१३ औं विश्व युवा दिवस मनाइँदै
काठमाडांै, २८ साउन -‘समृद्ध विश्व निर्माणमा युवा साझेदारी’ भन्ने मूल नाराका साथ १३ आंै अन्तर्राष्ट्रिय विश्व युवा दिवस आज मनाइँदैछ । युवासँग सहकार्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलगायतका विषयलाई प्राथमिकता दिइने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
नेपालमा झन्डै १ करोड ७६ लाख मतदातामध्ये करिब ३९ प्रतिशत युवा छन् । “चरम बेरोजगारी समस्याका कारण दैनिक हजारभन्दा बढी युवा रोजगारीको खोजिमा बिदेसिनु बाध्यता भएको छ,” मन्त्रालयका सचिव सुशील घिमिरेले भने, “जबसम्म युवाहरू विदेश जाने क्रम रोकिँदैन र हरेक युवाले राज्यको तर्फवाट पाउनुपर्ने अधिकार पाउँदैनन्, तबसम्म देशको विकास सम्भव हुँदैन ।”
परिवर्तनका लागि क्रान्ति र त्यसका लागि युवा शक्ति अपरिहार्य भएकाले आगामी दिनमा युवाकेन्द्रित मुद्दालाई अघि बढाउन उनीहरूलाई हरेक क्षेत्रमा सहभागी गराउने लक्ष्य लिइएको घिमिरेले बताए ।
ठूलो संख्यामा युवाशक्ति रोजगारीका लागि विदेश पलायन हुनु देशका लागि दुर्भाग्य भएको उल्लेख गर्दै उनले भने, “जनचेतना अभाव, आत्मविश्वासको कमीलगायतले लोभलाग्दा कलिला युवाहरू न्यून तलबमा काम गर्न बाध्य छन् भने आन्तरिक श्रम समस्या बढ्दै गएको छ ।” साथीको लहैलहैमा लागेर बिदेसिने युवाहरूलाई जनचेतना दिई आफ्नै देशमा स्वरोजगार बनाउन विभिन्न संघसंस्थामार्फत जनचेतना अभियान फैलाउने योजना बनाइएको उनले बताए । विगतमा राजनीतिक संगठनहरूले बेरोजगार युवालाई लोभलालचमा पारेर गलत रूपमा प्रयोग गरेको टिप्पणी उनले गरे ।
सरकारी तथ्यांकअनुसार वार्षिक ४ लाख युवाहरू कामको खोजीमा श्रमबजार प्रवेश गर्छन्, जसमध्ये थोरैले मात्र रोजगारी पाउँछन् । “बढ्दो महँगी, बेरोजगारीले समाजमा विकराल समस्या निम्त्याएका छन्,” उनले भने, “आपूर्ति र मागबीच तालमेल नमिल्दा धेरै युवा आपराधिक क्रियाकलाप र कुलतमा फसेका छन् । यो समस्या देश विकासका लागि ठूलो चुनौती हो ।”
‘युवाहरूको हकहित र अधिकारको सुनिश्चितता, राष्ट्रिय युवा परिषद् गठन, राष्ट्रिय युवा नीतिमा युवाको पहँुच स्थापित गर्न उनीहरूलाई हरेक क्षेत्रमा समान अवसर दिन’ १३ आंै अन्तर्राष्ट्रिय विश्व दिवस मनाउन लागिएको नेपाल युवा संस्था सञ्जाल (आयोन) अध्यक्ष प्रदीप परियारले बताए ।
आफूहरू विगत सात वर्षदेखि युवा अधिकार, सवाल, राष्ट्रिय हितका लागि युवा सहभागिताका विषयमा काम गर्दै आएको बताउँदै परियारले लामो संघर्षपश्चात् नेपालमा पहिलो पटक राष्ट्रिय युवा नीति ल्याउन सफल भएको बताए । युवाहरूकै बलिदानका कारण हरेक राजनीतिक दलले सफलता पाए पनि परिवर्तनलाई संस्थागत गर्दा युवाहरूको सहभागिता हुन नसकेको भन्दै उनले दुःख व्यक्त गरे । “युवाहरूको ठूलो त्यागले युवा नीति आए पनि नेतृत्वमा बस्ने दलकै कारण हालसम्म राष्ट्रिय युवा परिषद गठन गर्न सकिएको छैन,” उनले भने ।
राष्ट्रिय हित र समृद्धिका लागि युवाहरूलाई नेतृृत्वमा अनिवार्य रूपमा सहभागिता गराउनुपर्ने उनले बताए । युवाहरूले केही उदाहरणीय काम गरे पनि राजनीतिक हस्तक्षेपका कारण ओझेलमा परेको गुनासो परियारले गरे ।
उनका अनुसार युवासँग सम्बन्धित करिब ८६ वटा संस्थाहरूले विभिन्न ५६ वटा जिल्लामा काम गर्दै आएका छन् । “तर, नेतृत्व मूकदर्शक भई बसेकाले युवाका मुद्दा ओझलमा परेका छन्,” उनले भने ।



