इन्डेक्स फर्निचरको बिक्री सुरु
काठमाडौं, २८ भदौ - थाइल्यान्डको फर्निचर उत्पादक कम्पनी इन्डेक्स फर्निचरले नेपालमा पनि बिक्री सुरु गरेको छ । आधिकारिक विक्रेता इन्डेक्स फर्निचर नेपाल प्रालिले नेपालमा यी फनिर्चर भिœयाएको हो ।
इन्डेक्स फर्निचरले जावलाखेलस्थित स्टिल टावरमा बिहीबारदेखि र तीन महिनाअघि लाजिम्पाटस्थित मेट्रो पार्कमा औपचारिक रूपमा सोरुम सञ्चालनमा ल्याएको छ । प्रालिले मेट्रोपार्क, उत्तरढोका लाजिम्पाट तथा स्टिल टावर, जावलाखेलमा औपचारिक रूपमा इन्डेक्स फर्निचरको शाखा विस्तार गरेको छ । यी दुई स्टोरको कुल क्षेत्रफल ४२ हजार वर्गफिट रहेको इन्डेक्स फर्निचर प्रालिका अध्यक्ष विनोद तुलाधरले जानकारी दिए ।
उनका अनुसार इन्डेक्स फर्निचरमा थाइल्यान्ड, इटाली, डेनमार्क, स्वीडेन र जर्मनीलयायतका मुलुकका डिजाइनरले डिजाइन गरेका उच्च गुणस्तरीय फर्निचर उपलब्ध हुनेछ । पछिल्लो समय नेपालीको जीवन शैलीमा परिवर्तन हुँदै गएकाले नेपाली बजारमा पनि अन्तर्राष्ट्रिय गुणस्तरका फर्निचरको माग बढ्दै गएको तुलाधर बताउँछन् ।
इन्डेक्सका फर्निचरहरू पारम्परिक शिष्ट, आधुनिक इटालियन, रोमान्टिक सेन्सेसन् तथा मिक्स एन्ड म्याच चार थिममा आधारित भएर डिजाइन गरिएको जानकारी दिँदै तुलाधरले भने, “इन्डेक्सका फर्निचरमा सबै जीवनशैलीलाई उपयुक्त हुने डिजाइनका बृहत् फनिर्चर उपलब्ध हुनेछ ।”
इन्डेक्स फर्निचर ३५ वर्ष अगाडि पिसित पतमासतयासोन्थीले स्थापना गरेका हुन् । छोटो समयमा नै थाइल्यान्डमा लोकप्रिय भएपछि यस ब्रान्डले दुबई, भियतनाम, माल्दिभ्स, पाकिस्तानलगायत ६ वटा मुलुकमा शाखा विस्तार गरिसकेको छ । इन्डेक्स इन्टरफर्न गुप्रका अध्यक्ष पिसित नेपालमा शाखा खोल्न पाउँदा अत्यन्तै हर्षित भएको प्रेस विज्ञप्तिमा जनाइएको छ । सहरन्मुखे जीवनशैलीमा गुणस्तरीय फनिर्चरको माग बढ्दै गएको र इन्डेक्सले सुपथ मूल्यमा गुणस्तरीय फर्निचर उपलब्ध गराएकाले नेपाली उपभोक्तोका मन पनि छिट्टै जित्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।



