कम लगानी, बढी आम्दानी
“व्यावसायिक तरकारीखेती सुरु गर्न धैरै लगानी गर्नुपर्दैन । जग्गाजमिन हुनेले बीउ किनेर पसिना बगाए पुग्छ”
भोजपुर, २६ भदौ - बेमौसमी तरकारीखेती गर्ने देउराली–९ का हरिबहादुर थापाले यस वर्ष गोलभेंडामात्र बेचेर ३ लाख ५० हजार आम्दानी गरे । काउली, बन्दा, गोलभेंडा, घिउसिमी, खुर्सानी, मुला, रायो, केराउ, चना, काँक्रो, फर्सी, लौका, तितेकरेलालगायतका फलपूmल तथा तरकारीबाट वार्षिक ५ लाखसम्म भित्र्याउँछन् उनी ।
विदेशबाट फर्किएका देउरालीकै कृष्ण थापाले १४ रोपनीमा बेमौसमी तरकारीखेती गरेका छन् । तरकारीखेती गर्दागर्दै उनी कृषि प्राविधिक बन्न सफल भए । उनी जिल्लास्थित सरकारी तथा गैरसरकारी संघ–संस्थाका निम्ति स्रोतव्यक्ति पनि हुन् । उनी आफैंले तरकारीखेतीबाट राम्रो आम्दानी गर्न थालेपछि गाउँका अधिकांश कृषक उत्साहित भएका छन् ।
सोही ठाउँका टेकबहादुर थापाको परिवार बैमौसमी तरकारीखेती गर्छ । तरकारी खेती सुरु गरेपछि जीवनस्तरमै परिवर्तन भएको महसुस उनीहरूले गरेका छन् । “वार्षिक आम्दानी ५ लाखभन्दा बढी नै छ,” धित् फुकाएर थापाले भने, “बेमौसमी तरकारीबाली सुरु गरेको कमाल हो यो ।”
तरकारीखेती सुरु गर्न धैरै लगानी गर्नुपर्दैन । जग्गाजमिन हुनेले बीउ किनेर पसिना बगाए पुग्ने संलग्न कृषक बताउँछन् । जमिनै किन्नु परे पनि महँगो छैन । गाउँको जग्गा प्रतिरोपनी १० हजार रुपैयाँका दरले पाउन सकिन्छ । कृषक थापा दाजुभाइले यही दरमा किनेको जग्गाको मूल्य पहिलो वर्ष नै उकासिसकेको बताए ।
यहाँका कृषकका लागि बजार टाढा छैन । एक घण्टे पैदल दूरीमा संखुवासभाको तुम्लिङटार पुग्न सकिन्छ । भोजपुरको उतरी क्षेत्र बोया, साङपाङ, देउराली, तुङगेछा, मूलपानी, केउरेनीपानीलगायत गाविसमा उत्पादित तरकारी बाली खाँदबारी र तुम्लिङटार बजारमै खपत हुन्छ । खपत नभएको तरकारी धनकुटा, धरान, विराटनगर, काठमाडौंलगायतका सहरमा पु¥याउन सक्ने स्थिति (यातायातको पहुँच पुगिसकेको) छ ।
बिहान–बेलुकी तरकारी बारीमै भेटिने थापा दाजुभाइकै सिको गर्नेहरू भोजपुरमा दिनानुदिन थपिँदै गएका छन् । यस वर्ष देउरालीका ४० घरपरिवारले तरकारीखेती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
व्यावसायिक तरकारीखेतीमा संलग्नहरूले दैनिक घर–व्यवहारमात्र चलाएका छैनन् विलासी सामान किन्न र घरघडेरी जोड्न पनि थालेका छन् ।
यहाँका कृषकले हाइब्रिड ग्रिन कोरोनेट, टिसिक्सटुवन, ग्रिनस्टोन, कोपनहेगन मार्केट नामका बन्दाकोपी, स्नोक्राउन, स्नोमिस्टिक, सिल्भरकम ६०, स्नोकिङ, स्नोक्विन जातका काउली, ब्रोकाउली, पुसारुवी, मनिषा, सुरक्षा, लब्सिगेडे, त्रिशुल गोलभेंडा, घिउसिमी त्रिशुली, अकबरे, एनएस १७०, हाइब्रिड, ननहाइब्रिड र स्थानीय जातका खुर्सानी उत्पादन गर्दै आएका छन् ।



