एभरेस्टसँग स्पष्टीकरण

मिति: Friday,14th September 2012 01:07 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, २८ भदौ - बिमा समितिले एभरेस्ट इन्स्योरेन्सलाई कम्पनीको वर्तमान स्थितिबारे स्पस्ट पार्न भनेको छ । बिहीबार कम्पनीलाई पत्र लेख्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति नियामक निकायको ध्यान आकर्षित भएकाले सत्यतथ्य तीन दिनभित्र पेस गर्न भनेको हो ।
एभरेस्टको सञ्चालक समितिको अनौपचारिक बैठकले बिमा समितिले हालै जारी गरेको संस्थागत सुशासन निर्देशिका र कम्पनीलाई गरेको कारबाहीप्रति असहमति जनाउँदै मंगलबारदेखि कुनै पनि व्यवसाय (नयाँ बिमालेख जारी) नगर्ने निर्णय गरेको थियो । कम्पनीले अझै यसबारेमा वास्तविकता के हो खुलाएको भने छैन । बुधबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार रोक्का राखेको स्थितिमा पनि कम्पनीले कुनै जवाफ पठाएको छैन । कम्पनीले जवाफ नपठाएकाले बिहीबार पनि एभरेस्टको सेयर कारोबार भएन । यसबाट सर्वसाधारण लगानीकर्ता बढी मारमा परेका छन् । कम्पनी स्रोतका अनुसार सञ्चालक समितिले कम्पनीलाई खारेजीमा लगिने निर्णय भएको भन्दै कर्मचारीहरूलाई सोहीअनुरूप तयार रहन भनेको र मंगलबारदेखि नयाँ बिमालेख जारी गर्ने काम रोकेको छ । अब कम्पनीले सोमबारभित्र यथार्थ विवरण पठाउनुपर्ने छ ।
कम्पनीले कारोबार नगर्ने निर्णय गरेको भए बिमा समितिले थप कारवाही गर्ने स्रोतले जनाएको छ । समिति स्रोतका अनुसार कम्पनी सञ्चालक समितिलाई बर्खास्त गरी नयाँ ढंगले कम्पनी सञ्चालन गर्न बाटो खोलिने छ । सञ्चालक समितिले नै कारोबर नगर्ने निर्णय गरेको स्थितिमा भने सञ्चालकहरूलाई बिमा ऐनअनुसार हदैसम्मको कारबाही गर्न समितिले सिफारिस गर्नेछ । यस्तो बेला समितिले सञ्चालकहरूलाई ऐनअनुसारको अधिकतम कारबाहीस्वरूप ३० हजार रुपैयाँ नगद जरिवाना, दुई वर्ष जेल सजाय वा दुवै सजाय गराउन सक्ने छ । सार्वजनिक कम्पनी कसैको लहडका भरमा बन्द नहुने समितिले दाबी गर्दै आएको छ । संस्थागत सुशासनको कारबाहीमा परेको कम्पनीले संस्थागत सुशासन निर्देशिकाको विरोध गर्नुको कुनै अर्थ नरहेको समितिले जनाउँदै आएको छ ।
समितिले एभरेस्टका अध्यक्ष राजेन्द्रकुमार खेतानसम्बद्ध हिमालयन स्न्याक्स एन्ड नुडल्स (मायोज चाउचाउ) को कारखानामा भएको आगलागीमा नियमविपरित ४ करोड रुपैयाँ दाबी भुक्तानी दिएको भन्दै प्रमुख कार्यकारी अधिकृतलाई अधिकतम १० हजार तथा अन्य ३ जनालाई जनही ३ हजार तथा एभरेस्टको अग्नि बिमामा रोक लगाएको थियो ।   
 

  • सम्बन्धित समाचार
Comments