साढे १७ करोडको तरकारी बिक्री
दमौली, १७ साउन -व्यावसायिक तरकारीखेती गर्ने कृषक बढेपछि तनहुँमा तरकारी उत्पादन तथा बिक्री बढेको छ । पृथ्वीराजमार्गको ७२ किलोमिटर खण्ड र अन्य सहायक मार्ग एवं ग्रामीण सडक निर्माणले कृषिजन्य उत्पादनको बजार ढुवानी सहज भएपछि तरकारीखेतीतर्फ कृषकको आकर्षण बढेको हो ।
तनहुँमा गत वर्ष १७ करोड ५६ लाख ८० हजारको तरकारी बिक्री भएको छ । तनहँुका विभिन्न ठाउँबाट उत्पादित तरकारी जिल्लाबाहिर र भित्रै गरी सो परिमाणमा बिक्री भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डण्डपाणी खनालले जानकारी दिए ।
गत वर्ष तनहुँमा ३ हजार १ सय १५ हेक्टरमा तरकारीखेती गरिएको थियो, जहाँ २८ हजार १ सय २३ मेट्रिक टन उत्पादन भएको हो । कार्यालयका अनुसार गत वर्ष जिल्लामा १ हजार ७ सय ८० हेक्टरमा हिउँदे, १ हजार १ सय हेक्टरमा वर्षे र २ सय ३५ हेक्टरमा बेमौसमी तरकारीखेती गरिएको थियो ।
आर्थिक वर्ष ०६७÷६८ मा ३ हजार १ सय हेक्टरमा तरकारीखेती गरिएकोमा २७ हजार ३ सय २१ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । “तरकारी खेती गर्ने कृषक बढेसँगै उत्पादनमा वृद्धि भएको हो,” खनालले भने ।
कार्यालयले तरकारी बिक्री–वितरणलाई सहज बनाउन जिल्लाका पाँच स्थानमा कृषि उपज संकलन केन्द्र स्थापना गरेको छ । गत वर्ष याम्पा तरकारी संकलन केन्द्रबाट ९ हजार ६ सय ५०, आँबु बरादी संकलन केन्द्रबाट ३ हजार ८ सय ५०, शुक्ला गण्डकी कृषि उपज बिक्री केन्द्रबाट ७ सय ४५, मान्द्रे बजार तरकारी संकलन केन्द्रबाट १ सय ८० र बेलथोक तरकारी संकलन केन्द्र घाँसीकुवाबाट २ सय ४० मेट्रिक टन तरकारी बिक्री भएको छ ।
याम्पाबाट मात्रै ११ करोड ५५ लाख रुपैयाँको तरकारी बिक्री भएको कार्यालयले जनाएको छ । त्यस्तै आँबु बरादीबाट ४ करोड ६२ लाख, शुक्लाबाट ८९ लाख, मान्द्रेबजारबाट २१ लाख ६० हजार र बेलथोक केन्द्रबाट २८ लाख ८० हजारको तरकारी बिक्री भएको वरिष्ठ कृषि विकास अधिकृत खनालले जानकारी दिए ।
सहर केन्द्रित बन्दै कृषक
ग्रामीण क्षेत्रका कृषक सहरकेन्द्रित बन्न थालेका छन् । आफ्नो उत्पादनबाट बढीभन्दा बढी लाभ लिन उनीहरूले सहरलाई रोजाइमा पारेका हुन् ।
तनहँुमा उत्पादित तरकारी नारायणगढ, पोखरा, काठमाडौं, बुटवललगायतका सहरमा बढी निकासी हुने गरेको छ । याम्याका कृषकले साउनदेखि हालैमात्र पोखरामा सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटमा सिधै तरकारी बिक्री गर्न सुरु गरिसकेका छन् ।
जिल्लाका आँबु बरादी, मार्कीचोक, याम्पा, बन्दीपुर, घाँसीकुवा, खैरेनीटार, दुलेगौंडा, ढोरफिर्दी, भीमाद, क्यामिन, पुर्कोटलगायतका गाविसमा व्यावसायिक तरकारी खेती गर्ने गरिएको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लाभरका करिब ३ सयभन्दा बढी कृषक व्यावसायिक तरकारीखेतीमा आबद्ध छन् ।



