‘सीए’ परीक्षा मोफसलबाट पनि

वर्ग: अर्थ
मिति: Thursday,2nd August 2012 22:45 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकाठमाडौं, १८ साउन -नेपाल लेखा परीक्षक संघ (आईक्यान) ले लेखा परीक्षक (सीए) को पहिलो तह ‘क्याप वान’ को परीक्षा क्षेत्रीयस्तरबाट पनि सञ्चालन गर्ने भएको छ । आईक्यानका अध्यक्ष मधुवीर पाण्डेले विद्यार्थीको चाप राजधानीकेन्द्रित रहेकाले क्षेत्रीयस्तरमा पनि विस्तार गर्न लागिएको बताए । एक दशकदेखि सीए परीक्षा केन्द्रमा मात्रै सञ्चालन हुँदै आएको छ ।
आईक्यानका अनुसार नेपालमा करिब १० हजार विद्यार्थी सीए अध्यनरत छन् । क्याप वा, टु र थ्री गरी तीन तह उत्तीर्ण गरेपछि मात्र सीए उपाधि पाइन्छ ।
वार्षिक १ हजार २ सय विद्यार्थी भर्ना हुने गरेको जानकारी दिँदै अध्यक्ष पाण्डेले विद्यार्थीको सजिलोका लागि मोफसलका विराटनगर, वीरगन्ज, पोखरा र भैरहवाबाट परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए । उनले भने, “आगामी ‘सेसन’ को परीक्षा मोफसलबाट पनि सञ्चालन हुनेछ ।”
व्यवस्थापन र विज्ञान विषयबाट उमावि तह पार गरेका विद्यार्थी सीएमा बढी भर्ना हुने गरेका छन् । व्यवस्थापनमा स्नातक अध्ययन गरेका विद्यार्थीले क्याप–टु मा सिधै भर्ना पाउने नियम रहे पनि अधिकांश विद्यार्थी उमावि तह पार गरेका हुने गरेका छन् । ती विद्यार्थी ‘क्याप–वान’ मा भर्ना हुने गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरको शिक्षा अध्ययन गर्न विद्यार्थीको चाप वृद्धि भएपछि पाठ्यक्रमसमेत परिमार्जन गरिएको पाण्डेले बताए । ६ सय पूर्णांकको क्याप–वान पाठ्यक्रमलाई ३ सयमा कायम गरेर एकमात्र आधिकारिक संस्था आईक्यानले अन्य मुलुकसरहको कोर्स डिजाइन गरिएको जनाएको छ ।
आईक्यानले सीएको परीक्षामात्र सञ्चालन गर्ने गरेको छ । स्वदेश तथा विदेशबाट सीए गरेका विद्यार्थी व्यावसायिक मान्यताका लागि दर्ता हुने निकाय आईक्यान हो । नेपालमा आईक्यानको स्थापना भएपछि नेपालबाट सीए गर्ने विद्यार्थीको संख्या १ सय २५ पुगेको अध्यक्ष पाण्डेले बताए । आईक्यानका अनुसार नेपालमा सीएको संख्या ५ सयभन्दा बढी छ ।
सीए अध्ययनरत विद्यार्थीले विभिन्न शैक्षिक संस्थामार्फत अध्ययन गरेर आईक्यानको परीक्षा पास गर्नुपर्ने प्रावधान छ । सीए ‘क्याप–टु’ को परीक्षा दिएका छात्र सुवास नेपालले करिब पाँच वर्षमा सीएको अध्ययन पूरा हुने बताए । “करिब अढाइ लाख रुपैयाँमा नेपालमा सीए बन्न सकिन्छ,” उनले भने ।
लेखा व्यवसायको शिक्षा तथा दक्षता हासिल गरिसकेकाहरूको सुझावको आधारमा सरकारले ०५३ सालमा ‘लेखा परीक्षक संस्था सञ्ंचालन’ ऐन ल्याएर नेपालमा लेखा परीक्षक (सीए) तहको परीक्षा सञ्चालन गर्ने अधिकार आईक्यानलाई प्रत्यायोजन गरेको हो । नेपालमा त्यतिबेलासम्म यो शिक्षाका बारेमा पर्याप्त जानकारी नहुँदा विदेश पुगेर सीए गर्नुपर्ने अवस्था थियो ।
 

  • सम्बन्धित समाचार
Comments