगै थप मानिसहरू त्यतै आकर्षित भइरहे पनि सरकारका विभिन्न सुविधा प्रदान गर्ने नीतिले मानिसहरूलाई कृषिलाई नै आफ्नो पेसा बनाउन धेरै हदसम्म सहयोग गरेको देखिन्छ । यसले उत्पादन वृद्धिमा समेत ठूलो सहयोग गरेको छ ।
सरकारले ग्रामीण कृषिबाट उत्पादन बढाउन देशको ठूलै शक्ति परिचालन गरेको थियो । सरकारी योजना मुख्य गरेर कृषि उत्पादनमा जोड दिनु र सकेसम्म धेरै उत्पादन गर्नु रहेको थियो । सरकारले कृषिक्षेत्रको सुधार गरी उत्पादन वृद्धि गर्नुलाई महत्वकांक्षी रूपमा अगाडि बढाउँदै गएको र सक्षम भएको पनि देखिन्छ । त्यसैले अहिले पनि विश्वका धेरै ठाउँमा चीनको कृषिक्षेत्रको उदाहरण निकै जोडका साथ प्रस्तुत गर्ने गरिन्छ ।
१९९० को दशकमा चीनको कृषि तथा ग्रामीण अर्थतन्त्रको क्षेत्रले निकै ठूलो चुनौतीको सामना गर्नुपरेका थियो । यसले केही समयसम्म उत्पादन क्षेत्रमा शिथिलता समेत देखिएको थियो । तर देशमा विकासको तीव्र लहर चलेकाले यस्तो चुनौतीको सामना गर्न कृषिक्षेत्र पनि सफल बन्यो । सरकारको चलाखीपूर्ण निर्णय र विवेकपूर्ण निर्णय गर्दा र कृषिसँग सम्बन्धित राज्यका यन्त्रहरूलाई सक्रिय बनाउँदै संकटको समयमा पनि उत्पादन बढाउन सरकार सफल बन्यो । सरकारको उक्त कदमले खाद्यान्न वितरणको काममा पनि सहजता प्रदान गर्न सफल बन्यो । त्यसयताको प्रमुख उपलब्धि भनेकै चीनमा हरेक वर्ष खाद्यान्न उत्पादनमा वृद्धि भइरहेको छ र मौज्दात पनि रहँदै आएको छ ।
बढ्दै गएको देशको कृषिजन्य उत्पादन अन्ततः २००४ मा आएर निकै फराकिलो बन्न पुग्यो । उक्त अवधिमा मात्र खाद्यान्न उत्पादन ४ अर्ब ६९ करोड ४७ लाख टन उत्पादन हुन पुग्यो । यसले देशमा कृषि मौज्दात आउँदा पाँच वर्षसम्मलाई सहज बनाइदियो । त्यहाँ हाल अन्नबाली, कटन, तेलजन्य उत्पादन, फलफूल, मासु, अण्डा तथा समुद्रिक उत्पादन र तरकारीको उत्पादन धेरै हुँदै आएको छ । यसका अतिरिक्त देशमा खेतीयोग्य जमिन तथा त्यस्तो जमिनमा सिँचाइ सुविधासमेत बढ्दै गएको छ । यद्यपि बढ्दो सहरीकरणको प्रभाव बढ्दै जाँदा खेतीयोग्य जमिनको अनुपात विगत पाँच वर्षमा केही कम भएको देखिन्छ भने उत्पादन भने बढ्दै गएको छ ।
कृषि उत्पादन अनुपात खेतीयोग्य जमिन
वर्ष उत्पादन परिमाण (हजार टनमा) वर्ष जमिनको क्षेत्रफल हजार हेक्टरमा
२००९ १६९८७.०० २००९ १२१७१५
२००८ १६०८६ २००८ १२१७३५
२००७ १५०३० २००७ १२१७७५
२००६ १३८५९ २००६ १२२०६७
२००५ १३०३२ २००५ १२२४४४.३०
स्रोतः अमेरिकी कृषि विभाग
कृषिमा औद्योगीकरण
पछिल्ला वर्षहरूमा त्यहाँ कृषिक्षेत्रमा अर्बौं युआन खर्च भएको छ जसले कृषिलाई औद्योगीकरणमा जोड दिएको छ । यो कदमलाई चीनमा कृषिक्षेत्रको गुणात्मक विकासका लागि चालिएको एक प्रमुख कारण मानिने गरिएको छ । २००४ मा मात्र सरकारले कृषिक्षेत्रको विकासका लागि ३५ कृषिजन्य कार्यक्रम अगाडि सारेको थियो । यसका लागि मात्र केन्द्र सरकारले ३० अर्ब युआन खर्च गरेको थियो भने स्थानीय सरकारहरूले पनि ५ करोड युआनभन्दा धेरै रकम खर्च गरेका थिए । त्यस्तै १० करोड युआन स्थानीय बैंकहरूमार्फत कर्जा लगानी गरिएको थियो भने ६० करोड युआन किसानहरूबाटै संकलन गरी खर्च गरिएको थियो ।
अहिले भने अवस्थामा केही परिवर्तन आएको छ । ५ सय ८२ राष्ट्रिय संघसंस्थाहरू कृषिक्षेत्रको विकासमा संलग्न छन् । यस्ता संघ–संस्थाहरू प्रान्तीय क्षेत्रमा २ हजारभन्दा धेरै छन् । उनीहरूले उत्पादनमा आधारित विभिन्न कार्यक्रमहरू कृषकहरूसमक्ष पु¥याउने गरेका छन् । यस्ता संस्थाहरूले स्थानीय स्तरमा दुग्ध संकलन केन्द्र, कुखुरा पालन केन्द्रजस्ता विभिन्न योजनामार्फत स्थानीय स्तरसम्म पुग्ने गरेका छन् । यस्ता ससाना केन्द्रहरू साना उद्योगका रूपमा स्थापित बन्दै गएका छन्, जसले देशको कृषिक्षेत्रको विकासमा सहयोग पु¥याएका छन् । यसले किसानलाई आफ्ना उत्पादनको उचित मूल्यसमेत प्रदान गर्न सहयोग गरेको छ ।
