पहिरोका कारण तीनसय घर जोखिममा
धादिङ, १ असोज - उत्तरी धादिङको तिप्लिङ र सेर्तुङ गाविसमा हालैको भीषण वर्षाका कारण निरन्तर बगेको पहिरोले ३०९ घर र तीन विद्यालय पहिरोको जोखिममा परेका छन् । एक हप्तादेखि निरन्तर परिरहेको पानीले गर्दा बगेको पहिरोले स्थानीय मानिसले घर छाडेर छिमेकीको घरमा शरण लिनुपरेको तिप्लिङ गाविस–५ का प्रेम तामाङले जानकारी दिए । गाउँमुनिबाट आएको पहिरोले तिप्लिङ गाविस–५, ६ र ७ स्थित लब्दुङ गाउँ जोखिममा परेको छ । वडा नं ५ को ४३ घर, वडा नं ६ को ४१ घर र वडा नं ७ को ९५ घरसहित दोङदेनदेवी मावि पहिरोको जोखिममा परेकाले गाउँवासी नै समस्यामा परेको चे घलेले बताए । पहिरोको छेवैमा परेको तिप्लिङ गाविस–६ को ङ्या तामाङ, मेन घले, वडा नं ७ को कमन तामाङ, सेल गुरुङ तामाङ, फू घलेको घर परिवार अत्यन्तै जोखिममै रहेको छ ।
यसैगरी नजिकै रहेको सेर्तुङ गाविस आवैगाउँका ७० घर र वडा नं ४ को चालिसे गाउँका ६० घर पनि पहिरोको उच्च जोखिममा रहेको स्थानीय नरमान तामाङले बताए । गाउँमुनि रहेको ढुङ्गाखानीसहितले गर्दा पहिरो लड्न सुरु गरेको र अहिलेको लगातारको वर्षाले गर्दा सबै बगाउन लागेको गाउँवासीको भनाइ छ । आवै गाउँका नरमान तामाङ, लारमान तामाङ, कुलमान तामाङ र चालिसे गाउँका लालमान विश्वकर्मा, बहादुर विश्वकर्माको घर पहिरोको छेउमै रहेकाले पानी पर्दापर्दै बगाउने अवस्थामा अवस्थामा रहेको छ । डुवाङ प्रावि पनि पहिरोको खतरामा परेको छ । एकहप्तादेख लगातार वर्षा भइरहेको र पहिरो जाने क्रम पनि नरोकिएकाले गाउँवासी अन्यत्र गएर बस्नसमेत नसक्ने अवस्थामा रहेको गाउँबाट सदरमुकाम आइपुगेका प्रेम तामाङले बताए ।



