दिगो कृषि प्रणालीमा जोड
काठमाडौं, ३१ भदौ - कृषि विकास मन्त्रालयले तयार गर्न लागेको कृषि विकास रणनीतिले समावेशी तथा दीगो उत्पादनलाई जोड दिनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन् । रणनीतिको दृष्टिकोण तथा नीतिगत विकल्पबारे छलफल गर्दै सरोकारवालाहरूले कृषि व्यवसायमा अवसर वृद्धि गर्दै जलवायु परिवर्तन जस्ता चुनौतीसँग जुध्नुपर्ने बताए ।
मन्त्रालयले सन् २०११ को अप्रिल महिनादेखि रणनीति निर्माणका लागि विभिन्न चरणमा मूल्यांकन, दृष्टिकोण तथा नीतिगत विकल्पका सम्बन्धमा छलफल गर्दै आएको छ । नयाँ कृषि विकास रणनीति तयारका क्रममा सरोकारवाला पक्षको सुझाव संकलनका लागि क्षेत्रीय तथा केन्द्रीय गोष्ठी भइरहेका छन् । रणनीति डिसेम्बरसम्म तयार गरिने बताइएको छ ।
एसियाली विकास बैंक (एडीबी) तथा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) ले रणनीति तयारका लागि प्रारम्भिक अनुदान दिएको हो । यसमा ११ दातृ निकायले सहयोग गरेका छन् । कृषि विकास रणनीति निर्माण समितिमा अर्थसचिव र कृषि सचिवले अध्यक्षता गर्छन् ।
“रणनीतिले कृषिमा उत्पादकत्व वृद्धि गर्ने, प्रतिस्पर्धी, समावेशी तथा दिगो बनाएर जलवायु परिवर्तनको प्रभावलाई सहज बनाउनुपर्छ,” एडीबीका देशीय निर्देशक केनिची योकोयामाले भने, “सरकार सरोकारवाला, किसान संगठन तथा विकास साझेदारबीचको छलफलले यो क्षेत्रका लागि व्यावहारिक रणनीति निर्माणमा सघाउँछ ।”
अहिले हरेक दिनजसो १६ सय नेपाली देश छाडेर कामको खोजीमा बिदेसिएका छन् । नेपालसँग फलफूल, तरकारी, बीउबीजन, कफी, औषधिजन्य जडिबुटी, सुगन्धित तेल, दुग्धजन्य उत्पादन जस्ता उच्च मूल्यका कृषि वस्तु निर्यातको त्यत्तिकै प्रचुर सम्भाव्यता छ । यस्ता वस्तुले कृषकलाई कृषि व्यवसायमा अवसर वृद्धि गर्नसक्ने उपाय रणनीतिमा सुझाइएको छ ।
रणनीतिले आगामी २० वर्षमा कृषि प्रणालीमा ठूलो रुपान्तरणको लक्ष्य राखेको छ । कृषि क्षेत्रमा श्रम तथा उत्पादकत्व वृद्धि गरी निर्यातलाई बढावा दिने बताइएको छ । क्षेत्रीय गोष्ठीपछि रणनीतिमा दृष्टिकोण र नीतिगत विकल्पको मस्यौदा तयार भइसकेको छ । यो बृहत् रणनीतिका आधारमा कार्यान्वयन रणनीति मार्च २०१३ देखि विकास गरिने जानकारी दिइएको छ ।
छलफलमा न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जेम्स बोल्जरले रणनीति कार्यान्वयनका लागि राजनीतिक तहको प्रतिबद्धतामा जोड दिए । उनले हिमालदेखि तराईसम्म विविधताको अवसरबाट नेपालले लाभ लिनुपर्ने बताए ।



