असोजमा लघुउद्यमी व्यापार मेला
काठमाडौं, १८ भदौ - लघुउद्यमीले उत्पादन गरेका विविध वस्तुहरू एउटै छानामुनि प्रदर्शन गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यले असोज ५ देखि ‘लघुउद्यमी व्यापार मेला २०६९’ हुने भएको छ । ‘आफ्नो लागि आफंै सिर्जना र उत्पादन गरौं’ भन्ने मूल नाराका साथ नेपालमा पहिलो पटक हुन लागेको सो मेला नेपाल लघुउद्यमी महासंघले आयोजना गरेको हो ।
राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने मेलामा ४० भन्दा बढी जिल्लाका उद्यमीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा हरित तथा खाद्यजन्य उत्पादनहरू, अल्लो र भाँगा कपडा तथा उक्त कपडाबाट बनेका विभिन्न उपभोग्य वस्तुहरू, पटेर र मुझबाट बनेका वस्तुहरू, बाबियो डोरी, लोक्ताको दाम्लो नाम्लो, लोक्ता कागत र त्यसबाट बनेका विभिन्न तयारी वस्तुहरू राखिने छन् ।
यस्तै ताजा फलफूल, शुद्धपेय रस, चिउरी घिउ, चिउरी सावुन र विविध जडीबुटी चिया, लप्सी क्यान्डी, सिस्नोको धूलो र अन्य विविध हरित वस्तुहरू प्रदर्शनीमा राखिनेछ । त्यस्तै पशुजन्य उत्पादनहरूः घिउ, छुर्पी, दुर्खा, पुष्टकारी राडी पाखी, गलैंचा पनि राखिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मेलामा बाँसबाट बनेका कलात्मक वस्तुहरू, बेतबाट बनेका कुर्सी टेबुल, मुडा, फूलदानी तथा अन्य कलात्मक सामग्रीहरू, काठबाट बनेका हस्तकलाका वस्तुहरू, ढाका कपडा तथा तयारी वस्तुहरू, चुनढुंगाबाट बनेका कलात्मक वस्तुहरू, धातुजन्य वस्तुहरू, बजार योग्य कलात्मक अन्य सिर्जनाहरू, थारू पोसाकहरू, जुटको सामानहरू, मादल, थाङ्का कला, मिथिला कला, अगरबत्ती तथा मैनबत्ती आदि छन् । मेला अवधिभर १ लाखभन्दा बढीले अवलोकन गर्ने र २ करोड रुपैयाँबराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।



