वीरगन्ज नाकाबाट इन्धन आयात बढ्यो
वीरगन्ज, २५ साउन -मुलुकमा सवारी साधनको आयात क्रमशः घट्दै गए पनि सवारी साधनमा प्रयोग हुने इन्धनको आयात बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष वीरगन्ज नाकाबाट हाइस्पिड डिजेल, पेट्रोल, एलपी ग्यास जस्ता मुख्य इन्धनको आयात बढेको छ ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष यो नाकाबाट २३ अर्ब ७६ करोडको ४ लाख २ हजार किलोलिटर हाइस्पिड डिजेल आयात भएको थियो । गत आवमा २८ अर्ब ५७ करोडको ३ लाख ६८ हजार किलोलिटर आयात भएको छ । यो अघिल्लो आवको तुलनामा १६ प्रतिशतले बढी हो ।
आव ०६७÷६८ मा ७ अर्ब ५५ करोडको १ लाख ३१ हजार किलोलिटर पेट्रोल यो नाका हुँदै आयात भएको थियो । गत वर्ष ९ अर्ब ९४ करोडको २ लाख ४७ हजार किलोलिटर पेट्रोल आयात भएको कार्यालयले जनाएको छ ।
अघिल्लो वर्षमा यो नाका हुँदै ९ अर्ब ९५ करोडको ७२ लाख ६३ हजार किलो एलपी ग्यास आयात भएको थियो । गत आवमा १३ अर्ब ५६ करोडको १ करोड ३५ लाख किलो एलपी ग्यास आयात भएको छ ।
राजधानीमा टेम्पो चलाउन तथा मुलुकभर खाना पकाउने इन्धनको रूपमा एलपी ग्यासको प्रयोग हुँदै आएको छ । वीरगन्ज नाकाबाट आयात हुने दुई मुख्य वस्तु सवारी साधन र इन्धन नै हुन् । अन्य नाकाको तुलनामा यो नाकाबाट यी दुवै वस्तुको आयात बढी हुने गरेको छ ।
यी दुई वस्तुको आयातबाट मात्र वीरगन्ज भन्सारले संकलन गर्ने राजस्वको झन्डै आधा राजस्व संकलन गर्छ । कार्यालयका सूचना अधिकृत गुणराज सुवेदी सबैखाले इन्धनको आयात बर्सेनि बढ्दै जानुमा बढ्दो उपभोक्ता संस्कृति नै मुख्य कारण भएको बताउँछन् ।