२००३ यता चीनमा विभिन्न ६ किसिमका कार्यक्रममार्फत विभिन्न स्थानमा प्रदर्शनी कक्ष बनेका छन्, जसले चीनमा कृषिसँग सम्बन्धित प्रविधिको प्रयोगमा सहयोग पु¥याएको छ । आधुनिक प्रविधिको प्रयोगले देशमा कृषि उत्पादनमा वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनको निर्यातबाट विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुगेको छ ।
प्रविधिको योगदान
चीनमा धानको उत्पादनमा धेरै वृद्धि भएको छ । वैज्ञानिक युआन लोङपिङले ‘हाइब्रिड’ जातको धान बीउ पत्ता लगाएपछि धानको उत्पादनमा धेरै वृद्धि भएको हो । उनलाई अन्तर्राष्ट्रिय रूपमा समेत हाइब्रिड धानका पिता (फादर अफ हाइब्रिड) भनेर समेत चिनिन्छ । उनलाई चीनको कृषिसम्बन्धी इतिहास पुनर्लेखन गर्न सफल व्यक्तिका रूपमा समेत चित्रण गरिन्छ । उनले नै धानको खेतीमा जोड दिई उत्पादन वृद्धि गर्न सहयोग गरेका थिए । त्यहाँ २० औं शताब्दीमा खेतीपातीभन्दा पनि व्यवसायमा लागेका व्यक्तिहरूलाई खेतीप्रति आकर्षित गर्न सफल भएको रूपमा समेत उनलाई लिने गरिएको छ ।
२००३ मा लोङपिङले हाइब्रिड जातको धानको प्रयोगबाट उत्पादनमा गरिएको वृद्धिसम्बन्धी विस्तृत अध्ययन सार्वजनिक गरेका थिए । उनले आफ्नो परिक्षण दुई साना धान खेतमा गरेका थिए । उत्पादन बढाउन सफल बनेको कुरा पनि त्यही खेतबाट सार्वजनिक गरेका थिए । उनले स्थानीय खेतमा प्रतिहेक्टर पहिलोमा १२ हजार १ सय १२ तथा दोस्रोमा १२ हजार २ सय ६१ किलो धान उत्पादन गरेर प्रमाणित गरिदिए । थोरै क्षेत्रफलमा पनि धेरै धान उत्पादन गर्न सफल लोङपिङले चीनको कृषिक्षेत्रको विकासमा धेरै ठूलो योगदान गरेका छन् । यसै क्षेत्रमा अनुसन्धानमा लागेका उनले २००८ मा प्रतिहेक्टर १३ हजार ५ सय किलो फल्ने नयाँ जातको हाइब्रिड धान उत्पादन गरेका छन् । यसले देशमा ‘सुपर क्लास हाइब्रिड’ धान उत्पादनमा समेत जोड दिएको छ ।
यति मात्र नभई चीनमा कृषिक्षेत्रको वैज्ञानिक विकास गरी उत्पादन बढाउने विषयमा सरकारी योजनाले समेत राम्रोसँग काम गरेको देखिन्छ । सरकारले वैज्ञानिक खेतीप्रणालीमा जोड दिई उत्पादन वृद्धिमा निकै जोड दियो । ग्रामीण क्षेत्रमा बसोबास गर्ने प्रत्येक परिवारलाई वैज्ञानिक खेती प्रणालीको सम्बन्धमा विभिन्न व्यावसायिक तालिम दिएको पाइन्छ । तालिमका सिलसिलामा उनीहरूलाई कृषि उत्पादन बढाउन र जमिनको सही प्रयोगमा समेत जोड दियो ।
सरकारले ‘स्पार्क प्रोग्राम’, कृषिक्षेत्रको प्रवद्र्धन तथा उत्पादन वृद्धिसम्बन्धी तालिम, कृषिको महत्व, भावी योजना, योजनाबद्ध खेती प्रणालीजस्ता विषयमा ग्रामीण भेगका कृषकलाई तालिम दिएको थियो । सरकारले ‘बम्पर हार्भेष्ट प्लान’, ‘प्राइरी फाएर प्रोग्राम’ जस्ता कामर्यक्रम अगाडि सारेर कृषिक्षेत्रको विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्यो ।
योजनाबद्ध रूपमा अगाडि सारिएको सरकारका विभिन्न किसिमका कार्यक्रमहरूले खेतीगर्ने तौर तािरकामा समेत फरक ल्यायदिएको छ । आधुनिक खेती प्रणालीका बारेमा कृषकहरू धेरै जानकार बनिसकेका छन् । यसले पनि कृषि उत्पादन बढाउने सरकारी लक्ष्य भेट्टाउन निकै सहयोग गरेको देखिन्छ । पुरानो पद्धतिबाट भन्दा आधुनिक तथा नयाँ पद्धतिबाट खेती गर्दा उत्पादन बढेकोे छ भने किसानहरूलाई खेती गर्न सजिलोसमेत भएको छ ।
(एजेन्सीहरूको सहयोगमा)



