विद्युतीय पोर्टल सञ्चालन
काठमाडौं, ३१ साउन - सरकारले व्यावसायिक अनुमतिसम्बन्धी अद्यावधिक सूचना तथा विवरणसहितको विद्युतीय पोर्टल सञ्चालन गरेको छ ।उद्यम–व्यवसाय गर्न चाहनेहरूका लागि एकैस्थानबाट विभिन्न निकायले प्रदान गर्ने दर्तादेखि अनुमतिसम्मका प्रक्रियागत सूचना समावेश गरिएको पोर्टलको आज यहाँ वातावरण, विज्ञान तथा प्रविधिमन्त्री डा केशवमान शाक्यले शुभारम्भ गरे ।त्यस अवसरमा उहाँले सूचना–प्रविधिको अधिकतम उपयोगबाट लाभ लिन सक्नुपर्नेमा जोड दिँदै वैदेशिक लगानी आकर्षित गर्न पोर्टल सहयोगी हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव जयमुकुन्द खनालले व्यावसायिक अनुमतिसम्बन्धी अद्यावधिक सूचना तथा विवरण विद्युतीय माध्यममार्फत एकीकृत तथा व्यवस्थितरूपले उपलब्ध गराउन व्यावसायिक अनुमतिसम्बन्धी पोर्टल सञ्चालन गरिएको बताए । मुलुकमा कुनै व्यवसाय गर्न प्रचलित कानुनबमोजिम प्रदान गरिने अनुमति, सिफारिस, प्रमाणीकरण, दर्तालगायत १३० वटा व्यावसायिक कार्यको विस्तृत विवरण समावेश गरिएको छ । नेपाली र अङ्ग्रेजी दुवै भाषामा सञ्चालन हुने पोर्टल प्रयोगमैत्री र प्रणालीमा निर्माण गरिएको छ । पोर्टलमा व्यावसायिक अनुमति, त्यस्तो अनुमति खारेज वा रद्दसम्बन्धी जानकारी, व्यावसायिक अनुमति प्राप्त गर्न आवश्यक योग्यता, कागजात तथा दस्तुर, धरौटी, समय, पूरा गर्नुपर्ने प्रक्रिया तथा जिम्मेवार अधिकारीसम्बन्धी जानकारी, अनुमतिको अवधि, नवीकरण, व्यवसाय गर्न पाउने क्षेत्रलगायत सान्दर्भिक सूचना समावेश गरिएको छ । पोर्टलमा व्यावसायिक अनुमति प्रदान गर्ने तथा नियामक निकायक निकायको स्थलगत नक्सासहित विस्तृत विवरण, व्यवसाय गर्दा पाउने सहुलियत, सुविधा वा छुट, व्यावसायिक अनुमतिसम्बन्धी फाराम पनि राखिएको छ । रासस



