निर्यात बढ्ने भारतीय आशा
नयाँ दिल्ली, २६ भदौ - भारतीय उद्योग तथा वाणिज्य मन्त्री आनन्द शर्माले आगामी अक्टोबरमा देशको निर्यात व्यापारमा सुधार आउने अपेक्षा गरेका छन् । अमेरिका तथा युरोजोनमा निर्यात व्यापारमा सुधार हुने संकेत आफूले पाएको भन्दै मन्त्री शर्माले समग्र निर्यात व्यापारमा सुधार आउने अपेक्षा व्यक्त गरेका हुन् ।
गएको जुलाईमा निर्यात व्यापार १४.८ प्रतिशतले खुम्चिएर २२ अर्ब ४० करोड डलरमा सीमित भएको थियो । अमेरिका तथा युरोपेली बजारमा माग घटेकाले निर्यातमा कमी आएको अनुमान गरिएको थियो ।
निर्यात घट्दा आर्थिक विकासमा ठूलो असर परेको शर्माको भनाइ थियो । उनले निर्यातमा पूर्ण सुधार नआए पनि यस अघिको अवस्थाको तुलनामा केही विस्तार हुने अपेक्षा गरिएको बताए ।
यसअघिका वर्षहरूमा पनि शरद् ऋतुमा व्यापारमा विस्तार भएकाले यस वर्ष पनि सकारात्मक अवस्था सिर्जना हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । शर्माले विदेशी बजारमा आफ्ना उत्पादनको मागमा केही सुधार आएको पनि दाबी गरे ।
भारतीय औद्योगिक तथा इन्जिनियरिङ निर्यात प्रवद्र्धन परिषद् (ईईपीसी) तथा व्यापार मन्त्रालयले आयोजना गरेको संयुक्त ‘इन्डिया सो’मा मन्त्री शर्माले पछिल्लो समयमा प्राप्त भएका तथ्यांकहरूको अध्ययन गर्दा व्यापारमा सुधार हुने संकेत आफूले पाएको बताए ।
उनले चालू आर्थिक वर्षको देशको निर्यात व्यापारको लक्ष्य भेट्टाउन सरकारले विभिन्न पहल गरिरहेको र उक्त लक्ष्य फेला पर्ने समेत बताए । सरकारले चालू वर्षमा ३ खर्ब ६० अर्ब डलरबराबरको निर्यात गर्ने लक्ष्य राखेको छ । उनले देशको आर्थिक गतिविधिमा सुधार आइररहेकाले यो लक्ष्य भेट्टाउने उल्लेख गरेका हुन् ।
यद्यपि यसका लागि युरोपेली केन्द्रीय बैंक तथा युरोपेली आयोगहरूले त्यस क्षेत्रका बारेमा सकारात्मक परिणाम सार्वजनिक गर्नु आवश्यक रहेको उल्लेख गरे । यसअघि केही महिनाअघिसम्म पनि युरोजोनको अवस्था निकै कजोर रहेको तथ्यांकहरू सार्वजनिक भएका थिए ।
भारतको अर्को प्रमुख निर्यात गन्तव्य अमेरिकाको आर्थिक अवस्थासमेत कमजोर रहेकाले देशको निर्यात व्यापारमा सुधार हुने अवस्था कमजोर रहेको विश्लेषकहरूले बताएका छन् । उनीहरूले युरोजोनको कर्जा संकटसमेत समाधान नभएकाले त्यसको असर विदेश व्यापारमा देखा पर्ने उल्लेख गरे ।



