इत्तेहादले नयाँ विमान ल्याउने
अबुधावी, ३१ भदौ - इत्तेहादका एयरवेजका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेम्स होगनले बोइङको उत्पादन क्षेत्रको भ्रमण गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएइ) को ध्वजावाहक कम्पनीले नयाँ दुई विमान बोइङ ७७७ र ७८७ ड्रिमलाइनर ल्याउन लागेको हो ।
युरोपको छैटौं ठूलो एयरलाइन्स ‘एयरबर्लिन’मा इत्तेहादको ३० प्रतिशत सेयर रहेको छ । एयरबर्लिनका कार्यकारी र होगनले संयुक्त रूपमा भ्रमण गरेका थिए । गएको मार्चमा दुई साझेदारबीच अझ बलियो सम्बन्ध कायम गर्दै ७८७ ड्रिमलाइनर ल्याउने विषयमा सक्रिय हुने समझदारी भएको थियो भने त्यसका लागि वार्तासमेत भएको थियो । इत्तेहादले ४१ र एयरबर्लिनले १५ गरी ५६ ड्रिमलाइनरको माग गरेका छन् ।
जहाजहरू निर्माणाधीन भएकाले आगामी १५ महिनामा ९ भन्दा बढी ७७७ बोइङ ल्याइसक्ने होगनले बताए । आफूहरूले सार्वजनिक गरेको कार्यक्रमअनुरूप ड्रिमलाइनर आएपछि सकारात्मक रूपमा यसले आफ्नो स्थान लिने दुवै कम्पनीको भनाइ छ ।
इन्जिन खरिद प्रकृया, उडान सुविधालगायतमा आफूहरूले आदानप्रदान गरेकाले ग्राहकहरूले थप सुविधा पाउनेमा ती कम्पनी विश्वस्त छन् ।
गएका डिसेम्बरमा ४१ बोइङ ७८७–९ ड्रिमलाइनरको माग गरेको इत्तेहादले जनाएको छ । मागअनुसार पहिलो जहाज २०१४ को अन्तिम त्रैमासमा आउने एयरवेजको भनाइ छ ।
मागअनुसार इत्तेहादले ९ अर्ब ३० करोड डलर भुक्तनी गर्नुपर्नेछ । योसँगै इत्तेहाद विश्वकै ठूलो उडान भर्ने कम्पनी हुनेछ । यूएईको ध्वजावाहक इत्तेहादले तत्काल थप २५ जहाज खरिद गर्ने छ ।
त्यस्तै १५ बोइङ ७८७ माग गरेको एयरबर्लिनले पनि तत्काल २० अन्य जहाज खरिद गर्ने भएको छ ।
इत्तेहादले २०१२ मा ३ सय यात्रु क्षमताका बोइङ ७७७ खरिद गरिसकेको छ । यसले पहिलो पटक तीन प्रकारका विमान किनेको थियो । हाल ऊसँग ११ बोइङ ७७७–३००ईआर, एक बोइङ ७७७–२०० फ्राइटर र बोइङ ७४७–४०० फ्राइटर सञ्चालनमा छन् ।
आगामी १५ महिनामा उसले दुई बी ७७७–२०० फ्राइटर, ५ बोइङ ७७७–३००इआर तीन किसिमका र दुई बोइङ ७७७–३०० इआर दुई किसिमको ल्याउने उल्लेख गरेको छ ।
इत्तेहाद एयरवेजले ७७७ बोइङ र ड्रिमलाइनरबाहेक अन्य नयाँ मोडेलका बारेमा समेत बोइङसँग कुरा अगाडि बढाएको छ ।
२००३ बाट उडान अनुमति पाएको कम्पनीले २०११ सम्म ८३ लाख यात्रु बोकिसकेको छ । मुख्य रूपमा आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल केन्द्र रहेको इत्तेहादले सोही विमानस्थलमार्फत ८६ प्रतिशत सेवा उपलब्ध गराउँदै आएको छ । आबुधावी विमानस्थलबाट यो वायुसेवाले मध्यपूर्व, अफ्रिका, एसिया, अस्ट्रेलियालगायतका गन्तव्यमा उडान भर्दै आएको छ ।
उसले एयरबर्लिन, भर्जिन अस्ट्रेलिया, एयर सेसेल्स लगायतमा समेत लगानी गरेको छ ।



