वे टु वटु
प्रत्येक घर पसल । ओहोर–दोहोर गर्दा मान्छेका कुम ठोकिने साँघुरा गल्ली । ठेला र थाप्लामाथि भारी अनि दुई हातमै पोका समातेर यताउति गरिरहेका व्यापारी । अलि दायाँबायाँ भरियाको बाक्लो भीड ।
महाबौद्धको वटु क्षेत्र जाने जोकोहीले हरेक दिन देख्ने सजीव दृश्य हो यो । बाहिरबाट इन्द्रचोक, न्युरोड, वीर अस्पतालले घेरेको वटु टोल अरु अस्तव्यस्त रहँदा आफू भने सधैं व्यस्त रहन्छ । वटु सधैं हतारमा हुन्छ, जसले काठमाडौंको व्यापार प्रतिनिधित्व गर्छ । लाग्छ– यो क्षेत्रमा भेटिने र देखिने हरेक मान्छे कुनै चिजको व्यग्र खोजीमा छन् ।
देशकै ठूलो एकीकृत होलसेल बजार वटुले मोसफलका हरेक इच्छा–आकांक्षा पूरा गर्छ । वटु धाउनु देशभरका व्यापारीको साझा बाध्यता हो । मोफसलका ठूला तथा साना व्यापारीमात्र होइन, न्युरोड र राजधानीआसपासका व्यापारी पनि धेरथोर वटुमै निर्भर छन् । त्यसैले होलसेल हब हो वटु ।
वटु टोलको व्यापार फैलिएर महाबौद्धको अन्य टोलसम्म पनि पुगेको छ । होलसेल सामानका लागि प्रमुख गन्तव्य मानिने यो क्षेत्रमा आयातीत रेडिमेडदेखि नेपालमै बनेका कपडा, इलेक्ट्रोनिक्स, कस्मेटिक, गिफ्ट तथा खेलौना, जुत्ता–चप्पल, झोलालगायत फेन्सी सामानका ५ हजार पसल छन् । देशका विभिन्न क्षेत्रबाट सामान लिन आउने व्यापारी, भरिया र अन्य ग्राहकले सधैं भरिभराउ देखिन्छ वटु ।
प्रारम्भमा चीनको खासाबाट सामान ल्याएर बिक्री गथ्र्यो वटुले । पछि बसमा सीधै खासाबाट ल्याई सीधै व्यापारीलाई बेच्ने क्रम चल्यो । व्यापार बढ्दै गएपछि र व्यवसायमा प्रतिस्पर्धा चर्किंदै गएपछि अहिले यहाँका व्यापारी सामान हाल्न चीनको गोन्जाओ र आसपाससम्म पुग्ने गरेका छन् । यो क्षेत्रमा चीनबाहेक, भारत, बंगलादेश, हङकङ, फिलिपिन्स तथा सिंगापुरबाट पनि सामान आयात गरिन्छ । सुगम तथा दुर्गम जिल्लाका व्यापारी आफ्नो व्यवसायका लागि चाहिने वस्तु खरिद गर्न यो क्षेत्रमा आउनैपर्छ, किनकि यसले हरेक आवश्यकता पूरा गर्छ । भारतसँग सिमाना जोडिएका सहर तथा विकट हिमाली तथा पहाडी जिल्लाबाट पनि व्यापारी आउने गर्छन् ।
“यो क्षेत्रमा ५ हजारभन्दा बढी पसल छन्, सबै होलसेल हुन् । यहाँका पसलले नै मोफसलका व्यापारीलाई होलसेलमा सामान उपलब्ध गराउँछन्,” महाबौद्धस्थित व्यापारीहरूको संगठन एकता व्यापार संघका कोषाध्यक्ष श्रीकृष्ण श्रेष्ठ भन्छन्, “त्यसैले व्यापारीहरू यहाँ नआई सुखै छैन ।”
महाबौद्धमा विभिन्न पसल भए पनि अधिकांश फेन्सी कपडाका छन् । यसबाहेक इलेक्ट्रोनिक्स, होम एप्लायन्स, खेलौना, किचेन, कस्मेटिक, उपहारका सामानका पसल पनि छन् ।
