२२ करोडको दूध कारोबार
सुर्खेत, २१ साउन -सुर्खेतमा आर्थिक वर्ष ०६८/६९ मा २२ करोड २१ लाख ८० हजारबराबरको दूधको कारोबार भएको छ । जसमध्ये गाईको २ हजार ४ सय मेट्रिक टन र भैंसीको २ हजार ८ सय ९० मेट्रिकटन दूधको कारोबार भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गाईको दूधको १० करोड ८ लाख र भैंसीको दूधको १२ करोड १३ लाख ८० हजारको कारोबार भएको छ ।
सुर्खेतमा दैनिक ३ हजार ९ सय लिटर दूध खपत हुन्छ । जिल्लाका विभिन्न स्थानबाट दैनिक २ हजार ५ सय लिटर दूध निकासी हुने गरेको छ । सुर्खेतबाट कोहलपुर, बुलवट, काठमाडौंलगायतका ठाउँमा दूध निर्यात हुँदै आएको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा दूध उत्पादनका लागि पकेट क्षेत्रसमेत घोषणा गरेको छ । कार्यालयका पशु चिकित्सक नारायण न्यौपानेका अनुसार छिन्चु, रामघाट, दशरथपुर, मालारानीलगायतका गाविस र वीरेन्द्रनगरको उत्तरगंगा, नेवारे, बांगेसिमल, गढी, लेखगाउँ र जर्वटा दूध उत्पादनका लागि पकेट क्षेत्र हुन् । “पकेट क्षेत्रका साथै अन्य क्षेत्रका कृषकलाई समेत यसतर्फ केन्द्रित गर्नतर्फ लागेका छौं,” उनले भने ।
कार्यालयले जिल्लाका २५ दुग्ध सहकारी संस्थामार्फत दूध संकलनको काम हुने भएकाले संकलनमा वृद्धि भइरहेको जनाएको छ । कार्यालयका अनुसार आव ०६७÷६८ मा सुर्खेतमा करिब २१ करोडको कारोबार भएको छ ।
पशुपालनका लागि पशु कार्यालयले डेरी सुधार सहयोग कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । कृषकबाट आउने दूध संकलन गरी बजारसम्म पु¥याउने काम गर्दै आएका गाउँमा रहेका डेरीलाई कार्यालयले १० हजारदेखि २ लाखसम्मको अनुदानसमेत दिँदै आएको छ ।
घाँस अभाव हुने ठाउँका कृषकका लागि मलाटोलगायतका दूधालु घाँससमेत वितरण गरिँदै आएको कार्यालयले जनाएको छ । कृषकलाई व्यावसायिक गाई र भैंसीपालनका लागि कार्यालयले सहयोग गर्दै आएको पशु चिकित्सक न्यौपानले बताए ।
छिन्चुस्थित सागर डेरीका शिव ढकालले दूध उत्पादन बढे पनि मागअनुसार आपूर्ति हुन नसकेको बताए ।



