सडकमा गाडी नचल्दा हवाई यात्रु बढे

मिति: Saturday,11th August 2012 22:17 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, २७ साउन -यातायात व्यवसायी राष्ट्रिय महासंघको अनिश्चितकालीन हड्तालले सडकमा सार्वजनिक गाडी नचल्दा हवाई यात्रु बढेका छन् । गन्तव्यमा पुग्न र अत्यावश्यक कामका लागि सर्वसाधारण महँगो भाडा तिर्दै हवाई यात्रा गर्न बाध्य छन् ।
देशभर सार्वजनिक सवारी ठप्प भएपछि राजधानी आउने र जाने यात्रु २५ प्रतिशतसम्म बढेको एयरलाइन्सले बताएका छन् । अन्य दिनमा राजधानी वा बाहिर बन्द हुँदा एकतर्फी यात्रुमात्र बढ्थे । हाल एयरलाइन्सले दुईतर्फी लोड पाइरहेका छन् भने कतिपयले थप उडान गरिरहेका छन् ।
“सवारी साधन नचलेपछि हवाई यात्रु बढ्नु स्वाभाविक हो, हामीकहाँ पनि १० प्रतिशत बढेका छन्,” बुद्ध एयरका वरिष्ठ बजार प्रबन्धक रूपेश जोशीले भने । उनका अनुसार शुक्रबार र शनिबार बुद्धले सिमरा, भैरहवा र जनकपुरमा उडान थपेको छ । “अरु बन्दमा एकतर्फी लोड भई थप उडान गर्ने अवस्था नभए पनि अहिले आवश्यकताअनुसार थप्नुपर्ने भएको छ,” उनले भने । तीन दिन पछिसम्म टिकट पाउन नसक्ने भएपछि सर्वसाधारण महँगो भाडा तिरेर भए पनि यात्रा गरिरहेका छन् ।
यती एयरलाइन्सले पनि अरु बेलाभन्दा अहिले बढी यात्रु पाएको छ । “बन्द नभएको समयमा करिब ३० वटा उडान हुने गरे पनि अहिले बढेर ३६ सम्म पुगेको छ,” यतीका आन्तरिक अपरेसन अधिकृत श्रीधर पोखरेलले भने । उनका अनुसार हाल यतीले सबैभन्दा बढी पोखरा प्रतिदिन पाँच वटा र विराटनगर चार वटा उडान गर्छ । बन्दले भैरहवा, भन्द्रपुर, नेपालगन्ज र धनगढी उडानमा समेत यात्रुको संख्या बढेको उनले बताए ।
यतीको भगिनी कम्पनी तारा एयरले दुर्गम गन्तव्यमा दैनिक ३० वटा उडान गर्दै आएको छ । उसले काठमाडौं र जोमसोमबाट १०–१० तथा नेपालगन्जबाट पश्चिमी पहाडी गन्तव्यमा १० वटा उडान गर्छ ।
दुई जहाजमार्फत माउन्टेन, पोखरा र भैरहवा गन्तव्यमा मात्र उडान गरिरहेको गुण एयरलाइन्सले समेत यात्रु चापका कारण शुक्रबार र शनिबार उडान थपेको बजार व्यवस्थापक प्रज्ज्वल थापाले बताए । उनका अनुसार मौसमका आधारमा मात्र माउन्टेन उडान हुने गरेको छ ।
सुगम र दुर्गम गन्तव्यमा हवाई सेवा पु¥याइरहेका अग्नि र सीता एयरले समेत अरु बेलाभन्दा बढी यात्रु चाप भएको बताएका छन् । मौसम प्रतिकूलताका बीच लुक्ला, जोमसोम र कर्णाली क्षेत्रका पहाडी गन्तव्यमा आंशिक उडानमात्र हुने गरेका छन् ।
हाल बुद्धले ७० सिटको एटीआर–७२ मार्फत सबैभन्दा बढी विराटनगर प्रतिदिन ६ वटा उडान गरिरहेको छ । सिमरामा दैनिक पाँच वटा उडान छन् । माउन्टेन फ्लाइटबाहेक बुद्धले १० गन्तव्यमा दैनिक झन्डै ३० वटा उडान गर्दै आएको छ ।
 

  • सम्बन्धित समाचार
Comments