काठमाडौंमा बरिस्टा लाभाजाको कफी

मिति: Thursday,13th September 2012 23:36 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



काठमाडौं, २८ भदौ - नेपालका तीन ठूला व्यावसायिक घरनाको लगानीमा युरोपियन फ्रेन्चाइज कफी सप खुलेको छ । एनई ग्रुप, नाङ्लो इन्टरनेसनल र सांग्रिला होटल एन्ड रिसोर्ट प्रालिको लगानीमा युरोपको प्रसिद्ध क्याफे ‘वरिस्टा लाभाजाा’ले सेवा सुरु गरेको हो ।
तीनवटै समूहको लगानीमा स्थापित प्रिमियर बेभरेज एन्ड फुड कर्पोरेसन प्रालिले कफी सप व्यवस्थापन गर्नेछ । लाजिम्पाटस्थित मेट्रो पार्क भवनमा खोलिएको सपको मिस नेपाल सृष्टि श्रेष्ठले उद्घाटन गरिन् ।
कफी पारखीका लागि युरोपसँगै छिमेकी भारतमा पनि लाभाजा आकर्षक गन्तव्य मानिन्छ । मौलिक स्वादका कारण कफी पारखीले संसारभर यसलाई रुचाउने गरेको लाभाजाका भारत र सार्कका लागि प्रमुख सञ्चालन अधिकृत निलञ्जन महाचार्यले बताए ।
नेपालमा पनि कफी पारखीको बढ्दो संख्यालाई लक्षित गर्दै युरोपेली मापदण्डमा कफी सप खोलिएको प्रिमियर बेभरेजका अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए । “नेपाली उपभोक्ताको रुचि चियाबाट कफीतर्फ रुपान्तरण हुँदैछ,” उनले भने, “हामी ती उपभोक्ताको चाहना पूरा गर्न प्रतिबद्ध छौं ।”
कम्पनीका प्रबन्ध निर्देशक श्यामसुन्दरलाल कक्षपतिका अनुसार नेपाल आउने पर्यटकको मागलाई समेत लाभाजाले सम्बोधन गर्नेछ । उनले नेपाली उपभोक्तासँगै विदेशी पाहुना र नेपालमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारीमाझ लाभाजाको कफी लोकप्रिय हुने दाबी पनि गरे ।
प्रिमियरले काठमाडौं उपत्यकाभित्र चाँडै थप पाँचवटा यस्ता कफी सप विस्तार गर्ने बताएको छ । प्रत्येकका लागि कम्तीमा १ करोड रुपैयाँ लगानी लाग्ने अध्यक्ष श्रेष्ठले बताए ।
कफी सपमा काम गर्ने कर्मचारी र मजदुरलाई भारतमा तीन साता प्रशिक्षण दिइएको थियो । कफी बनाउने मेसिन तथा मुख्य प्रशिक्षक भारतबाटै झिकाइएको छ । लाभाजाका दक्षिण एसिया निर्देशक आर शिवशंकरका अनुसार नेपालबाहेक माल्दिभ्स, श्रीलंका, बंगलादेश र म्यानमारमा यसका शाखा विस्तार भइसकेका छन् भने पाकिस्तानमा पनि फ्रेन्चाइज सप खोल्ने तयारी भइरहेको छ । नेपालमा खोलिएको लाभाजामा एनई ग्रुपको ४० प्रतिशत र नाङ्लो तथा सांग्रिलाको ३०–३० प्रतिशत लगानी छ ।
 

  • सम्बन्धित समाचार
Comments