राधाकृष्ण फेन्सी स्टोर्स जनकपुरका वृज यादव वटुमा दुई दिनदेखि सामान रोज्दै प्याक गरिहेका छन् । जिन्स पाइन्ट र बच्चाको कपडा किन्दै गरेका बेला भेटिएका उनले भने, “भारतीय कपडा उता पाइने भए पनि चाइना र बैंककका रेडिमेड कपडा लिन वटु नआई हुँदैन ।”
यादवजस्तै स्याङ्जा पुतलीबजारका नवीन श्रेष्ठ पनि कस्मेटिक सामान हाल्न सूची हेर्दै अर्डर गर्दै भेटिए । “अहिले अन्तै पनि होलसेल पसल खुलिरहेका छन् तर सुरुबाटै यहाँ आइरहेको छु,” उनले भने ।
विशेषगरी चिनियाँ सामान पाइने महाबौद्धमा अहिले बिस्तारै भारत, बंगलादेश, थाइल्यान्ड, हङकङ, फिलिपिन्स, सिंगापुरका कपडा पनि पाइन थालेका छन् । तर, व्यापारीहरू भने रेडिमेडका लागि आफैं चीनको गोन्जाओ पुगेर सामान लोड गर्छन् । संघका सचिवसमेत रहेका व्यापारी भरत कार्की भन्छन्, “एकपटकमा साना व्यवसायीले २५ लाख र ठूलाले डेढ करोडसम्मका सामान ल्याउँछन् गोन्जाओबाट ।”
यहाँका अधिकांश व्यापारी बाहिरका छन् । उनीहरूले एउटा सटरको १५ हजारदेखि २५ हजार रुपैयाँसम्म भाडा तिर्छन् । जलजला इन्टरप्राइजेजका प्रोप्राइटर मनोहरि सुवेदीका अनुसार स्थानीयभन्दा बाहिरी जिल्लाबाट आएर व्यवसाय गर्ने व्यापारी धेरै छन् वटुमा । “हरेक ठाउँ, प्यासेज तथा घरमा पसल छन्, ठाउँ हेरी–हेरी भाडा निर्धारण छ,” उनले भने, “सामान्य १५ देखि २५ हजारसम्ममा सटर पाइन्छ ।”
होलसेल पसल गर्ने साना व्यवसायीले कम्तीमा ८ लाख सुरु पुँजी लगाएका छन् । ठूला व्यवसायीको भने ५ करोडसम्म लगानी छ । यहाँ औसत एकैदिन ३० करोडभन्दा बढीको कारोबार हुने व्यवसायी बताउँछन् । साना व्यवसायीले दिनमा ३५ हजारदेखि ठूला व्यवसायीले २ लाखसम्म व्यापार गर्ने गरेको श्रेष्ठ बताउँछन् ।
व्यवसायीहरू विभिन्न व्यापार संघ–संस्थामा आबद्ध छन् । यहाँ हिमालय सीमापार वाणिज्य संघ, राष्ट्रिय व्यापार संघ, एकता व्यापार संघ, नेपाल व्यापार संघ, गणतान्त्रिक व्यापार संघलगायत छुट्टाछुट्टै संगठन क्रियाशील छन् ।
वटुको व्यापारले भरियालाई पनि राम्रो इलम दिएको छ । सामान बाहिर पठाउन र बसपार्कसम्म पु¥याउन भरिया प्रयोग गरिन्छ । यो क्षेत्रमा ५ सयभन्दा बढी भरिया छन् । “साहुजीको सामान होटल र बसपार्कसम्म पु¥याएर नै गुजारा चल्ने गरेको छ,” धादिङका रमेश लामा भन्दै थिए, “दूरी हेरेर पैसा लिने गरिन्छ ।”
दोलखाका गणेशबहादुर श्रेष्ठका अनुसार धेरै सामान भए गाडा तथा गाडी नै भाडामा लिएर लैजाउनुपर्ने हुन्छ । “एक दिनमा २ सयदेखि १२ सम्म आम्दानी हुन्छ,” उनले भने ।



